+
+

गाडी गुडाउनलाई ८ लेन, साइकललाई छैन बाटो

साइकल लेन सहरको सामाजिक न्याय तौलने सूचक हो, हुनेखाने वर्ग चढ्ने मोटरगाडी ८ लेनका सडकमा गुड्छन्, तर साइकल चढ्नेहरुका लागि पनि सहज र सुरक्षित लेन चाहिन्छ भन्ने चेतना नीति निर्मातामा समेत छैन ।

रवीन्द्र घिमिरे अमृत चिमरिया रवीन्द्र घिमिरे, अमृत चिमरिया
२०७८ चैत १० गते २१:३०

१० चैत, काठमाडौं । ललितपुरको कुपण्डोलमा ३५ वर्षदेखि साइकल पसल चलाइरहेका सञ्जय गुप्तालाई आशा थियो– पेट्रोलियम पदार्थको मूल्य आकासिन थालेपछि साइकल चढ्नेहरु बढ्नेछन् ! तर, ‘प्रकाश साइकल स्टोर्स’ सञ्चालक उनको आश अहिले मरिसकेको छ ।

उनका अनुसार ११ चैत २०७६ मा लकडाउन भएपछि साइकल किन्नेहरु ह्वात्तै बढेका थिए । विस्तारै अवस्था सामान्य भएपछि साइकलको माग पनि सुस्तायो । पछिल्लो सयम लगातार भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट पिरोलिएर साइकल चढ्नेहरु फेरि बढ्लान् कि भन्ने साइकल व्यापारीहरुको आशा पनि निरासामा बदलिसक्यो ।

‘धनीमनीका मोटर गुडाउन ८ लेनको सडक बनाउँछन्, साइकल चलाउने बाटै छैन,’ उनी भन्छन्, ‘अनि मान्छेले के किनुन् साइकल ।’

हुन त पेट्रोलियमको अकासिंदा स्कुटर, मोटरसाइकल, कार चढ्नेहरु पनि हैरान छन् । गत असारमा २८ प्रतिशतले बढेको सार्वजनिक सवारीको भाडा फेरि ११ प्रतिशत बढाउन लागेको खबरले सार्वसधारणलाई पनि पिरोलेकै छ । यस्तो बेला सवारीको पुरानो साधन साइकल पनि धेरैको नजरमा परेको छैन ।

ठूला शहरहरुमा साइकल चड्नेको संख्यामा यसै पनि कम छ । पेट्रोलियम इन्धन नचाहिने र स्वास्थ्यको दृष्टिकोणले लाभदायक भएर पनि काठमाडौं उपत्यकामा साइकल चढ्नेको संख्या झन्–झन् घट्दो छ ।

साढे तीन दशकअघि व्यवसाय थाल्दा सञ्जय गुप्ता परिवारलाई साइकल बेचेर फुर्सद मिल्दैनथ्यो । ‘प्रकाश साइकल स्टोर्स’का ग्राहकमध्ये धेरैजसो अहिले कुपण्डोलको सडकमा मोटरसाइकल वा कारमा हुँइकिन्छन् ।

‘१० वर्ष अघिसम्म दिनमा ५–७ वटा वटासम्म बिक्थ्यो, अहिले त दिनमा २ वटा पनि बेच्न मुस्किल छ,’ गुप्ता भन्छन्, ‘पहिले सरकारी कर्मचारी र विद्यार्थीहरु साइकल धेरै किन्थे, अहिले त साइकल चढ्ने एकाध सोखिन मात्र छन् ।’

लकडाउनमा साइकल बढी बिक्नुको कारण थियो, खुला सडक । साइकललाई पनि सजिलो बाटो दिने हो भने साइकल चढ्नेहरु बढ्नेमा गुप्ता विश्वस्त छन् ।

अहिले बच्चाहरुले घर आँगनमा चलाउने खालका साना साइकल बेचेर मात्रै पसल धानिएको उनी बताउँछन् । यात्रा गर्ने उद्देश्यले नै साइकल किन्नेहरु आक्कल झुक्कल मात्रै आउने गरेको गुप्ताको अनुभव छ ।

‘बिदाको समयमा घुम्ने उद्देश्यले साइकल किन्नेहरु केही हुन्छन्,’ उनी भन्छन्, ‘काम गर्न र स्कुल–क्याम्पस जान भनेर साइकल किन्नेहरु त एकदमै कम छन् ।’

साइकल चढ्नेहरु प्रताडित

काठमाडौंका सडकमा फाट्टफुट्ट देखिने साइकलयात्री विभिन्न समस्याबाट पीडित छन् । साइकल चलाउनुभन्दा ज्यान जोगाउनु मुस्किल भएको उनीहरु बताउँछन् ।

‘साइकल चलाउन काठमाडौंको सडकमा ज्यानको बाजी राख्नुपर्छ, अरु सवारीले हामीलाई हेपेर, पेलेर चलाउँछन्,’ काठमाडौंमा अध्ययनरत नुवाकोटका सुवास भण्डारी भन्छन्, ‘बस, माइक्रो र टेम्पो चलाउनेहरुले समेत साइकललाई सवारी मान्दैनन् ।’

