+
+

आर्मीले अन्तर्राष्ट्रिय हाइ अल्टिच्युड ट्राइ–एडभेन्चर प्रतियोगिता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १३:३८

१८ चैत, काठमाडौं । नेपाली सेनाले क्लाइम्बिङ, दौड र साइक्लिङ विधा समावेश गरी हाइ अल्टिच्युड ट्राइ–एडभेन्चर खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ ७ गते मुस्ताङमा प्रतियोगिता सन्चालन गर्ने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा नेपाली सेनाको शारीरिक सुगठन तथा तालिम केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले प्राकृतिक रुपमै उपयुक्त भौगोलिक वातावरणमा हाइल अल्टिच्युड एडभेन्चर खेलकुदको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

यसअघि २०७४ र २०७५ सालमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेको आर्मीले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । यसपल्ट श्रीलंका, बंगलादेश, चीन, अमेरिका, बेलायत, भारत, पाकिस्तान, दक्षिण कोरिया, इजरायल र माल्दिभ्सबाट मिलिटरी टिमको सहभागिता रहने सेनाले जानकारी दिएको छ । त्यसबाहेक नेपालबाट सिभिलसमेत गरी १५ टिमको सहभागिता रहनेछ ।

१०० मिटर क्लाइम्बिङ, ४.७५ किलोमिटर दौड र १५.३५ किलोमिटर साइक्लिङ विधा समावेश गरिएको छ । प्रतिस्पर्धाको सुरुआती र अन्तिम विन्दू एकै ठाउँमा रहने व्यवस्था मिलाइएको छ । एउटा टोलीमा २ जना खेलाडी रहनेछन् । टिमका दुवै खेलाडीले एकै समयमा सबै विधा पूरा गर्नुपर्ने नियम तोकिएको छ । दुईमध्ये एउटा खेलाडीले खेल पूरा गर्न नसकेको अवस्थामा टिमलाई मान्यता नदिइने आर्मीका एडभेन्चर खेलकुद प्रमुख सेनानी राजीव चन्दले जानकारी दिए ।

प्रतियोगितामा उपाधि विजेताले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । एडभेन्चर स्पोर्टसमा महिलाको सहभागिता न्यून हुने भएकाले उनीहरुको प्रोत्साहनका लागि महिलातर्फ छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । महिलातर्फ विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विदेशीबाट आमन्त्रित टिममा भने पुरुष खेलाडीको मात्र सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागिताका लागि आर्मीले हाई अल्टिच्युडमा प्रतिस्पर्धा गर्न सक्ने प्रतिस्पर्धी छनोट गर्ने बताएको छ । छनोट भएकाहरुलाई हाइ अल्टिच्युडमा घुलमिल हुनका लागि विदेशी खेलाडीको हकमा ६ दिन र नेपाली खेलाडीका लागि ३ दिनअघि नै खेलस्थलमा पु¥याइने व्यवस्था मिलाएको सेनानी चन्दले जानकारी दिएका छन् ।

आर्मीको यो प्रतियोगिताका लागि राष्ट्रिय वा अन्तर्राष्ट्रिय एडभेन्चर खेलकुद संस्थासँग समन्वय गरेको छैन । यसअघिको अनुभवका आधारमा आफैंले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको महासेनानी बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?