+
+

प्रवासमा छचल्किएको नेपाली मन

राजेन्द्र पन्थी राजेन्द्र पन्थी
२०७८ चैत ११ गते १४:४४

जननी जन्मभूमिश्चः स्वर्गादपी गरियसी भनिएको छ। आफूलाई जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा महान् हुन्। मानिस जतिसुकै भौतिक रूपले सम्पन्न होस् उसकी जन्म दिने आमा र देश छैन भने ऊ सधैं गरिब नै हुन्छ। देश र आमाबाट मानिसले बेस्वार्थी माया पाएको हुन्छ। मानिसलाई सबैभन्दा बढी माया दिने भनेकै आमा हुन्।

मानिसको जीवन भोगाइ भनेको समयको खेल रहेछ, समयले मानिसलाई कहिले कहाँ र कहिले कहाँ पुर्‍याउँदो रहेछ। जीवनका उकालीओराली पार गर्दा मानिसले जीवनमा जे चाहेको छ त्यो हुँदो रहेनछ र जे चाहेको छैन त्यो भोग्नु पर्दोरहेछ। जीवनलाई यही नै हो भनेर सजिलै व्याख्या गर्न सकिंदैन।

यद्यपि मानिस समय र परिस्थिति अनुसार चल्ने प्रयत्न गर्नुपर्छ। समयको गतिसँगै आजको विश्वमा विभिन्न देशका भौगोलिक सीमाहरू पार गर्दै मानिस सिङ्गो संसारलाई मानौं एउटा देश नै मानी कुनै पनि धर्तीमा जन्मेको धर्तीपुत्र जुनसुकै देशमा पुगेको देखिन्छ। आजको समयमा मेरो देश यही हो म यहीं नै बस्नुपर्छ भन्ने त छैन तर मानिस आफ्नो जन्मभूमिलाई छोडेर जहाँसुकै जाओस् उसमा उसको राष्ट्रियता र मातृप्रेम भने सँगै गएको हुन्छ।

यस्तो संसार साँघुरिएको अवस्थामा नेपालीहरू पनि विभिन्न प्रयोजनका लागि आफ्नो देशको सिमाना पार गरेर विदेशिएका छन्। यसरी विदेशिएको नेपालीले देशको विकृति र विसंगतिका बारेमा केही बोल्दा यो देशमा आफूलाई तथाकथित स्वदेशी राष्ट्रवादी भन्नेहरूले ‘तिमीहरू त देश छोडेर गएका’ भन्दा साह्रै मन दुख्दोरहेछ र त्यो पीडाले गहिराइमा गई पोल्दोरहेछ।

परदेशिएको यो मन कहिलेकाहीं देशलाई अत्यन्तै दुख्दा खिन्न हुँदोरहेछ र बोल्ने मन लाग्दोरहेछ तर देश छोडेर गएका भन्दा ती शब्दरुपी तिखा काँडाले मुटु छेड्दोरहेछ।

एउटा नेपालीले देश रोएको कसरी हेर्न सक्छ र ! देश छोड्न कसलाई मन लाग्छ होला र ! देश छोडेर जानुका कति कारण छन् होला। एक छाक खान र एक सरो लगाउन नपाएर गरिबी र बेरोजगारीका कारण अधिकांश नेपाली विदेशिनु परेको छ। ती विदेशिएका नेपालीको मन र मुटु नै छैन झैं गरी अपमान गरेर बोल्दा भक्कानो फुट्दो रहेछ।

आज संसार कहाँबाट कहाँ पुगेको छ तर हामी झन् पछाडि सर्दैछौं। नेपालभन्दा पछाडि स्वतन्त्र भएका मुलुक आज विश्वका शक्तिशाली मुलुकमा गनिएका छन् तर हामी कहिल्यै परतन्त्र नभई जन्मजात स्वतन्त्र मुलुक भएर रहँदा पनि विकास र समृद्धिको दृष्टिकोणले पछाडि परेका छौं।

धेरै व्यवस्था परिवर्तन हुँदै गए तर अवस्था परिवर्तन हुन सकेन। यतिसम्म कि विश्वकै उत्कृष्ट व्यवस्था गणतन्त्रको आगमन हुँदा पनि देशले काँचुली फेर्न सकेन। देशको अस्थिर राजनीतिले गर्दा विकास र समृद्धिका सम्पूर्ण ढोकाहरू बन्द भएका छन्।

दलहरूले राजनीतिलाई मागिखाने भाँडो बनाउँदा देशले निकास पाउन सकेको छैन। नेपालमा राजनीति भनेको केही सीमित वर्गको लागि कमाउने धन्दा बनेको छ। देशको समृद्धिका लागि बाधक हुन् भनेर राणा, पञ्चायत, राजा फालेर संघीय गणतन्त्र ल्याउँदा पनि देशले विकासको गोरेटो पाउन सकेको छैन।

