+
+

‘दलहरूभित्र आन्तरिक लोकतन्त्र बढाउनुपर्छ’

ओनसरी घर्ती मगर ओनसरी घर्ती मगर
२०७८ चैत ४ गते २०:२१

हामीले असाध्यै दुःख गरेर लोकतन्त्र स्थापना गर्‍यौं । तर, लोकतन्त्र स्थापना गर्ने शक्तिहरू नै लोकतान्त्रिक पद्धति लागु गर्न चुकिरहेका छन् । दलहरूभित्र ठूल्ठूला विषयमा पनि कहिलेकाहीं व्यक्तिगत निर्णय हुने गरेका छन् ।

यस्तो अभ्यासले देशको लोकतान्त्रिक पद्धति संस्थागत गर्नमा सघाउ पुगिरहेको छैन । तथापि, निराश नै भइहाल्ने भन्दा दलहरूभित्र लोकतान्त्रिक अभ्यासलाई बढावा दिंदै जानुपर्छ । यसका लागि अझै आवाज उठाउँदै दलहरूभित्र लोकतान्त्रिक पद्धतिको अभ्यास बढाउँदै लैजानुपर्छ ।

दलभित्रको केन्द्रीकरण नेताबाट अभिव्यक्त हुन्छ । पार्टीको हिसाबले भन्दा पार्टीको अध्यक्ष वा सभापति नै प्रधान हो । तर, कम्युनिस्ट पार्टीको पद्धति अन्तर्गत सबैभन्दा सर्वोच्च निकाय भनेको त महाधिवेशन हो । एउटा महाधिवेशनले गरेको निर्णय, पारित गरेको विधान, प्रतिवेदन र दिएको म्यान्डेड नै अर्को महाधिवेशन नहुँदासम्मको प्रधान कुरा हो ।

तथापि, महाधिवेशनमा पारित भएका कुराहरू नै पर्याप्त हुन्छन् भन्ने हुँदैन । परिस्थितिले नयाँ कुराको जन्म लिन पनि सक्छ । त्यस्तो स्थितिमा आकस्मिक रूपमा बोल्नुपर्दा को बोल्ने ? अवश्य पनि संस्थाको प्रमुखको हैसियतले संस्था प्रमुख नै बोल्नुपर्छ ।

तथापि, त्यसलाई अनुकूलता मिलेसम्म कमिटी या संस्थाभित्र छलफल गरेर निर्णय लिने बानी बसाल्न आवश्यक छ । यो नै लोकतान्त्रिक पद्धति हो । छलफल, बहस गर्दा मुलुक र जनताको हितमा निष्कर्षहरू निस्कन्छन् । यसै कारण दलहरूभित्र लोकतान्त्रिक अभ्यास जरूरी भएको हो ।

दलहरू कसरी चल्छन् ?

राजनीतिक दलहरू चल्ने, निर्णय लिने आ–आफ्नै तरिका छन् । हाम्रो पार्टी (माओवादी केन्द्र) वा कम्युनिस्ट पार्टीको पद्धति अनुसार सामूहिक निर्णय हुन्छ । सामूहिक निर्णयलाई कार्यान्वयनमा लैजान भने व्यक्ति पनि जिम्मेवार हुन्छ । पद्धति सामूहिक निर्णय नै हो, कार्यान्वयनमा व्यक्तिको भूमिका जिम्मेवारी अनुसार फरक हुन्छ । तर, अरू पार्टीहरूमा यो सब हुँदैन ।

पार्टी प्रमुख (अध्यक्ष वा सभापति) चयन भइसकेपछि सोही प्रमुख व्यक्तिको भनाइ र बुझाइ अनुसार पार्टी निर्देशित हुनेगर्छ । यस्तो अवस्थामा पार्टी चलाउने पद्धति व्यक्ति अनुसार पनि फरक पर्न सक्छ । पार्टीका अन्य जिम्मेवार व्यक्तिहरूले कुरा राखे पनि निर्णय भने प्रमुखकै लागू हुन्छ ।

तर, कम्युनिस्ट पार्टीको अभ्यास फरक छ । कम्युनिस्ट भाषा प्रयोग गर्दा प्रशस्त जनवादको अभ्यास हुन्छ । यसैकारण कम्युनिस्टहरू धेरै बैठक र छलफल गर्ने तर निर्णय कम गर्छन् भन्ने आरोप पनि लाग्छ । जनताको हितका निम्ति व्यापक छलफल गर्नुपर्छ । यही नै लोकतन्त्र हो । व्यापक छलफलबाट लिइने निर्णय जनता, समाज र देशको हितमा हुन्छ ।

कांग्रेस र कम्युनिस्टभित्र आ–आफ्नै लोकतान्त्रिक अभ्यास छन् । तर, समस्या विधि फरक हुनु होइन, बरु लोकतान्त्रिक विधि नाघेर हुने अभ्यास मौलाउनु हो । यस्तो हुनुहुँदैन । समग्रमा, नेपालका सबै राजनीतिक दलभित्र लोकतन्त्र छ तर त्यसको अभ्यासमा कमि छ ।

