+
+

ज्ञान, सीप र कर्मको संगम : शुभम फाउन्डेसन

जगबहादुर बुढा जगबहादुर बुढा
२०७८ चैत २१ गते १७:०५

पूर्वी नेपाल यात्राको क्रममा हामी चारजना दौंतरी (प्रो.बालकृष्ण माबुहाङ, डा. उद्धव राई, दिल विक्रम आङदेम्बे र म) खाँदबारीबाट छुट्टियौं। छुट्टिने क्रममा दिलविक्रमजी धरान लागे भने प्रो. बालकृष्ण माबुहाङ बसन्तपुरतिर। म र डा.उद्धव राई भने भोजपुरहुँदै खोटाङ दिक्तेल नजिक रहेको शुभम फाउन्डेसन भ्रमण गरेर काठमाडौं फर्किने योजनालाई पछ्याउन थाल्यौं।

नेपालका एक चिरपरिचित कृषि वैज्ञानिक मदन राईले स्थापना गरेको शुभद्रा-मदन फाउन्डेसन (शुभम) ले नेपालमा स्थापित परम्परागत शैक्षिक प्रणालीको विकल्पको रूपमा सीप र ज्ञान सँगसँगै भन्ने मूल नाराका साथ स्थापित शुभम फाउन्डेसनको बारेमा आमसञ्चारमाध्यमबाट थाहा पाएदेखि नै एकपल्ट त्यहाँ पुग्ने मेरो इच्छा थियो।

त्यही इच्छालाई यस वर्ष आदरणीय गुरु डा. उद्धव राईले पुर्‍याउन सहयोग गरे। हाम्रो योजना अनुरूप खाँदबारीबाट भोजपुर छिनामखु पुग्यौं। त्यो डा.उद्धव राई सरको गाउँ। छिनामखुमा हामी उद्धव सरको काका र भतिजीको घरमा दुई दिन पाहुना भयौं।

छिनामखु गाउँबाट खोटाङ (दिक्तेल) जाने गाडी भेट्टाउन करिब डेढ घन्टाको उकालो चढेर चौरेली (जिरो पोइन्ट) सम्म पुग्नुपर्ने थियो। हामी पुरानो बाटो झरेर त्यो मूलबाटो पछ्याउन थाल्यौं।

जहाँबाट पहिले पहिले पूर्वका राई लिम्बूहरू ढाकर बोकी धरान–धनकुटा झर्थे। अहिले सडक पुगेकोले ती पुरानो गोरेटो बाटोहरूमा झाडी लागेको थियो। विशेषगरी बाटो-बाटोमा बनाइएका बिसौनी, चौतारा बस्ने मान्छे नपाएर छपक्कै झाडीहरूले ढाकिएका थिए।

सायद अब ती ऐतिहासिक बाटोहरूमा ढाकर बोकेर कोही हिंड्ने छैनन्। मलाई लाग्यो, यी ऐतिहासिक मूल बाटालाई एकीकृत रूपमा ‘द ग्रेट साल्ट ट्रेड ट्रेल’ को रूपमा विकास गरी पर्यटनसँग जोड्न सके एकातिर संरक्षण पनि हुन्थ्यो भने अर्कोतिर आन्तरिक पर्यटन प्रवर्धन गर्न सकिन्थ्यो कि ?

पछिल्लो समय नेपालमा आन्तरिक पर्यटकहरू घुम्ने ट्रेन्डको विकास हुँदैछ। त्यसअनुरूप विभिन्न ट्रेकिङ ट्रेलसँगै सांस्कृतिक ट्रेलहरूको विकास गर्दै लैजान सके त्यसले थप सम्भावना थपिंदै जानेथियो।

हामी गफिंदै चौरेली पुग्दा बिहानको नौ बजेको थियो। भोजपुरबाट हिंडेको गाडी नौ बजे पुग्छ भन्ने सूचना थियो। तर त्यहाँ पुग्दा १० बजेतिर मात्र पुग्ने जानकारी पायौं। त्यहाँबाट माथि चखेवा भन्ज्याङसम्म हिंडेर जाने र त्यहीं खाना खाँदै गाडी पर्खिने निधो गर्‍यौं। चार किलोमिटर बाटो छिचोलेर चखेवा भन्ज्याङको चखेवा होटलमा खाना खाँदै बस पर्खियौं।

