+
+

‘सत्यम्’को भविष्य अन्योलमै परेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १५:५०

काठमाडौं । राजेश हमाल र पल शाहलाई मुख्य भूमिकामा लिएर बनाउन लागिएको फिल्म ‘सत्यम्’ अनिश्चित बनेको छ । निर्माता नै तितरबितर हुनु र पल जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएपछि यो फिल्मको भविष्य अन्योलमा परेको हो ।

कलाकारको पारिश्रमिक र छायांकन सेटमा नै एक करोड खर्च भइसकेकाले अहिले फिल्म अन्योलमा परेको निर्मातामध्येका एक रेशम सापकोटाले अनलाइनखबरलाई बताए ।

पोखरामा बनाइएको सुटिङ सेटमा ५० लाख खर्च भइसकेको छ भने एड्भान्सबापत राजेश, पल र अनुपविक्रम शाहीले रकम लिइसकेका छन् । कुल २५ लाख पारिश्रमिकमध्ये पलले ३० प्रतिशत रकम लिएको निर्माता सापकोटाले बताए ।

‘हामी सकेसम्म पलजीको अदालतको अन्तिम फैसलासम्म प्रतीक्षा गर्ने तयारीमा छौं,’ उनले भने, ‘उहाँले एड्भान्सबापत रकम लिनुभएको त छ नै, उहाँजस्तो स्टारलाई सकेसम्म नगुमाऔं भन्ने हो ।’

अदालतको आदेश पलको विपक्षमा आएमा भने अरु विकल्प खोजिने उनको भनाइ छ । मुद्दाको फैसला आउँदासम्म के अन्य कलाकारले कुर्लान् त भन्ने प्रश्नमा निर्माता सापकोटाले भने, ‘हामीले उहाँहरुलाई आफ्नो हातमा प्रोजेक्ट छ भने हामीलाई नकुर्नुस् भनेका छौं ।’

केही साताअघि अनलाइनखबरसँग कुरा गर्दै अभिनेता राजेश हमालले फिल्म ‘सत्यम्’को छायांकन सुरु हुनेबारे आफूसमेत स्पष्ट नभएको बताएका थिए । छायांकन सुरु हुनेबारे आफू आशावादी रहेपनि निर्माताले आफूलाई यसबारे केही नबताएको उनको गुनासो थियो । ‘सत्यम्’ चाँडै सुरु नभए आफूले निर्देशन गर्ने फिल्मलाई अघि बढाउने हमालको संकेत थियो ।

‘सत्यम्’बाट निर्देशक शंकर कार्की बाहिरएको भन्ने हल्लालाई खण्डन गर्दै सापकोटाले निर्माता तितरबितर भएको कुरा चाहिं स्वीकार गरे । गणेश पौडेल र श्याम मल्लसँग मिलेर रेशमले फिल्म बनाउने योजना बनाएका थिए, तर उनीहरु पछाडि हटेको उनले संकेत गरे ।

८ करोड रुपैयाँ बजेट दाबी गरिएको फिल्मको कार्यशालामा भाग लिएर अभिनेत्री मलिका महतले प्रोजेक्ट छाड्ने निधो गरेकी थिइन् । त्यसपछि उपासना सिंह ठकुरीलाई अनुबन्धित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?