+
+

एकसाता भित्रै चोभार सुख्खा बन्दरगाह सञ्चालनमा आउने 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १४:२३

४ चैत, काठमाडौं । काठमाडौंको चोभारस्थित चोभार सुख्खा बन्दरगाह एक साताभित्रमा सञ्चालनमा आउने भएको छ । सुख्खा बन्दरगाह सञ्चालनका लागि भइरहेको तयारी अन्तिम अवस्थामा पुगेको भन्सार विभागले जनाएको छ ।

‘सम्भवत एक साताभित्रै यो बन्दरगाह सञ्चालनको घोषणा हुनेछ,’ विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले अनलाइनखबरसँग भने, ‘कर्मचारी व्यवस्थापन, कानुनी प्रावधान र अन्य कामहरु लगभग सकिएको छ ।’

बन्दरगाह सञ्चालनका लागि उक्त क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, प्रमुख भन्सार अधिकृतसहित कर्मचारी व्यवस्थापन, पैठारी तथा निकासी भएर आउने वस्तुको बन्दरगाहसम्म पहुँचसम्बन्धि कानुनी व्यवस्था लगायतको काम सकिएको खड्काले बताए । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा पहिले नै बन्दरगाह सञ्चालन गर्नेगरी कामहरु अघि बढेको र यसै विषयमा शुक्रबार मन्त्रालयमा बैठक पनि रहेको उनले बताए ।

गत १० फागुनमा सरकारले बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको थियो । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हालको कीर्तिपुर नगरपालिका–६ को सुख्खा बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको हो । बन्दरगाहको कुल क्षेत्रफल २ सय ६० रोपनी छ ।

विश्व बैंकको डेढ अर्ब ऋण लगानीमा गत साउनमा निर्माण सम्पन्न भएको बन्दरगाह सम्पन्न गर्न अन्य सबै प्रक्रिया सकिए पनि अर्थ मन्त्रालयमा कारण ढिलाइ भएको थियो । तत्कालका लागि व्यवस्थापकीय भूमिका वाणिज्य मन्त्रालय मातहतको इन्टरमोडल यातायात विकास समितिले नै गर्ने गरी बन्दरगाह सञ्चालन गर्न लागिएको हो ।

बिहीबार मात्रै अर्थमन्त्रालयले बन्दरगाहसम्म माल वस्तुसहित कन्टेनर आउने कानुनी बाटो खोलिदिएको थियो । बन्दरगाह सञ्चालनमा आएपछि काठमाडौंका लागि आयात गरिने माल वस्तु बोकेका कन्टेनरहरु भारतसँग सीमा जोडिएका प्रमुख ५ नाकाबाट सिधै काठमाडौं आएर भन्सार जाँच पास गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?