+
+

किलचोक अकला मन्दिर : जहाँ आफैं शंखघण्ट बज्ने विश्वास गरिन्छ

तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । देवीका प्राकृति रुपमा नै शिलामा कुँदिएका मूर्तिसँगै सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृतिले यहाँ आउने जो कोही दङ्ग पर्छन् ।

रासस रासस
२०७८ चैत १७ गते १०:५८

१७ चैत, गण्डकी । तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । देवीका प्राकृति रुपमा नै शिलामा कुँदिएका मूर्तिसँगै सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृतिले यहाँ आउने जो कोही दङ्ग पर्छन् ।

मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रुपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खालगायतका स्थानबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी पोष्टमान श्रेष्ठले जानकारी दिए।

मन्दिरको महिमा र गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५५ मा योगी नरहरिनाथले ८५औँ कोटीहोम लगाउनुभएको थियो । समय–समयमा अकला मन्दिरमा आउने साधुसन्तले यस तीर्थस्थलको विशिष्ट महत्व रहेको बताउने गरेको स्थानीयवासी बताउँछन् ।

गत चैत १२ गते पुर्ननिर्मित अकला मन्दिरको उद्घाटन समारोहमा भारतको काशीदेखि आउनुभएका जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले यस तीर्थस्थलको विशिष्ट महिमा रहेको बताए ।

मन्दिरको महत्वसँगै यस आसपासको क्षेत्रलाई शिक्षा, योग, आयुर्वेद आदिको केन्द्रका रुपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए । नवनिर्मित मन्दिरको गण्डकी प्रदेशका मुख्यमनत्री कृष्णचन्द्र नेपाली पोखरेल र जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले यस क्षेत्रको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि स्थानीय जागरुकता आवश्यक भएकोमा जोड दिए ।

अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शङ्खघण्ट बज्ने गरेको विश्वासका कारण पनि यहाँको महत्व चुलिएको स्थानीयवासी चिरञ्जीवी वाग्लेले बताए । २०४८ सालमा मन्दिरमा पाठपरायण गर्दै गर्दा मन्दिरको घण्टा झण्डै ४५ मिनेटसम्म आफैँं हल्लिएको प्रत्यक्ष देखेको उनको भनाइ छ ।

उनका अनुसार मन्दिर परिसरमा रहेको कटहरको बोटमा बाह्रैमहिना कटहर फल्नुलाई पनि यहाँको शक्तिका रुपमा लिने गरिएको छ । त्यस्तै मन्दिरको पारी रहेको रुद्रदेवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नुलाई पनि दैवी शक्तिका रुपमा लिने गरिएको उनले बताए ।

मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँसहित आसपासका कास्की, स्याङ्जा, लमजुङलगायतका स्थानबाट दर्शनार्थी भाकलसहित पूजाआजा गर्न आउने गरेका छन् ।

मन्दिरको महिमा र गरिमा उँचो बनाउँदै यहाँको धार्मिक पर्यटकीय विकास एवं अकलादेवी र रुद्रदेवी मन्दिरको स्तरोन्नति गर्न २०७४ चैत २५ गतेबाट २०७५ वैशाख ३ गतेसम्म श्रीमद् देवीभागवत विराट धनधान्याचल ज्ञान महायज्ञ गरिएको थियो ।

रुद्रभिषेक, सप्तशति पाठपरायण, हवन, तुलादान, विषुशान्ति तथा ज्ञानमहायज्ञमा कथावाचक व्यास पण्डित पुरुषोत्तम वस्यालको प्रमुख वाचकत्वमा भएको थियो उक्त महायज्ञमा रु ८७ लाख ५३ हजार ८४ रुपयाँ चौसठ्ठी पैसा सङ्कलन भएको मन्दिर निर्माण समितिका सदस्य जानकी थापाले जानकारी दिए ।

मन्दिरसहित शिवालय, सत्तल आदि निर्माणमा हालसम्म झण्डै रु दुई करोड खर्च भएको जानकारी दिँदै उहाँले महायज्ञमा सङ्कलित रकमसहित गण्डकी प्रदेश सरकारबाट रु ४० लाख एवं गाउँपालिका तथा वडा कार्यलयबाट सहयोग प्राप्त भएको बताए ।

‘मन्दिरको प्रवर्द्धन गर्दै यहाँको धार्मिक पर्यटकीय महत्वलाई प्रचारप्रसार गर्न जरुरी देखिएको छ’, उनले भने, ‘मन्दिरसम्म आउने सडकमार्गलाई व्यवस्थित गर्दै मन्दिर आसपासमा अत्यावश्यकीय पूर्वाधार विकास गर्न सके यो स्थल धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने पक्का छ।’

परापूर्व कालदेखि व्यक्तिगत वा पारिवारिक जस्तोसुकै समस्यामा पनि अकलादेवीलाई सम्झेपछि समस्या समाधान हुने, बोली आउन नसकेका बालबालिकाको बोली आउने आदि विश्वासका कारण पनि यस तीर्थस्थलप्रतिको आस्था एवं विश्वास निरन्तर रहँदै आएको स्थानीयवासी बताउँछन् ।

पूर्वाधार विकाससँगै आवश्यक प्रचारप्रसार गरी यस तीर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै यससँग उत्पादनलाई पनि जोड्न सकिने उनीहरूको तर्क छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?