हामीसँगै ‘सेन्मिखा’ भाइ पनि थियो। विद्या चापागाईंले हेर्ने कथामा प्रस्तुत ‘सेन्मिखाको कथा’ एपिसोडका नायक। राई भाषामा ‘सेन्मी’ भनेको सपना र ‘खा’ को अर्थ देखेको अर्थात् ‘सपना देखेको’ अर्थ भन्ने लाग्दोरहेछ।

उनी अलि लजालु स्वभावका। त्यहाँ आउनेहरूले फोटो खिचेर दिक्क बनाए कि वा उनको बानी नै लजालु हो, भेउ पाउन सकिएन। जे होस्, उनी खुलेर मान्छेको अगाडि पर्न चाहँदैनथे।

त्यसैबेला होटलको बाहिरपट्टि घुम्न आएको केही हुल युवायुवतीहरू नाँच्न थाले। उनीहरूले सेन्मिखालाई सँगै नाच्न आग्रह गरे तर उनी नबोली भित्र गए। मैले एक सेल्फीको लागि गरेको आग्रह भने उनले सहर्ष स्वीकारे।

करिब १०:३० तिर बस आयो। हामीले खाना खाइसकेका थियौं। गाडीवालालाई हामीबाट अगाडि चढ्छौं भनेर हिंड्न थाल्यौं किनकि हामीलाई माथि चखेवा डाँडामा गएर टेम्केदेखि मैयुमसम्मको ‘मुन्दुम ट्रेल’ पनि हेर्नुथियो। झोला गाडीमा राखेर हिंडेको १५ मिनेटमा हामी चखेवा डाँडामा पुग्यौं।

आकाशमा बादल थियो। वारिपारिको दृश्य जति देखिए, ती पनि मनमोहक नै थिए। टेम्के डाँडादेखि मैयुम डाँडासम्मको डाँडैडाँडा भएर जाने ‘मुन्दुम ट्रेल’ बारे उक्त ट्रेलको यात्रा गरिसकेका उद्धव सरले जानकारी दिए। चखेवा डाँडाले भोजपुर र खोटाङको सिमाना छुट्याएको, डाँडाको पूर्वतिर भोजपुर र पश्चिमतिर खोटाङ।

चखेवा डाँडाबाट दृश्यावलोकन पछि हामी तल रोडमा झर्‍यौं र पुराना रिमिक्स गीत घन्किरहेको गाडीमा यात्रा सुरु गर्‍यौं। लोकल गाडी। मान्छे चढाउने र झार्ने सिलासिला जारी थियो। रोड करिब ५-६ किलोमिटर मात्र कालोपत्रे रहेछ। एक लेनको हिलाम्मे बाटोमा गाडीले हामीलाई उफार्ने र पछार्ने गर्न थाल्यो।

करिब दुई बजेतिर एक हुल मानिसहरू चढे। केहीबेर पछि एकजना महिलाले बमिट गर्न थालिन्। एउटा प्लास्टिकको थैलो भरेर फालिन्। अर्को नआउँदै उनले बाहिरै बमिट गर्न थालिन्। एकजनाको पूरै शरीर र अर्कोको झोला फोहोर भयो। केहीबेर त खैलाबैला भयो। ती पुरुष महिलालाई गाली गर्दै भन्न थाले- ‘मेरो झोलाभित्र लाखौंको सामान छ, यसलाई धोएर जस्ताको त्यस्तै नबनाए म यो गाडीबाट निक्लनै दिन्नँ।’

केही बेरपछि फेरि अर्को एक हुल मानिसहरू गाडी चढ्न लागे र तिनीहरूसँग फर्सी हालेको बोरा थियो। कन्डक्टर र अन्य मानिस फर्सी गाडीमा चढाउनुहुन्न भन्नेमा दृढ देखिए। फर्सी भएको बोरा त्यहीं छोडे र अन्य सामान हालेर चढे।

फर्सी गाडीमा किन हाल्नुहुँदैन भन्ने मेरो जिज्ञासा रह्यो। उनीहरूको जवाफ थियो- ‘गाडीमा फर्सी राखे अशुभ हुन्छ।’