सुरक्षित महसुस नहुने भएकोले साईकल चढ्न चाहानेहरुको पनि मन मरेको उनको अनुभव छ ।

त्यस्तै, धादिङका अशोक थपलिया भन्छन्, ‘काठमाडौंका सडकमा साइकल लेन पनि छैन । गाडी र मोटरसाइलको भीडमा मिसिएर कसरी चलाउने ? त्यसमाथि, जाममा फसेपछि कलेज वा अफिस पुग्न ढिला हुन्छ ।’

यस्तै समस्याका कारण मान्छेहरुले साइकल चढ्न नचाहेको उनको निष्कर्ष छ । आम नागरिकलाई साइकल चढ्न प्रोत्साहित गर्नेगरी पूर्वाधार निर्माण र अन्य व्यवस्था गर्नुपर्ने थपलिया बताउँछन् ।

स्वास्थ्य, वातावरण, सहरी जनजीवन र संस्कृतिको लागि महत्वपूर्ण साइकललाई ‘गरिबको सवारी’ मान्ने गलत सोचले समस्या परिरहेको साइकलयात्री भूमराज तिवारी बताउँछन् । साइकलमा हिँड्नेलाई सडकमा सुरक्षित हुने प्रत्याभूति गराउन सके प्रयोग स्वतः बढ्ने उनको बुझाइ छ ।

अर्का साइकलयात्री बाबुराजा रोकाय एकाध सडकमा लेन बनाएर साइकल संस्कृति विकास नहुने बताउँछन् । उनको विचारमा, सहायक सडकका सबै विन्दुबाट मुख्य सडकहरुमा साइकल लेन जोडिनुपर्छ । ‘एकाध सडक वा आधाबाटोसम्म साइकल लेन बनाए त्यसको उपयोगिता स्वतः कम हुन्छ’, उनले भने।

‘साइकल लेन’ चुनावी फन्डा मात्रै

साइकलयात्रीहरुले काठमाडौंमा साइकल चलाउन ठुलो सकस परेको सुनाउँदै गर्दा २०७४ सालको स्थानीय तह निर्वाचनमा लेन बनाउने बाचा गरेका जनप्रतिनिधिहरु आफ्नो कार्यकाल सकेर विदाइको तयारीमा छन् ।

नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठ्दा विद्यासुन्दर शाक्यले घोषणापत्र लेखेका थिए, ‘महानगरलाई साइकल सिटी बनाउने कार्ययोजना तयार गरिनेछ ।’

तर, मेयरमा निर्वाचित भएपछि उनले साइकल सिटी बनाउने कार्ययोजना नै ल्याएनन् । बरु, भएको साइकल लेन उपयोगमा पनि चासो दिएनन् । मेयर शाक्यले गरेको भनेको २८ मंसिर २०७६ मा माइतीघरमा साइकल चढेर फोटो खिचाए । साइकल र साइकल लेनको महत्वबारे भाषण पनि दिए ।

त्यसरी उनले उद्घाटन गरेको माइतीघर–कोटेश्वर साइकल लेन महानगरले २०७६ बाट बनाउन थालेको थियो ।

ललितपुर महानगरपालिकाले कुपन्डोलबाट जाउलाखेल, लगनखेल हुँदै मंगलबजारसम्मको सडकमा साइकल लेन भन्दै रेखा कोरेको छ । चक्रपथ खण्डको दुवैतर्फ साइकल लेन बनाउन टेन्डर पनि गरेको छ, तर सडक विभागले अनुमति दिएको छैन । यसले साइकल लेनबारे बिभागको धारणा देखाइरहेको छ ।

विभागका महानिर्देशक शिवहरी सापकोटा सहरी सडकहरुमा साइकल लेन बनाउन सकिने बताउँछन् । सँगै, साँघुरो सडकमा साईकल यात्रुको लागि मात्र छुट्टै लेन बनाउन कठीन भएको प्रष्टकीरण पनि दिन्छन् ।

साइकलको वातावरणीय र सामाजिक तौल

३१ अक्टोबर २०११ मा चक्रपथमा साइल चलाइरहँदा प्रख्यात संरक्षणविद् डा. प्रल्हाद योञ्जनले ट्रकको ठक्करबाट ज्यान गुमाए । त्यो घट्नासँगै काठमाडौंमा साइकल लेनको माग चर्किएको थियो । तर, चक्रपथ ८ लेनमा विस्तार हुँदा पनि साइकल लेन र फुटपाथ बनेन ।

यसरी साइकल चढ्नेहरुलाई निरुत्साहित पार्दै अन्य सवारी साधनको प्रयोग बढाउने सरकारी नीति आउनु गलत भएको विज्ञहरुले बताउँदै आएका छन् । उनीहरुका अनुसार, साइकल संस्कृति विकास गर्नु सहरी वातावरण संरक्षणको दृष्टिले पनि महत्वपूर्ण हुन्छ ।