ती विदेशिएका मनहरूले आफ्नो देशलाई सम्झँदै अर्को देशमा गएर पसिना बगाउनु परेको छ। सायद ती पसिनाहरू आफ्नै देशमा बगाउन पाउने हो भने विकासको मूल पक्कै फुट्छ।

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली इमानदारी, मिहिनेती र परिश्रमी भनेर चिनिएका छन् तर आफ्नै मुलुकमा नेपालीले आफ्नो क्षमतालाई प्रयोगमा ल्याउने अवसर पाएका छैनन्। आज नेपालीहरू संसारका प्रायः सबै मुलुकमा छन्।

विदेशिएको नेपालीले देशको विकृति र विसंगतिका बारेमा केही बोल्दा यो देशमा आफूलाई तथाकथित स्वदेशी राष्ट्रवादी भन्नेहरूले ‘तिमीहरू त देश छोडेर गएका’ भन्दा साह्रै मन दुख्दोरहेछ र त्यो पीडाले गहिराइमा गई पोल्दोरहेछ।

कतिपय बाध्यताले, कतिपय रहरले, कतिपय अध्ययनको लागि, कतिपय पेशा र व्यवसायको लागि देश छोड्नु परेको छ। जो देश बाहिर छ उसलाई अझै आफ्नो देश असाध्यै माया लाग्छ।

भौतिक पूर्वाधारको दृष्टिले विश्वका कतिपय देश जतिसुकै सम्पन्न भए पनि सबभन्दा सुन्दर आफ्नै देश हुन्छ। कतिपयले भन्ने गर्छन् त्यस्तो माया भए त किन देश छाड्ने। देश चटक्क छोड्ने अनि राष्ट्रियता र देशभक्तिका कुरा गर्ने भनेर बौद्धिक र जिम्मेवार व्यक्तिले भन्दा चित्त दुख्छ।

बुवाआमा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, छरछिमेक, आफ्नो समाज र देश छोड्दा कसलाई खुसी लाग्न सक्छ। मान्छे विदेशमा जतिसुकै भौतिक रूपमा सुखसयलमा रमाओस् तर उसको मनमुटु आफ्नो देशमा नै रहेको हुन्छ। राष्ट्र र नागरिक भनेका हाड र छाला वा नङ र मासु जस्तै हो। नेपाली जतिसुकै टाढा गए पनि उनीहरूमा देशप्रेम र राष्ट्रियता सँगै गएको हुन्छ।

नेपालको चार सिमानाभित्र बस्दैमा धेरै र बाहिर हुँदा थोरै माया भन्ने हुँदैन बरु झन् ज्यादा हुन्छ। मानिसका कतिपय मनका भावनाहरू शब्दबाट अभिव्यक्त गर्न सकिन्न। विदेशिएको नेपालीलाई देशको माया कति हुन्छ भनेर शब्दबाट वर्णन गर्न सकिंदैन। मानिसको जीवनमा सबैभन्दा खुसी भनेको भौतिक होइन, मानसिक खुसी नै हो।

महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्छन् :

हातको मैला सुनको थैला के गर्नु धनले ।
साग र सिस्नु खाएको वेश आनन्दी मनले ।।

विदेशमा क्षणिक भौतिक सुख त पाइएला तर मानसिक सुख पाउन सकिंदैन। त्यो सुख पाइने भनेको अन्तत: आफ्नो देशमा नै हो। देश हाँस्दा हाँस्ने र रुँदा रुन मन लाग्छ। सायद कसैलाई पनि विदेशिन मन लाग्दैन। विदेशको रमझम, सुखसुविधा भन्दा जस्तोसुकै भए पनि आफ्नै देश राम्रो लाग्छ।

पिजा र बर्गरले एकैछिन जिब्रोलाई स्वाद देला तर नेपाली दाल, भात, तरकारी र चटनी जस्तो स्वादिलो र आडिलो अरु हुनै सक्दैन। देशले अवसर दिन सक्ने हो भने विदेशिएका नेपालीले देशको विकृति र विसंगतिलाई औल्याई नेपाल आमालाई सुखी बनाउन धेरै योगदान दिन सक्छन्।

के म वा ऊ विदेशिनु मेरै वा उसकै कारण मात्र हो त ? पक्कै होइन। आफ्नो नागरिकलाई राज्यले राम्रोसँग लाउन खान दिएको छ त ? छैन। यस्ता थुप्रै प्रश्न राज्यका अगाडि तेर्सिएका छन्। देशको प्रायः सबै अङ्गहरू गतिहीन छन्। देशको सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक अवस्था नाजुक छ।

अधिकांश दक्ष जनशक्ति गाँस–बासको लागि विदेशिनु बाध्यता छ। देशको यस्तो दक्ष जनशक्ति विदेशिएर पलायन भएको अवस्थामा राज्यले संवेदनशील भएर सोची ती विदेशिएका नेपालीलाई देशका बारेमा सोच्न बाध्य बनाउने र स्वदेश फर्किने वातावरण सिर्जना गर्नुपर्छ।