एकातिर हामी कर्म र श्रम पढाउने विद्यालय हेर्न जाँदैथियौं भने अर्कोतिर गाडीमा कर्म र श्रमले उत्पादन गरेको फर्सी गाडीमा हाल्नुहुँदैन भन्ने कुरा भइरहेको थियो। मन खल्लो भयो। यी र यस्तै सोच्दै जाँदा गाडीबाट झर्ने बेला भइसकेछ। दिउँसोको ४:३० बजे हामी शुभम फाउन्डेसन अगाडि झर्‍यौं।

शुभम फाउन्डेसन पुग्दा …

रोडभन्दा तल एउटा नयाँ भवन उभिएको थियो। भवनको बीचमा झुन्ड्याइएको एउटा ब्यानरमा लेखिएको थियो- ‘कृषि पर्यटन प्रवर्धन कार्यक्रम व्यापार तथा सेवा घर।’
भवनको दायाँ र बायाँ सुन्दर फूलको बगैंचा थियो। दायाँपट्टिको गेट नजिक शुभमको बोर्ड थियो।

हामी बायाँपट्टिको फूलको बगैंचा छेउको सिंढी हुँदै तल झर्दै थियौं। त्यत्तिकैमा माथिबाट आइरहेकी एउटी नानीलाई सोध्यौं- सुजना थापा मेडम कता हुनुहुन्छ ? उनले तल अफिसमा रहेको सूचना दिइन्।

केही हुल केटाकेटीहरू तल चौरमा खेलिरहेका थिए। चौरको एकतिर रोटेपिङ पनि थियो भने एकातिर लस्करै तीनवटा सोलार कुकरहरू थिए। केहीबेरमा रेजिना थापा आइन्। हामीले एकअर्कालाई चिनाएपछि हामी सुत्ने कोठामा गयौं। त्यो त मदन सर सुत्ने कोठासँगै जोडिएको रहेछ।

हामी पनि केहीबेर फ्रेस भएर कार्यालयतिर उक्लियौं। कार्यालयभन्दा तल केही काठका घरका भित्तामा अंग्रेजीमा लेखिएका बोर्डहरू पढ्यौं। कुनापट्टि रहेको अलि ठूलो बोर्डले हाम्रो ध्यान खिच्यो, जहाँ तीन शिक्षाको कुरा लेखिएको थियो। पहिलो- संसारको लागि- वातावरण शिक्षा (गुहु, मुत र पसिना), दोस्रो- राष्ट्रको लागि अर्थतन्त्र शिक्षा (कृषि, उद्योग, व्यापार र सेवा) र, तेस्रो- व्यक्तिका लागि- योग्यता शिक्षा (ज्ञान, बुद्धि, विवेक, सीप)।

त्यसपछि हामी अझ माथि उक्लियौं। माथि चौरको बायाँपट्टि दुईवटा ढोकाहरू थियो। हामी एकछिन अकमक्क भएर यताउति हेरिरह्यौं। ढोका खोलेर हेर्दा विद्यार्थी भाइबहिनीको डाइनिङ हल र भान्सा रहेछ। त्यहाँ लस्करै ग्याँस चुलो, फ्रिज, किचन, दराज र बीचमा डाइनिङ टेबल थियो।

दायाँपट्टि छेउमा एउटा टेबलमाथि एउटा ल्यापटप थियो। सबै विद्यार्थी भाइबहिनी आफ्नो काममा व्यस्त थिए। कोही झाडु लगाउँदै थिए। कोही चामल जोख्दै भने कोही आलु जोख्दै थिए। मलाई त कुनै मौरीको घारको अवलोकन गरेको जस्तै महसुस भयो। जसरी एउटा मौरीको घारमा प्रत्येक मौरीको आ-आफ्नो जिम्मेवारीसहित फूलको रस खोज्न निस्किन्छन्, त्यसरी नै शुभममा विद्यार्थी आ-आफ्नो धुनमा काममा व्यस्त थिए।

हामी कुर्सीमा बसेर त्यहाँको क्रियाकलाप नियालिरह्यौं। त्यत्तिकैमा एकजना बहिनीले सोधिन्- हजुरहरू के पिउनुहुन्छ, कफी कि चिया ? उद्धव सरले ब्ल्याक कफी र मैले मिल्क कफी भन्यौं। एकजना बहिनी आएर ल्यापटपमा केही टाइप गर्न थालिन्। उनले त हरेक दिन पकाउने खाद्य पदार्थको विवरण अद्यावधिक गर्ने रहिछिन्।