‘८ लेनको रिंगरोड बनेपछि मैले पनि साइकल चढ्न निकै कम गरेको छु,’ वातावरणविद् भुषण तुलाधर भन्छन्, ‘आफैंलाई डरमर्दो भएपछि छोराछोरीलाई चक्रपथमा साइकल चढ्न दिने कुरै भएन ।’

उनका अनुसार, अहिले काठमाडौंको औसत वायु प्रदूषण स्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा १० गुणा खराब छ । यो अवस्थामा सुधार ल्याउन साइकल ज्यादै उपयोगी हुने तुलाधर बताउँछन् ।

‘जनता र देशको अर्थतन्त्रको स्वास्थ्यको लागि साइकलको उपयोग धेरै आवश्यक छ,’ उनी भन्छन्, ‘वायु प्रदूषणको कारण नेपालमा वर्षेनि करीब ४२ हजारको ज्यान जाने गरेको अध्ययनहरुका निष्कर्षलाई पनि हेर्नुपर्‍यो ।’

निर्यातबाट असुल हुने राजश्वभन्दा दुई गुणा बढी रकम पेट्रोलियम आयातमा खर्च भइरहेको छ । वायु प्रदूषण र व्यापार घाटा घटाउन पनि साइकलजस्ता प्रदूषणरहित यातायातको साधन अत्यवश्यक रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

वातावरणविद् तुलाधर साइकललाई ‘जटिल समस्याको एक सरल समाधान’ भन्छन् । उनका अनुसार साइकल सहरमा देखिने सामाजिक न्यायको एउटा सूचक पनि हो । उनी भन्छन्, ‘कोलम्बियाको राजधानी बोगोटाका पूर्वमेयर एन्रिके पेनालोसाले शहरमा साइकल लेन हुनु भनेको ३० डलरको साइकल चढ्ने र ३० हजार डलरको गाडी चढ्ने नागरिक समान हुन् भनेर देखाउने एउटा सशक्त सूचक हो ।’

भएकै लेनको दुर्दशा

ललितपुर महानगरपालिकाले कोरेको साइकललेनको व्यवस्थापन अस्तव्यवस्त छ । साँघुरो सकडमा दुईतर्फ कोरिएको लेनमा साइकलले प्राथमिकता पाउँदैनन् । कतै फोहोर, कतै खाल्डो र सवारी पार्किङले साइकल यात्रुलाई सताएको छ ।

७ वर्षअघि काटेश्वर–माइतीघर खण्ड फराकिलो पर्दा साइकल लेन छुट्याइएको थियो । तर संकेत चिह्न नराखी टायल बिछ्याएर साइकल लेनलाई समेत फुटपाथ जस्तै बनाइएको छ ।

सुरुमा साइकल लेनमा रातो र फुटपाथमा सादा टायल बिछ्याएकोमा खानेपानीको पाइप गाड्दा ती टायल उप्काइयो । पछि राख्दा छ्यासमिस बनाइएको छ । अहिले साइकल यात्रीले आफ्नो लेन चिन्न नसक्ने अवस्था छ ।

माइतीघर–कोटेश्वर सडकको साइकल लेन जोडिएको पनि छैन । चोकहरूमा साइकल लेन सकिएर सडक भेट्नुअघि नै रेलिङ लगाइएको छ । कतिपय स्थानमा साइकल चलाउन नमिल्ने गरी लेन साँघुरो छ । फुटपाथमा प्रतीक्षालय र फलामे कुर्सी राखिएकाले यात्रुहरु साइकल लेनबाटै हिँड्छन् । फुटपाथ र साइकल लेनबीचमा रोपिएका विरुवा भने झाँगिएका छन् ।

कतिपय ठाउँमा फुटपाथ र साइकल लेनमा व्यापारीहरुले सामान फिजाउँछन् । चटपटे, पानीपुरी, फलफूल बेच्नेहरू पनि साइकल लेनमै सामान राखेर बस्छन् । घर बनाउनेहरुले निर्माण सामग्री साइकल लेनमै थुपार्छन् ।

कतै साइकल लेनको टायल उप्किसकेको छ । बानेश्वरमा बनेको आकाशे पुलका खम्बा साइकल लेनमै गाडिएको छ । सडक विभागले ठाउँ र दूरी संकेत गर्ने बोर्ड पनि साइकल लेनमै राखेको छ ।

फुटपाथमा लहरै मोटरसाइकल पार्किङ गरिन्छ । सरकारी कार्यालय, अस्पताल, होटल, बैंक, व्यापारिक कम्प्लेक्स अगाडिका फुटपाथ र साइकल लेन मोटरसाइकलले भरिएको हुन्छ । साइकल लेन र फुटपाथ पार्किङले भरिदा यात्रुले सडकमै झरेर हिँड्नुपर्छ । साइकल लेन र फुटपाथ यसरी मासिइरहँदा पनि जिम्मेवार निकाय रमिते बनेका छन् ।
तस्वीर : चन्द्र आले/अनलाइनखबर

 

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?