+
+
फिल्म बहस :

‘द कश्मीर फाइल्स’ अर्थात् हिन्दुत्वको प्रोपोगण्डा

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०७८ चैत १४ गते १४:११

कुरा आजभन्दा २५ वर्ष अगाडिको हो । कामको सिलसिलामा करिब एक महिना पाकिस्तान बस्ने अवसर मिलेको थियो । कामका लागि अधिकतम समय इस्लामाबाद, कालिन्जर, भावलनगर र लाहोरको भ्रमण गरेको थिएँ ।

संयोगवश १४ अगस्टमा पर्ने पाकिस्तानी स्वतन्त्रता दिवस मनाउने दिनमा म कालिन्जरमा थिएँ । उक्त गाउँ कारमकुरम नदीलाई थुनेर बनाइएको विद्युतीय बाँधको प्रभावस्थल थियो, हाम्रो यहाँको कुलेखानी भएजस्तै । कश्मीरबारे पाकिस्तानका मध्यम तथा उच्च वर्गका व्यक्तिहरू कम बोलेको सुनें । तर कालिन्जरमा जनस्तरमा मनाइएको पाकिस्तानी स्वतन्त्रता दिवसको कार्यक्रममा भाग लिने क्रममा उनीहरूले भनेका थिए, ‘हाम्रा कश्मीरका भाइहरूलाई भारतले दमन गरेर राखेको छ र उनीहरूको स्वतन्त्र हुने चाहनालाई कुण्ठित गरिएको छ ।’

त्यतिबेला मैले कश्मीरको समस्यालाई त्यति गहन रूपमा हेर्ने गरेको थिइनँ । अतः मैले आफ्नो धारणा राख्ने कुरा भएन । तर अहिले ‘द कश्मीर फाइल्स’ फिल्म हेरेपछि त्यो कार्यक्रमलाई म झल्झली सम्झिरहेको छु । पाकिस्तानको मध्यभागमा रहेको सो ग्रामीण क्षेत्रका जनताको कुरा र भावना सुन्दा कश्मीर समस्यालाई उनीहरूले कति व्यक्तिगत रूपमा लिन्छन् भन्ने कुरा बुझिन्छ ।

यो फिल्म सार्वजनिक भएपछि भारतमा कुनै घोषित साम्प्रदायिक दंगा भएको छैन, यो आफैंमा ठूलो कुरा हो ।

त्यहाँ उनीहरूले पाकिस्तानी जनताले जुनसुकै मूल्यमा पनि कश्मीरको स्वतन्त्रता चाहन्छन् भन्ने कुरा स्थानीय तहका नेताहरूले व्यक्त गरेका थिए । उनीहरूका लागि म एउटा विदेशी पाहुना थिएँ, मलाई हिन्दी राम्रो बोल्न आउने भएकाले मैले उनीहरूलाई स्वतन्त्रता दिवसको शुभकामना दिएँ र पाकिस्तान तथा नेपालको साझा शत्रु गरिबी भएको हुँदा त्यसको विरुद्ध लड्नुपर्ने कुरा बताएँ ।

एक महिनाको पाकिस्तान बसाइमा मलाई सबैभन्दा मन परेको कुरा उनीहरूको अतिथि सत्कारको संस्कार हो । मैले भारत, पाकिस्तान तथा बंगलादेशको भ्रमण गर्दा सबैभन्दा राम्रो आतिथ्य दिने जनता पाकिस्तानी हुन् भन्ने लाग्यो ।

हिरा विश्वकर्मा

इस्लामाबादका समकक्षी एक युवकले कश्मीर समस्याबारे मैले सोचे भन्दा फरक टिप्पणी गरे । त्यो के भने, पाकिस्तानले कश्मीरको समस्यालाई सधैं बोकेर बस्दा पाकिस्तान आफंै समस्यामा परिरहेको छ र यो समस्यालाई बोकेर बस्नुमा पाकिस्तानका सैनिक शासकहरूको स्वार्थका कारणले हो भने ।

त्यतिबेला त्यहाँ सैनिक शासक परवेज मुसर्रफ थिए । उनले अगाडि थपे, ‘कश्मीर समस्यालाई बल्झाइरहँदा सधैं भारतको हाउगुजी स्थापित गर्न सकिन्छ र त्यसको बलमा सेनाले शासन सत्ता हत्याएर हालीमुहाली गर्न पाइरहन्छ ।’ उनको कुरा अहिले सम्झिंदा भारत पाकिस्तानको समस्या तिनै कुराहरूले प्रभावित बनाइरहेको बुझ्न गाह्रो छैन ।

कश्मीरको विषयमा भारतको विभिन्न फिल्म उद्योगले दर्जनौं फिल्म बनाएका छन् । ती सबैजसो फिल्मले आतंकवादीहरूलाई पाकिस्तानले सहयोग गरेको भन्ने भाष्य नै स्थापित गरेका भएपनि कहीं न कहीं भारतीय शासकहरू आफ्ना सुरक्षाकर्मीहरूका कारणले पनि जिम्मेवार छन् भन्ने देखाउँथ्यो । त्यसले भारतमा अल्पसंख्यामा रहेका मुस्लिमहरू आतंकवादी हुन् भन्ने भाष्य निर्माण गरेकै थियो ।