केहीबेर पछि आयो मिल्क र ब्ल्याक कफी साथमा भटमास र भुटेको मकै। लगत्तै पछि आयो भुइँ स्याउ (ग्राउन्ड एप्पल)। पाहुनालाई लोकल खाजा खुवाइने रहेछ। उनीहरूको सत्कारले मनै प्रफुल्लित बनायो।

खानपानपछि हामीलाई फार्म घुमाउन लगे। फार्म अवलोकन गराउने गाइडका रूपमा थिइन् सुमना सहानी। सिरहा घर भएकी सुमना स्नातक तहमा अध्ययनरत रहिछिन्। हामी उनलाई पछ्याउँदै फार्म अवलोकन गर्न थाल्यौं।

सुमनाले सुरुमा हामीलाई चारवटा पोखरी भएको ठाउँतिर लगिन्। चार पोखरीमध्ये एउटा पोखरी विद्यार्थी भाइबहिनीको स्वीमिङ पुल र बाँकी पोखरीहरू हाँस र माछापालनको लागि रहेछ। एउटा पोखरीमा तीन वटा हाँस पौडिरहेका थिए। पोखरी छेउमा तीन वटा भेडाहरू चरिरहेका थिए। बायाँपट्टि खरायोको खोर थियो। खोरभित्र खरायोहरू खेलिरहेका थिए।

पोखरीको मुन्तिर चौरमा चार वटा घोडाहरू चरिरहेका थिए। त्यहाँको दृश्य अवलोकन पश्चात उत्तरतर्फ पशुपालन गर्ने ठाउँतिर गयौं। त्यहाँ शुरुमा सुँगुर फार्म रहेछ। एकजना भाइ सुँगुरको खोर सफा गर्दै रहेछन्। सुँगुर खोर माथिपट्टि भेडाबाख्राको खोर। त्यसको बायाँपट्टि गाईको गोठ थियो। एकजना भाइ र बहिनी गाईको गोबर सोहोर्दै थिए। यी गोठसँगै जोडिएको थियो अर्को भैंसी गोठ पनि।

ती खोर र गोठको मुन्तिर थियो मल बनाउने ठाउँ। जहाँ बस्तुभाउको मलमूत्र र मानिसको मलमूत्रलाई जैविक कम्पोस्टिङ विधिबाट मल बनाइने रहेछ। बस्तुभाउको मल थुपारेर डंगुर बनाएको थियो भने मानिसको दिसालाई भने प्लाष्टिकले छोपेर राखिएको थियो।

छेउमा रहेछ पानी छान्ने एउटा सिमेन्टको खाडल। माथि बस्तुभाउहरूको पानी तथा विद्यार्थीको नुहाइधुहाइबाट आउने पानी त्यहाँबाट अझै फिल्टरका लागि तल जाने जानकारी सुमनाले दिइन्।

त्यसपछि हामी तलतिर लाग्यौं। केहीबेर हिंडेपछि एउटा पक्की घर भेटियो। यो केटाहरूको होस्टेल रहेछ। त्यो पहिला त्यस क्षेत्रको सरकारी स्कूल भवन हो जहाँ अहिले शुभममा अध्ययनरत केटाहरूको लागि होस्टेल रहेको छ। त्यो होस्टेलसँगै एउटा अर्को हल थियो जहाँ मार्शल आर्ट सिकाइन्छ।

हामी त्यहाँबाट १० मिनेट अझै तल फूल, तरकारी र धान खेततिर झर्‍यौं, जहाँ रहेका तीन वटा टनेलहरूमा गोलभेंडा रोपेको रहेछ। लटरम्म फलेका गोलभेंडा हेर्दै हामी अझै तल झर्‍यौं। त्यहाँ त रंगीबिरङ्गी फूलहरू सयपत्री, लट्टे, गोदावरी र तोरीहरू फुलेर एउटा अद्भुत सौन्दर्य सिर्जित थियो।


त्यसको दायाँपट्टि लहलह झुलेको धान खेत जहाँ विद्यार्थी भाइबहिनी घाँस काटिरहेका थिए। माथिपट्टि केही विद्यार्थी भाइबहिनी मूला रोप्न ब्याड तयार गरिरहेका थिए। तलतिर दुईवटा भवनहरू थियो, त्यसको पछाडि भिण्डी र डल्ले खुर्सानी लटरम्म फलेका थिए। त्यहाँबाट हामी माथि फर्कियौं।