राज्यले विदेशिएको बौद्धिक, शैक्षिक, व्यावसायिक, प्राविधिक जनशक्तिलाई जतिसक्यो छिटो प्रयोगमा ल्याउने प्रयत्न गर्नुपर्छ। देशले खोज्ने र अवसर दिनसक्ने हो भने विदेशिएका अधिकांश जनशक्ति आफ्नो देशमा फर्कन चाहन्छन्। अब देश रेमिटेन्सको भरमा चल्नुहुँदैन। आज संसारका कुना कुनामा गएर नेपालीले आफ्नो बौद्धिक क्षमता देखाएका छन्। विश्वका समृद्धशाली र विकसित मुलुकका विभिन्न क्षेत्रमा नेपाली देश र आफ्नो नाम समेत राख्न सफल भएका छन्।

यस्ता किसिमका जनशक्तिलाई राष्ट्रले जति छिटो फर्कायो त्यति छिटो देशको भलो हुन्छ। विश्वका विभिन्न मुलुकमा बसेर नेपालका उच्च जनशक्ति प्राध्यापक, डाक्टर, इन्जिनियर, पाइलट, उद्योगी, व्यापारी आदि पद र पेशामा ख्याति कमाएका छन्। यस्ता किसिमका ख्यातिलाई नेपालले अवसरको रूपमा लिनुपर्छ।

नेपालको विकास र समृद्धिको लागि पलायन भएको दक्ष जनशक्तिलाई भौतिक रूपमा उपस्थित गराउन नै नसके पनि राज्यले उनीहरूको क्षमतालाई सजिलै प्रयोगमा ल्याउन सक्छ। आजको विज्ञान र प्रविधिको युगमा मान्छेले विश्वको एउटा छेउमा बसेर अर्को छेउमा काम गर्न सक्छ। यही तरिकाले राज्यले नेपाली आमाका सन्तानलाई पाखा लगाउनुको सट्टा काखा लगाउन सक्ने हो भने नेपालमा विकास हुन त्यति लामो समय लाग्दैन।

अधिकांश विदेशिएका नेपाली आमाको काखमा बसेर आमासँगै हाँस्न र रुन चाहेका छन्। ऊ पनि यही आमाको छोरो हो, कसैले उसलाई पराई भनी हेप्न हुँदैन र पाइँदैन पनि।

यो विज्ञान र प्रविधिको युगमा संसारमा तत्काल के हुँदैछ र के भयो भन्ने कुरा सेकेन्डमा थाहा हुन्छ। विदेशमा बसेर यहाँको भौतिक पूर्वाधारलाई नियाल्दा मेरो देश पनि यस्तै बनाउन पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ। देश विकासको सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार भनेका सडक र विद्युत हुन्।

राज्यले देशको गाउँ–गाउँमा यस्ता पूर्वाधार पुर्‍याउन सक्ने हो भने हाम्रो जस्तो प्रशस्त पर्यटकीय सम्भावना रहेको देशको लागि आम्दानीका प्रशस्त स्रोत हुन सक्छन्। विकास र सम्पन्नताका सूचकका आधार त सडक, बिजुली, उद्योग, कलकारखाना नै हुन्। देशभित्र यस्ता विभिन्न किसिमका विकासका पूर्वाधार निर्माण गर्न सक्ने हो भने नेपाली विदेशिनु पर्दैन।

प्राकृतिक र भौतिक दृष्टिकोणले नेपाल सुन्दर छ। नेपाल विविधताले सम्पन्न मुलुक हो। नेपालीहरू देशको विकास र समृद्धिको लागि पसिना बगाउन तयार छन्। देशका जिम्मेवार दलले राष्ट्रको समृद्धिका बारेमा गहन तरिकाले सोच्ने हो भने अर्को पुस्तालाई कम्तीमा पनि गाँसबासका लागि विदेशिनुपर्दैन।

विश्वका नाम कहलिएका देशहरू जस्तै: नर्वे, स्विडेन, हङकङ, जर्मनी, चीन, अस्ट्रेलिया, डेनमार्क, बेलायत, जापान, दक्षिण कोरिया, युएई, रसिया, अमेरिका, क्यानडा आदि जादुको भरमा विकसित भएका होइनन्। लामो सङ्घर्ष र अथक् प्रयासबाट विकसित भएका हुन्।

देशको समृद्धिको लागि राजनीतिक स्थिरता, दलीय प्रतिबद्धता, औद्योगिकीकरण, उच्च किसिमको प्रतिव्यक्ति आम्दानी, गुणस्तरीय सामाजिक जीवन, पूर्वाधारहरूको निर्माण, नागरिक स्वतन्त्रता जस्ता कुराहरू नै हुन्। नेपालका जिम्मेवार प्रमुख दलहरूले देश विकासलाई मात्र एक मूलमन्त्र बनाउने हो भने नेपाल पनि विकसित मुलुकको नाममा पर्न धेरै वर्ष कुर्नुपर्दैन।

(हाल: भर्जिनिया, अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?