+
+

गद्दी बैठक सर्वसाधारणका लागि खुला, ऐतिहासिक तस्वीर प्रदर्शनी

रासस रासस
२०७८ चैत २ गते १०:५८
गद्दी बैठक । फाइल तस्वीर

२ चैत, काठमाडौं । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी सुरु गरेको छ ।

गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिने भएको छ ।

ऐतिहासिक तस्वीरहरुको प्रदर्शनी हेर्न दैनिक सयौँ स्वदेशी एवं विदेशी पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आउने गरेका छन् । यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो ।

कोरोना महामारी कम भएपछि गत फागुन २७ गते शुक्रबारदेखि प्रदर्शनी सुरु गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

प्रदर्शनीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यस्ता गतिविधिले विदेशी एवं स्वदेशी पर्यटकलाई सम्पदास्थलमा आकर्षण गर्ने बताए ।

प्रदर्शनीमा नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटनाक्रमका तस्वीरको प्रतिलिपि राखिएको छ । प्रदर्शनीले त्यसबेलाको अवस्था जान्न सहयोग गर्ने विश्वास गरिएको छ ।

यो प्रदर्शनीसँगै गद्दी बैठक पनि सर्वसाधारणका लागि खुला गरिएको छ । सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो । भूकम्पसँगै बन्द रहेको गद्दी बैठक सात वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।

पृथ्वीवीरविक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दी बैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रूपमा उपयोग हुने थालेको थियो । गद्दी बैठक मुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रूपमा प्रयोग गरिँदै आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर गद्दी बैठक खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाकालका कागजपत्र, दस्तावेज पनि प्रदर्शनी गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?