+
+

जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १६:२२

४ चैत, काठमाडौं । विभिन्न युरोपेली मुलुकका राजनीतिज्ञहरूको एक समूहले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यहाँका नागरिकलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न आग्रह गरेका छन् ।

विभिन्न युरोपेली मुलुकका ३६ जना राजनीतिज्ञहरूले एउटा खुला पत्रमार्फत् उक्त पुरस्कारका लागि जेलेन्स्की र युक्रेनका नागरिकलाई मनोनयन गर्न आग्रह गरेका हुन् । पत्रमा हस्ताक्षर गर्ने राजनीतिज्ञमा नेदरल्याण्ड, बेलायत, जर्मनी, स्विडेन, इस्टोनिया, बुल्गेरिया, रोमानिया र स्लोभाकियाका छन् ।

नोबेल पुरस्कारका लागि मनोनयन पेश गर्ने अन्तिम मिति जनवरी ३१ मै सकिइसकेको छ । तर मार्च ३१ सम्म मिति थपेर लोकतन्त्रका लागि लडिरहेका जेलेन्स्की र युक्रेनी नागरिकलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्नुपर्ने पत्रमा उल्लेख छ ।

‘रुसी महासंघले गरेको युद्धको प्रतिकार गर्ने क्रममा हामीले युक्रेनका नागरिकको साहस देखेका छौं । युक्रेनका बहादुर महिला एवं पुरुषले लोकतन्त्र एवं स्वशासन बचाउन लडिरहेका छन्’, पत्रमा भनिएको छ, ‘युक्रेनका सबै मानिस जुटेर अधिनायकवादी फौजको प्रतिरोध गरिरहेका छन् । विश्व युक्रेनका नागरिकको पक्षमा छ भनेर देखाउने समय आएको हाम्रो विश्वास रहेको छ ।’

तर हालसम्म नोबेल कमिटीले कुनै जवाफ नदिएको समाचारमा उल्लेख छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?