+
+

पर्सामा ६ महिनामा ५ सय २८ क्षयरोगी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १९:५८

१० चैत, वीरगञ्ज । पर्सामा ६ महिनामा ५ सय ८२ जना नयाँ क्षयरोगी पत्ता लागेको छ । साउनदेखि पुस मसान्तसम्म खकार जाँच गराएकाहरुमध्ये ५ सय ८२ जनामा क्षयरोगको संक्रमण पुष्टि भएको हो ।

जसमध्ये सर्ने खालको (खकार जाँचबाट पत्ता लागेको ) ३ सय २८, कम सर्ने खालको ( एक्स रे बाट पत्ता लागेको ) ९३ र फोक्सो बाहेक अन्य भागमा क्षयरोग लागेका १६१ जना छन् ।

खोकी लागेर आफैं खकार जचाउँन आएका ९८ जना, निजी स्वास्थ्य संस्थामा क्षयरोग पुष्टि भएका २ सय ६० जना, सामुदायिक अभियानबाट १ सय ६३ जना र कन्ट्याक्ट ट्रेसिङबाट ६१ जनामा क्षयरोग संक्रमण पुष्टि भएको थियो । ३४ जनाले चुरोट सेवन गर्ने गरेको पाईएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार उनीहरुले १ सय ५ वटा डट्स केन्द्रहरुबाट नेपाल सरकारले प्रदान गर्ने औषधि निःशुल्क सेवन गरिरहेका छन् । टीबी एचआईभी सह संक्रमणको जोखिम हुन्छ ।

पर्सामा ७७ जना महिला सहित २ सय १९ जना एचआईभी संक्रमितको खकार जाँच गर्दा १ जनामा क्षयरोग संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका क्षय कुष्ठ अधिकृत विनोद झाका अनुसार जिल्लामा निको हुने दर ९१ प्रतिशत छ ।

गत वर्षको पछिल्लो छ महिनामा १ सय ९४ जना क्षयरोगी फेला परेकोमा १ सय ८७ जना निको, ९ जनाको मृत्यु, १ जनाको पूनः उपचार गर्नुपरेको र ५ जनाले नियमति औषधि नखाएकोले पूनः औषधि खुवाउनुपर्ने अवस्था सृजना भएको थियो ।

१ लाख जनामा २ सय ३५ जना क्षयरोगी हुन सक्ने सरकारको तथ्याङ्क छ । त्यसको आधारमा पर्सामा अझैपनि समाजमा लुकेको क्षयरोगी छन् । उनीहरुको पहिचान गरी उपचारको दायरामा ल्याउनु चुनौतीपूर्ण काम भएको क्षय कुष्ठ अधिकृत झा बताउँछन् ।

‘ राष्ट्रिय क्षयरोग कार्यक्रमले क्षयरोग बिहिन नेपाल बनाउने परिकल्पना गरेको छ ।’ उनले भने ‘ जिल्लामा जति केस पत्ता लगाउनुपर्ने हो लगाउन सकेका छैनौं । निजी क्षेत्रमा जचाएकाहरु बीचबाटै हराउने गरेका छन् ।’

आफूलाई रोग लागेको छ कुरा अरुलाई थाहा नहोस भनेर कतिपयले गोप्य तरिकाले समेत औषधि खाने गरेको उनको भनाई छ । लुकेका क्षयरोगी पत्ता लगाउन द्रुत रणनीति अन्र्तगत बागमती सेवा समाजले ५० वटा औषधि पसलमा मान्छे राखेर खोकी लागेका मानिसलाई खकार जाँच गराउने गरेको जानकारी उनले दिए । बागमती सेवा समाजले खकार ढुवानीमा पनि सघाउँदै आएको छ ।

चिकित्सकको सल्लाह अनुसार ६ महिनादेखि एक वर्षसम्म नियमित औषधि सेवन गरे कुष्ठ रोग निको हुन्छ, जाँचदेखि औषधिसम्म निशुल्क छ भन्ने सन्देश जन जनमा पुर्‍याउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । एक जनालाई क्षयरोग लाग्यो भने सहर बजारमा २०–२५ जनालाई र गाउँघरमा १५–२० जनालाई सर्ने गर्छ ।

वीरगञ्ज महानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा जनस्वास्थ्य निरीक्षक एवं फोकल पर्सन सुमनचन्द्र ठाकुर लगातार खोकी लाग्ने वित्तिकै खकार जाँच गराउन सर्वसाधरणसँग आग्रह गर्छन् ।

‘ खकार आयो भने जाहाँ पायो त्यहि थुक्ने बानी छ । क्षयरोग रहेछ भने अरुलाई सर्न सक्छ ।’ उनले भने ‘ लगातार खोकी छ, औषधि खाँदा निको हुन्छ, सकिएपछि फेरि आउँछ भने खकार जाँच गर्नुपर्छ । टीबी देखियो भने औषधि खानुपर्छ हैन भने रहेनछ भनेर ढुक्क हुन पाईन्छ ।’

अहेब बन्दना चौधरीले तराईमधेसमा जाडोमा एकै ठाउँमा बसेर घुर ताप्ने, एउटै घरमा धेरै मानिस बस्ने हुँदा क्षयरोग सर्ने संभावना बढी हुन्छ । आफ्नो र परिवारको स्वास्थ्यका लागि पनि खकार जाँच गराउनु लाभदायक रहेको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?