त्यसलाई अझ बल पुर्‍याउने र पूरै हिन्दुत्वको प्रोपोगाण्डा नै गर्ने शैलीमा पछिल्लो फिल्म ‘द कश्मीर फाइल्स’लाई प्रस्तुत गरिएको छ भन्दा अत्युक्ति नहोला । यसलाई पुष्टि गर्न हिन्दुत्वको वकालत गर्ने भाजपा शासित क्षेत्रमा सो फिल्मलाई कर मुक्त गरिनु र फिल्मका निर्देशकलाई वाई श्रेणीको सुरक्षा प्रदान गर्नुले गर्छ ।

द कश्मीर फाइल्सको मूल कथा के छ भने त्यहाँ रहेका अल्पसंख्यक कश्मीरी पण्डितहरूलाई मुस्लिम आतंकवादीहरूले प्रताडना दिएर आफ्नै देशभित्र कसरी शरणार्थी बनाएका छन् भन्ने देखाइएको छ । त्यसमा विवादित तथा चर्चित संविधानको विशेष धारा ३६० कसरी जिम्मेवार छ भन्ने देखाइएको छ । आफ्नो भाष्यलाई स्थापित गर्न निर्देशक विवेक अग्निहोत्रीले विभिन्न दृश्य तथा आतंकको सहारा लिएका छन् ।

यसको सबैभन्दा आलोच्य दृश्य आफ्नै श्रीमानको रगत मुछिएको पीठो खान शारदा पण्डितलाई बाध्य पारिनु हो । अर्को दृश्य भारतीय आर्मीको भेषमा कश्मीरी पण्डितका परिवारका सदस्यलाई लाइन लगाएर मारिनु हो । मलाई लाग्छ, यी दुई दृश्यले मुस्लिमलाई तथाकथित आतंककारी मात्रै होइन, आम मुस्लिमलाई समेत खुंखार मान्छेको रूपमा प्रस्तुत गर्दछ ।

हामीले जुनसुकै साम्प्रदायिक दंगा तथा आतंकका घटना पढ्यौं वा सुन्यौं भने त्यसमा छिमेकीहरूले मद्दत गरेको वा भगाउन सहयोग गरेको पाउँछौं, तर निर्देशकले त्यो मानवीय पक्षलाई फिल्मबाट पूरै हटाएका छन्, कहींकतै कश्मीरी पण्डितका छिमेकीहरूले उनीहरूलाई सहयोग गरेको दृश्य देखाउँदैनन् ।

कश्मीरको समस्यालाई हेर्दा त्यहाँ कश्मीरी पण्डितहरू मात्रै प्रताडित भएका छैनन्, त्यहाँका आम मुस्लिम समुदाय पनि त्यतिकै प्रताडित छन्, जसले आतंकवादीहरूलाई सहयोग गर्दैनन्, जो शान्तिपूर्ण जीवन बाँच्न चाहन्छन् । त्यहाँभित्रका मुस्लिम समेत कसरी प्रताडित हुन्छन् भन्ने कुरा अक्षयकुमार अभिनित ‘जोली एलएलवी–२’ले बडो मार्मिक ढंगले प्रस्तुत गरेको थियो ।

त्यहाँ कश्मीर कश्यप ऋषिको नामबाट भएको र हजारौं वर्षको तपोभूमि भएको जस्ता कुराहरू उनले उल्लेख गर्छन् । इतिहासको गौरव गाथा यसरी एकपक्षीय रूपमा भन्दै जाने हो भने निश्चित रूपमा यसले एक पक्षलाई आतंकित पार्छ ।

तर यो फिल्ममा फारुक मल्लिकको भूमिकामा रहेका चिन्मय मल्लिकको माध्यमबाट निर्देशकले यदि संसारको कुनै अत्याचारी तथा खुंखार राक्षस छ भने मुस्लिम आतंकवादी फारुक मल्लिक नै हो भन्ने स्थापित गर्छन् र हेर्ने दर्शकलाई यदि ऊ अगाडि आउँछ भने त्यहीं उसलाई धुजाधुजा पारेर खत्तम पारिदिऊँ जस्तो रिस उठाउँछ । निर्देशकीय हिसाबले यस्तो देखाउनु उसको सफलता भएपनि त्यसले उद्वेलित पार्ने मानवीय भावना र पछिसम्मको असरको विषयमा पनि चाहे त्यो निर्देशक होस् वा सेन्सर बोर्ड दुवैले ख्याल गर्नुपर्छ ।

