+
+
इन्धन हड्तालमा सरकारको लाचारी :

उपभोक्ता लाइनमा, निगमका हाकिम दिल्लीमा

कमिसन बढाउन माग गर्दै व्यवसायी आन्दोलनमा रहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमका उच्च अधिकारीहरु भने प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा छन् । यता उपभोक्ता भने पेट्रोल नपाइने त्रासमा दिनभर चर्को घाममा पेट्रोल पम्प अगाडि लाइन लागेका छन् ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ चैत १९ गते २१:१३

१९ चैत, काठमाडौं । शुक्रबार साँझदेखि नेपालका पेट्रोल पम्पहरुमा सुरु भएको सवारीको लाइन शनिबार झन् बढ्यो । पेट्रोलियम ढुवानी व्यवसायीले इन्धनको ढुवानी रोकेपछि बजारमा डिजल, पेट्रोल र खाना पकाउने ग्यास किन्न उपभोक्ता लामो लाइनमा बसे ।

निगमका अनुसार व्यवसायीको आन्दोलनका कारण देशैभर शुक्रबार इन्धनको ढुवानी ठप्प रह्यो । अभाव चर्किने त्रासले देशभरमा पेट्रोल पम्पमा तेल भर्नेको लाइन लाग्यो भने मौज्दात सकिएको भन्दै कतिपय पेट्रोल पम्प बन्द रहे ।

कमिसन बढाउन माग गर्दै व्यवसायी आन्दोलनमा रहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमका उच्च अधिकारीहरु भने प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा छन् । उपभोक्ता लाइनमा लागिरहँदा सरकारले समस्या समाधानमा गम्भीरता देखाएको छैन भने अवैध तथा गैरजिम्मेवर तवरले आन्दोलन गरिरहेका व्यवसायीहरु आन्दोलन नरोक्ने अडानमा कायमै छन् ।

इन्धन ढुवानीजस्तो अत्यावश्यक सेवामा हड्ताल गरेका पेट्रोलियम ढुवानी व्यवसायीमाथि सरकार पनि नतमस्तक देखिएको छ । कानुन प्रयोग गरेर डण्डा चलाउने हो भने सरकारले उनीहरुलाई तुरुन्तै पक्राउ गरेर फौजदारी कसुर लागाउन सक्छ । तर, न नेपाल आयल निगम व्यवसायीको मागमा सुनुवाइ गरेर निकास निकाल्न सहमत भएको छ, न हड्ताल गर्नेमाथि गृह प्रशासनले कडा कदम चाल्न सकेको छ ।

अत्यावश्यक सेवा ऐन–२०२१ अनुसार सरकारले पेट्रोलियम पदार्थ अत्यावश्यक सेवामा सूचीकृत गरेको छ । ऐन अन्तर्गत निषेध गरिएको कुनै हडताल कुनै व्यक्तिले गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई ६ महिनासम्म कैद वा दुई सय रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । यो ऐन अन्तर्गत निषेध गरिएको कुनै हड्ताल गर्न वा त्यसमा भाग लिन भाग लिई राख्न कुनै व्यक्तिले अरुलाई दुरुत्साहन गरेमा एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुबै सजाय हुन सक्नेछ ।

तर, कानुनी कारवाही अघि बढाउनुको साटो कार्यबाहक प्रधानन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले शनिबार पेट्रोलियम ढुवानी महासंघका महासचिव विश्व अर्याललाई फोन गरेर आन्दोलन रोक्न आग्रह गरेका छन् । पेट्रोलियम व्यवसायीका नेतासमेत रहेका अर्याल नेपाली कांग्रेस धादिङका नेता पनि भएकाले कारवाहीको सम्भवना छैन ।

मन्त्री खाँणले नेतृत्वविहीन रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित नेपाल आयल निगमलाई पनि इन्धन आपूर्तिको समस्या सुल्झाउन आग्रह गरेको गृहमन्त्रीकै सचिवालयले जनाएको छ । तर, कार्यवाहक प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्वयन गर्न सक्ने खालका अधिकारीहरु मन्त्रालय र निगम अहिले छैनन् ।

व्यवसायीले अल्टिमेटम दिएका कारण शुक्रबारदेखि इन्धन अभाव चर्किने जान्दा जान्दै निगमका सबै उच्च अधिकारी भने भारत भ्रमणमा गएका हुन् । आयल निगमका अध्यक्ष एवम् वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयसहित निगमका कार्यकारी निर्देशक उमेश थानी, उपकार्यकारी निर्देशकद्वय सुशील भट्टराई र नागेन्द्र साह तथा वितरण विभाग प्रमुख दीपक बराल यतिबेला दिल्ली पुगेका छन् । सचिव पाण्डेय भारतीय आयल कर्पोरेसन आईओसीसँग पेट्रोलियम खरिदको सम्झौता र विज्ञता आदानप्रदानको सम्झौताको हस्तक्षरकर्ता पनि भएकाले त्यहाँ पुगेका हुन् ।

तर, निगमका प्रमुख मात्रै नभएर उनीभन्दा तल्लो तहका अधिकारीहरु अत्यावश्यक नभएपनि भारत भ्रमणका लागि गएका हुन् । बराल बुधबार नै दिल्ली गएका थिए भने कार्यकारी निर्देशक थानी र उपकार्यकारी निर्देशकद्वय भट्टराई र साह बिहीबार दिल्ली उडेका थिए । सचिव पाण्डेय भने प्रधानमन्त्रीकौ टोलीमा शुक्रबार दिल्ली उडेका हुन् ।

नेपालमा पेट्रोलियम ढुवानी रोकिने जान्दा जान्दै निर्णायक तहका सबै अधिकारी भारत गएपछि व्यवसायीसँग भएको छलफल निष्कर्षमा पुग्न नसकेको निगमका एक अधिकारीले बताए । अहिले निर्देशक तथा इन्जिनियर वीरेन्द्र गोइत निगमको निमित्त कार्यकारी निर्देशक तोकिएका छन् ।

‘गोइत सरको तहबाट यो समस्या समाधान हुन सक्दैन,’ निगमका एक अधिकारी भने,‘यता जनता आताल्लिएका छन्, जिम्मेवार व्यक्ति सबै दिल्लीको मेजमानीमा छन् । कम्तीमा एक जना उपकार्यकारी निर्देशक बस्दिनुभएको भए यो अवस्था आउँदैन थियो ।’

हरेक पाँच वर्षमा नवीकरण हुने सम्झौता भएकाले सबै उच्च अधिकारीहरु जानुपर्ने अवस्था नहरहेको उनको तर्क छ । भारत भ्रमणमा रहेका निगमका अधिकारी आइतबार मात्रै काठमाडौं फर्कने कार्यक्रम छ ।

त्यसैले यो समस्या सोमबारसम्म पनि समाधान हुन मुश्किल रहेको निगम स्रोतले बतायो । ‘वार्ता त भइरहेको छ, शुक्रबार त छलफलमा उच्च अधिकारीहरु नदेखेपछि व्यवसायी त्यसै फर्किएका थिए,’ स्रोत भन्छ,‘आज रातिसम्म कुनै निकास निस्किने अपेक्षामा छौं ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?