+
+

सम्झना कप टेबल टेनिसमा स्यान्टु र त्रिशा च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते १८:४६

काठमाडौं । नेपाल प्रहरी क्लबका स्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा स्यान्टु तथा महिलामा त्रिशा च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा स्यान्टुले भर्चुएस, भारतका स्वार्नेन्दु चौधरीलाई ६–११, ११–३, ११–९, १३–११ र ११–४ को सेटमा पराजित गरे । बैंक अफ बरोडा, भारतका नितिन र श्रीकृष्ण अरुणचलम तेस्रो भए ।

सम्झना ल्याबको प्रमुख प्रायोजनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स फाइनलमा त्रिशाले गाजियाबाद, भारतकी अभानी त्रिपाठीलाई ११–७, ११–९, ८–११, ११–६ र ११–५ को सेटमा हराइन् । गाजियाबादकी तनिशा मोलानी र एजीएकी फिल्जाह फतिमा तेस्रो बने । पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०–१० हजार नगद पुरस्कार प्राप्त गरे ।

विभिन्न ६ स्पर्धा समावेश प्रतियोगितामा नेपाली तथा भारतीय टोली समान ३ स्वर्ण जिते । भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङ क्लब, नेपालका चन्दन शाही तथा ५५ वर्षमाथि एनिजकै राजन सुब्बाले स्वर्ण जितेका थिए । बैंक अफ बरोडाले पुरुष/महिला दुवैको टिम इभेन्टमा पहिलो स्थान हात पार्‍यो ।

टिममा शीर्ष तीन स्थान हात पार्नेलाई पनि सिंगल्स सरह नै नगद पुरस्कार प्रदान गरियो । भेट्रानमा पहिलोले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार जिते ।

विजेतालाई बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जन, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, आयोजक क्लबका अध्यक्ष उर्दिप जोशी, सम्झना ल्याबकी निर्देशक रजना श्रेष्ठ जोशी, स्पिन इभेन्ट प्रालिका अध्यक्ष सुमन शाक्यलगायतले पुरस्कृत गरे ।

सो अवसरमा दक्षिण एसियाली खेलकुदको टेबल टेनिसको टिम इभेन्टमा स्वर्ण जितेकी सिजरिन शाहलाई आयोजकले ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको थियो ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?