+
+

घोराहीमा मेला महोत्सव : स्थानीय उत्पादनलाई बजारीकरणको अवसर

दाङको घोराहीमा जारी दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीमा स्थानीय कृषि उत्पादन तथा लघुु उद्यमसँग सम्बन्धित बस्तुहरु प्रर्दशनीमा राखिएका छन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ चैत ३ गते १३:१९

३ चैत, दाङ । दाङको घोराहीमा जारी दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीमा स्थानीय कृषि उत्पादन तथा लघुु उद्यमसँग सम्बन्धित बस्तुहरु प्रर्दशनीमा राखिएका छन् ।

जिल्लामा हुँने यस्ता कृषि तथा औद्योगिक प्रर्दशनीमा स्थानीय स्तरमै उत्पादन भएका कृषिजन्य तथा औद्योगिक बस्तुले प्रवर्द्धनसँगै बजारीकरण गर्ने मौका पाएका छन् ।

महिला सामुदायिक सेवा केन्द्रकी चन्द्रावती पाण्डेले संस्थामा आवद्ध भएका सदस्यहरुले उत्पादन गरेका कृषि सामग्री बजार प्रवर्द्धनका लागि यस्ता मेला महोत्सव निकै महत्वपूर्ण भएको बताइन् ।

महोत्सवमा महिलाहरुले उत्पादन मसुरो दाल, राज्मा, सिल्टुङ, गहद, मासको दाल, सानो केराउ, जुम्ले सिमि दाल, बेसार, कालो तिल, सानो केराउ जन्य कृषि सामाग्रीमा राखिएको सुनाइन् ।

उनले ती बस्तुलाई विश्वसनीय बनाउन लेभलिङ्गको काम पनि गरिएको बताइन् । जसले उत्पादित बस्तुले उपभोक्ताको विश्वास बढाएको उनको उनको विश्वास छ । ‘हामीले प्रदर्शनीमा राखेका कृषिजन्य वस्तुको राम्रै बिक्रि भएका छन्’ उनले भनिन्, ‘स्थानीय उत्पादनमा मानिसको चासो र आर्कषण बढेको छ ।’

प्रदर्शनी स्थलमै बजारीकरण गर्न आएकी अमृता भारतीले महिला दिदीबहिनीहरुले उत्पादन गरेको बच्चाको कपडा, सेनिटरी प्याडको बजारीकरणमा सहयोग पुगेको बताइन् ।

उनले महिलाहरुले उत्पादन गरेको सेनिटरी प्याडले पनि राम्रो बजार पाएको खुशी व्यक्त गरिन् । । ‘स्थानीय उत्पादनलाई प्रचार–प्रसार गर्न मेला महोत्सवले सहयोग पुगाउँछन्’ उनले भनिन, ‘हामीले उत्पादन गरेको बस्तुको बजारीकरण गर्न सहज हुनजान्छ ।’

मिना लम्सालले पनि आफैले उत्पादन गरेका अचार, सिन्की, फापर, आटो, भाँगो अमचुर, कोदो, तिलकी चामल बिक्रि गर्दै आएकी छिन् । उनले पनि मेला महोत्वसवले स्थानीय बस्तुको बजारीकरणमा सहयोग पुग्ने बताइन् ।

स्थानीय कृषिजन्य बस्तुबाट तयार पारिएका खाद्य सामग्रीले प्रदर्शनीमा आउने मासिनको ध्यान तानेको उनले सुनाइन् । ‘प्रदर्शनीमा आउने प्रायले खाद्य सामग्री किन्ने र त्यसको बारेमा जानकारी लिने गरेका छन् ।’ उनले भनिन् ।

त्यस्तै स्थानीय स्तरमै उत्पादन अल्लो कपडाले समेत राम्रो बजार पाएको प्रेमनिशा अल्लो उद्योगकी सञ्चालक प्रेमकुमारी पुन बताउछिन् । सिस्नो प्रजातिको रेशाबाट बनेको जुत्तादेखि टोपीसम्मका सबै अल्लोको कपडा राम्रो विक्री वितरण भइरहेको बताइन् ।

उनले उत्पादित कपडा स्वास्थ्य र शारीरिक रुपमा निकै लाभदायक भएको कुरा समेत मेला महोत्सवमा प्रचार गर्न पाइने बताइन् । उनी अल्लोबाट उत्पादित बस्तुलाई बिक्री गर्दै प्रदर्शनी स्थलबाट आफ्नो व्यवसाय प्रवर्द्धन गर्न पाउँदा थप उत्साहित बनेकी छिन् । अल्लोबाट बनेका बस्तु कपडा धेरैको रोजाई बन्दै गएको उनले बताइन् ।

कृषि प्रदशनीमा दाङसहित छिमेकी जिल्ला, रोल्पा, प्यूठान, गुल्मी, कालीकोटका स्थानीय कृषि बस्तुले पनि राम्रो स्थान पाएको छ ।

तिलेगुफा नगरपालिका-५ कालीकोटबाट स्थानीय सिमी दाल बेच्न आएका नरेन्द्र बिष्टलाई प्रदर्शनीमा सिमी बेच्न भ्याईनभ्याई छ । ५० वर्षीय विष्ट प्रदर्शनीकै अवसर पारेर दुई सय ८७ नम्बरको स्टलमा कर्णालीमा उत्पाति अर्गानिक सिमीको दाल बिक्री गर्दै आएका छन् ।

पहाडको सिमी चिसोमा उब्जेकाले यसको स्वाद बेग्लै हुने हुँदा खाना रुच्ने उनको भनाई छ । ‘अघिपछि १ गिलास चामल खानेले यो दालसँग खान पायो भने थपेर खान्छ,’ उनले भने ।

कृषि प्रदर्शनीका लागि जुम्ला, कालीकोटलगायतका जिल्लामा उत्पादित सिमी खरीद गरी दाङसम्म ल्याएको बिष्टले बताए । आफुहरुले उत्पादन गरेको बस्तु खरिदका लागि प्रदर्शनीमा आउनेमध्ये धेरैले जानकारी लिने तथा सामान पनि खरिद गरेर लैजाने गरेको उनको भनाई छ ।

गुल्मी, पाल्पा, प्यूठान, रोल्पालगायतका जिल्लाबाट कच्चा सामग्री ल्याएर बनाइएका विभिन्न थरीका खाद्य सामग्री प्रदर्शनीमार्फत विक्रि गर्दै आएको उद्यमी धनबहादुर रोकायले बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले कृषि प्रदर्शनीका लागि विशेष प्राथमिकता दिएको बताएको छ । संघले कृषि प्रदर्शनी गर्नेहरुको लागि १५ प्रतिशत छुट दिएको प्रंदर्शनी मूल आयोजक समिति संयोजक टंकसिंह बुढाथोकीले बताए ।

कृषि प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि स्टल निशुल्क गरिएको उनले बताए । उक्त प्रदर्शनीमा अल्लोबाट निर्मित कपडा, झोला तथा थारु संस्कृति झल्कने महिला उद्यमीहरुले बनाएका ढकिया लगायतका स्टलहरु छन् ।

कृषिसँग सम्बन्धित १५ र लघुउद्यमसँग सम्बन्धित १७ वटा स्टल रहेको आयोजकले जनाएको छ । पालिकाहरुलाई आफ्नो पहिचान झल्कने बस्तु प्रवर्द्धन गर्न अपिल गरिए पनि ध्यान नदिएको आयोजकको भनाई छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?