चुनाव मात्रै लोकतन्त्र होइन

राजनीतिक दलहरूको केन्द्रमा जहिले पनि देश हित र जनताको कल्याण हुनुपर्छ । हाम्रो पार्टी पंक्ति पनि यही उद्देश्यबाट निर्देशित छ । पार्टीपंक्ति पार्टीका लागि महत्वपूर्ण हुन्छ । कम्युनिस्ट पार्टीमा त सबैभन्दा शक्तिशाली पार्टी सदस्य हुन्छन् । पार्टी सदस्य रहे न जिम्मेवारीमा रहने हो । आजीवन पार्टी सदस्य रहेर मर्न पाऊँ भन्ने कार्यकर्ता पंक्ति नै शक्तिको स्रोत हुन् ।

सबै सदस्यहरू मिलेर नेतृत्व चयन गर्छौं । सबैले साझा रूपमा अगाडि सारेको, सबैले स्वीकारेको र सबैलाई मान्य हुनेले नेतृत्व लिने गरी निर्णय गर्नु आन्तरिक लोकतन्त्रको सुन्दर पक्ष हो ।

यसमा क–कसलाई के जिम्मेवारी दिंदा देश र जनताको लागि प्रभावकारी काम हुन्छ ? भनेर व्यापक छलफल गर्नुपर्छ । कसले प्रतिनिधित्व गर्न सक्छ र कसले नेतृत्व गर्न सक्छ ? भनेर छलफल र निर्णय हुन्छ ।

कम्युनिस्ट पार्टीभित्र पनि चुनावै हुन्न भन्ने होइन । कम्युनिस्ट पार्टीले आन्तरिक चुनावलाई अस्वीकार गर्दैन । सबै व्यवस्था हुन्छ । तर, यहाँ आफ्नै खाले पद्धति हुन्छ । वर्ग हेरिन्छ, वर्ग हितमा कति काम गरेको छ भनेर नापिन्छ । कति धेरै स्वयंसेवा गरेको छ भनेर हेरिन्छ ।

लोकतन्त्रमा सबै राम्रा मात्रै अभ्यास छैनन्, विकृति पनि छन् । आन्तरिक निर्वाचनमा पैसा लगानी गरेर अस्वस्थ प्रतिस्पर्धा गर्दा पार्टी पार्टीको रूपमा रहँदैन । पैसाको आधारमा अस्तव्यस्त प्रतिस्पर्धा भयो भने पार्टीको पनि मृत्यु हुन्छ ।

कति नैतिक छ भन्ने पनि हेरिन्छ । यी सबै पक्ष हेरेर पछि परेको वर्ग समेतलाई ख्याल गरेर जिम्मेवारी दिने अभ्यास कम्युनिस्ट पार्टीभित्र हुन्छ । यसरी जसले मुलुक र पार्टीको हित गर्न सक्छ, उसलाई बढी विश्वास गरिन्छ ।

दुई–चार जना हारहुर गरेर, पैसा खर्च गरेर मान्छे जम्मा पार्न सक्ने हुँदैमा त्यो नेतृत्वमा आउँछ भन्ने कम्युनिस्ट पार्टीमा हुँदैन । कांग्रेस या अरू पनि पार्टीमा अलि बढी बुर्जुवाकरण छ । त्यहाँ पैसा र पहुँचको आधारमा नेतृत्वमा पुग्न सकिन्छ ।

तर, कम्युनिस्ट पार्टी फरक हुन्छ । यहाँ आफ्नै प्रकारको मूल्य र मान्यता हुन्छन् । चुनावमा कस्तो मान्छे जिताइन्छ, या चुनावै गर्नुपर्छ भन्ने कम्युनिस्ट पार्टीमा हुँदैन । सर्वसम्मत पनि गर्न सकिन्छ । यो अझ सुन्दर आन्तरिक लोकतन्त्र हो । भएन भने अन्तिम विकल्पमा त चुनावी प्रतिस्पर्धा नै हो ।

तर, चुनाव नहुँदैमा आन्तरिक प्रतिस्पर्धा हुँदैन भनेर बुझ्नुहुँदैन । क्याडरहरूले कसलाई सर्वसम्मत बनाउँछन् भन्नेमै पनि प्रतिस्पर्धा हुन्छ । पार्टीभित्र राम्रो काम गर्ने, स्वयंसेवा गर्ने, नेतृत्व क्षमता बढाउने प्रतिस्पर्धा हुन्छ ।

यसरी कुनै व्यक्तिको नाम नेतृत्वमा सर्वसम्मत हुनु पनि आन्तरिक प्रतिस्पर्धा नै हो । यो अप्रत्यक्ष प्रतिस्पर्धा हो । चुनाव हुँदा प्रत्यक्ष प्रतिस्पर्धा देखिन्छ भने सर्वसम्मतिमा अप्रत्यक्ष प्रतिस्पर्धा हुन्छ ।