यसै त भारतीय मुस्लिमले जहिले पनि आफूलाई असुरक्षित महसुस गर्छन्, त्यसमाथि यस्तो फिल्म सार्वजनिक हुँदा त्यसले उनीहरूको मनोभावनामा कति असर परेको होला भन्ने आँकलन गर्न त्यति गाह्रो पर्दैन । यो फिल्म सार्वजनिक भएपछि भारतमा कुनै घोषित साम्प्रदायिक दंगा भएको छैन, यो आफैंमा ठूलो कुरा हो ।

यो फिल्ममा प्रोफेसर राधिका मेननको भूमिकामा रहेकी पल्लवी जोशीको भूमिकामा पनि प्रश्न गर्न सकिन्छ । उनी हिन्दू सवर्ण जातकी हुँदाहँुदै पनि किन कश्मीरको स्वतन्त्रताको पक्षमा लड्ने एउटा अभियन्ताको रूपमा देखाइएको छ ? उनले पढाउने विश्वविद्यालयलाई जेएनयूको दृश्यसँग मिल्ने गरी देखाइएको छ । किनभने जेएनयूमा पढाइने वा गरिने आन्दोलनहरू जहिले पनि भारतीय संस्थापन पक्षको विरोधमा हुन्छ र त्यहाँका विद्यार्थी नेताहरू छिट्टै मूलधारका राजनैतिक पार्टीहरूका नेता हुन्छन् ।

त्यसैसँग जोड्न कश्मीरी पण्डितकै नाति कृष्ण पण्डितको भूमिकामा रहेका दर्शनकुमारलाई खडा गरिन्छ । निर्देशकले भनाउन चाहेको कुरा कृष्ण पण्डितले भन्नु त स्वाभाविक मान्न सकिएला तर राधिका मेनन किन यति ठूलो स्वतन्त्र कश्मीरको अभियन्ता बनिन् ? त्यो एकदमै अस्वाभाविक लाग्छ ।

यता आईएएस अफिसर ब्रह्माको भूमिकामा रहेका मिथुन चक्रवर्ती र उनका तीन जना डाक्टर, पत्रकार तथा पुलिस साथी पनि मुस्लिम आतंकवाद तथा कश्मीरको मुस्लिम राजनीतिका अगाडि कसरी निरीह छन् र थिए भनेर केवल कश्मीरी शासनलाई मात्रै दोषी देखाउन खोजिएको छ । भलै कतै कतै केन्द्रले पनि उनीहरूलाई सहयोग नगरेको कुरा उनीहरू भन्न चुक्दैनन् । पत्रकारहरूलाई आतंकवादको रखौटीको रूपमा प्रस्तुत गर्दा कश्मीर आतंकमा आरोपित १४ जना पत्रकारले ज्यान गुमाएको प्रसंग मार्मिक छ ।

मुख्य खलनायक फारुक मल्लिकको मुखबाट एउटा राम्रो संवाद पनि बोलाइएको छ । त्यो हो– ‘भारतमा जवाहरलाल नेहरू र अटलविहारी बाजपेयी यस्ता नेता भए जसले जनताको माया पाउने काम गरे । अहिलेका शासकले डर स्थापना गर्ने काम गरिरहेका छन् ।’

पहिले राधिका मेननको प्रभावमा आएका कृष्ण पण्डित युनिभर्सिटीको विद्यार्थी युनियनमा प्रेसिडेन्टको प्रत्यासी हुन्छन् । आफ्नो हजुरबुवाको अस्तु सेलाउन जाँदा पहिलेको आतंकवादी फारुक मल्लिकलाई भेट्छन् । त्यहाँबाट फर्केपछि उनले विद्यार्थीलाई सम्बोधन गर्छन् । सो क्रममा उनले हिन्दुत्वको बखान गर्छन् । १३औं शताब्दीमा भएको मुस्मिल आक्रमणको फेहरिस्त सुनाउँछन् । हिन्दुत्वलाई प्रोपोगाण्डाकै रूपमा स्थापित गर्न प्रयास गर्छन् । त्यो नै यो फिल्मको सबैभन्दा आपत्तिजनक दृश्य र संवाद हो भन्ने लाग्छ ।

त्यहाँ कश्मीर कश्यप ऋषिको नामबाट भएको र हजारौं वर्षको तपोभूमि भएको जस्ता कुराहरू उनले उल्लेख गर्छन् । इतिहासको गौरव गाथा यसरी एकपक्षीय रूपमा भन्दै जाने हो भने निश्चित रूपमा यसले एक पक्षलाई आतंकित पार्छ ।

अतः अहिलेको उच्च प्रविधि र सञ्चारको युगमा मानवीयता तथा भाइचाराको भावना बढाउनुपर्ने ठाउँमा यस्तो एकपक्षीय कुरा स्थापित गर्दा हिन्दुत्वको जगमा स्थापित भएको केन्द्र र अन्य प्रदेशको शासनलाई बल त पुर्‍याउला, तर इतिहासदेखि वर्तमानसम्म प्रताडित भएका दलित, मुस्लिम तथा आदिवासीहरूलाई थप आतंकित बनाएको मूल्य महँगो नपर्ला भन्न सकिंदैन ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?