नेतृत्वमा युवाको खोजी

नयाँ परिस्थितिको नेतृत्व गर्न नयाँ पुस्ता नै नेतृत्वमा आउन जरूरी छ । कम्युनिस्ट पार्टीहरूमा ‘थ्री इन वान’ भन्ने हुन्छ । तीन पुस्ता (वृद्ध, प्रौढ र युवा) लाई एक तिहाइको दरले नेतृत्वमा ल्याउनुपर्छ भनेर अग्रजहरूले बहस गरेको सुन्छौं । अहिले पनि हामी यही कुरा उठाउने गर्छौं । यो हरेक दलहरूभित्र जरूरी छ ।

पार्टीलाई अनुभव बाँड्न बुढापाका चाहिन्छ । पार्टी चलाउनलाई पाकाहरूले गाइडलाइन दिन सक्नुहुन्छ । युवासँग जोश हुन्छ, अनुभव कम हुन्छ । यसलाई सच्याउन पाका मानिस चाहिन्छ । युवा जोशका साथ अगाडि बढाउन युवा नै चाहियो । उनीहरूको निर्णायक भूमिका पार्टीभित्र सुनिश्चित गरिनुपर्छ ।

पुराना विषयलाई अद्यावधिक गर्ने र नयाँ कुरा ल्याएर विस्थापित गर्ने तागत युवाले नै राख्छन् । गलत प्रवृत्तिको विरुद्ध संघर्ष गर्ने हैसियत पनि युवाले राख्छन् ।
तर, अहिले राजनीतिक दलहरूमा नेतृत्वमा कम मात्रै युवाहरूको प्रतिनिधित्व छ । यसलाई भत्काउनुपर्छ ।

पछिल्लो समय ठूला राजनीतिक दलका महाधिवेशनहरू भए । सबैले आ–आफ्नै मान्यता अनुसार विधि विधान र नेतृत्व चयन गरे । सबै राजनीतिक दलहरूमा नेतृत्वको उमेर हदबन्दी बहसको विषय पनि बनेको छ ।

यस्ता लोकतान्त्रिक अभ्यास मार्फत प्रतिस्पर्धाहरूमा सबै तहलाई अघि सारियो भने त्यो स्वाभाविक हुन्छ । पार्टीभित्र चुनाव भयो भने कम्युनिस्टहरूमा नपचिहाल्ने अवस्था छ । चुनावको अभ्यास एकदमै कम छ । चुनाव गर्दा मनमुटाव, अस्वस्थ प्रतिस्पर्धा हुने हुन्छ ।

प्रतिस्पर्धा हुँदा एकले अर्कामाथि भोलिसम्म रिसराग राखिराख्छ कि भन्ने भय हुन्छ । तर, विस्तारै चुनाव पनि एकदम स्वाभाविक बन्न थाल्छ । कार्यकर्ताले नेतृत्व छान्ने यो पनि एउटा विधि हो भनेरै स्थापित गराउनुपर्नेछ । बरु यसका लागि कामप्रति प्रतिबद्ध रहेको लगायत धेरै शर्त पूरा गरेपछि मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था बनाउनुपर्छ ।

लोकतन्त्रमा सबै राम्रा मात्रै अभ्यास छैनन्, केही विकृति पनि छन् । आन्तरिक निर्वाचनमा पैसा लगानी गरेर अस्वस्थ प्रतिस्पर्धा गर्दा पार्टी पार्टीको रूपमा रहँदैन । नयाँ व्यक्ति नेतृत्वमा नआउँदा पनि पार्टीको जीवन अन्त्य हुन्छ । बेथिति भयो, पैसाको आधारमा अस्तव्यस्त प्रकारको प्रतिस्पर्धा भयो भने पनि पार्टीको मृत्यु हुन्छ ।

यी सबै विकृतिबाट जोगाउन र पार्टीलाई बचाइराख्ने गरी आन्तरिक चुनावलाई खुला गर्नेबारे बहस चलेको छ । जनताको बीचमा कति र कस्तो काम गरेपछि कुन तहको उम्मेदवार बन्न पाउने भनेर तय गर्नुपर्छ ।

तय भएका शर्त पूरा गरेर उम्मेदवार बन्न योग्यहरूका बीचमा आन्तरिक चुनावी प्रतिस्पर्धा गर्न पाउने मोडलमा छलफल गर्दैछौं । यसो गर्न सक्दा कार्यकर्तालाई चुनावबाटै भए पनि नेतृत्व रोज्ने अधिकार स्थापित हुन्छ । चयन भएको नेतृत्व देश, जनता र पार्टीको हितमा लाग्छ । यसरी कम्युनिस्ट पार्टीहरूमा आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित बनाउन जरूरी छ ।

(पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी नेतृ घर्तीमगरसँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?