हामीलाई अब प्रविधि विभागमा लगियो। सुरुमा हामीले विभिन्न खालका मिलहरू हेर्‍यौं। त्यसपछि तारजालीहरू बनाउने मेसिन हेर्‍यौं। लगत्तै दिसा र पिसाब संकलन क्षेत्रतिर गयौं जसलाई शौचालयसँग जोडिएको थियो।

शौचालयबाट आएको पिसाब बाल्टीमा सीधै जम्मा हुने व्यवस्था गरिएको रहेछ। शौचालयमा पनि दिसा र पिसाबको छुट्टै कलेक्सन हुने गरी निर्माण गरिएको थियो। विद्यार्थीको शौच र पिसाबबाट मल बन्ने र बोटबिरुवामा हाल्ने गरेको जानकारी पाइयो।

त्यसपछि हामी सिलाई कटाई विभागमा पुग्यौं। त्यहाँ लस्करै सिलाउने मेसिनहरू राखिएको थियो। बाहिर चौरमा एकापट्टि आस्फाल्टको पुरानो टिनका बट्टाहरू थिए, ती थोत्रो टिनहरू फूलको गमला र फोहोर संकलनको डस्ट्बिनको लागि प्रयोग गर्ने गरिएको रहेछ।


तलतिरको सबै अवलोकन पश्चात् हामी बाटो माथितिर लाग्यौं। माथि नर्सरी क्षेत्र रहेछ। रोडलाई क्रस गरेर माथि लागेपछि सुरुमा एउटा बन्दै गरेको घर भेटिन्छ। त्यो गाउँले नमूना घर हो जुन बनिरहेको थियो। हामी त्यहाँ पुग्दा एक हुल भाइबहिनी हजारी, बोटल, साबेल, बेल्चा बोकेर काम सकेर तल झर्दै थिए।

सुमना बहिनीले माथिको नर्सरीहरू सबै देखाइसकेपछि हामी कोठामा फर्कियौं। खाना पाकेपछि बोलाउने बताइएपछि हामी कोठातिर लाग्यौं। केहीबेर पछि खाना खान बोलावट भयो। भान्सामा पुग्दा विद्यार्थी भाइबहिनी कोही खाना खाँदै र कोही भाडा माझ्दै थिए।

डाइनिङ हलको अगाडिपट्टि चारजना भाइबहिनी भात, तरकारी र दाल बाँडिरहेका थिए। कोही भाइबहिनी लाइनमा उभिएका थिए। उता टेलिभिजनको स्क्रिनमा विद्यार्थी भाइबहिनीले दिनभरि गरेको कामको भिडियो देखाइरहेको थियो।

खाना खाइसकेपछि सूर्य राई (शुभम फाउन्डेसनको संस्थापक) आए। उनले शुभम फाउन्डेसनको भिजन, मिसनको बारेमा विस्तृत रूपमा सुनाए। ‘विद्यार्थीलाई आधारभूत शिक्षा दिएर सीप सिकाउने होइन रहेछ, सकिन्छ भने बच्चाबाट नै सिकाउने र सकिएन भने बाउआमाबाट छुटाउन सक्ने बेलाबाट ज्ञान र सीप सिकाउनुपर्ने रहेछ। यहाँ आवासीय रूपमा राखेर सिकाउनुपर्छ भनेर हामीले यो अभियान थालेका हौं’, राईले हामीलाई शुभमको नालीबेली बताउन थाले।

२०६५ सालबाट थालेको यो अभियान २०७० सालबाट मात्र पूर्ण रूपले अगाडि बढाउन सकेको उनको अनुभव सुन्यौं। यसबीचमा धेरै उतारचढाव आएछन्। कतिपय जिल्ला शिक्षा अधिकारीहरूले बन्द गर्न खोजे। कतिपय एनजीओहरूले बालश्रम भयो भनेर उजुरबाजुर पनि गराए। ‘यावत् प्रतिकूलताका बावजुद पनि हामी हिम्मत नहारी अगाडि बढ्यौं’, राईले भने।

ज्ञान र सीप सँगसँगै मात्र बुद्धि र विवेकको विकास हुन्छ। आगो कति तातो र हिउँ कति चिसो छोएर मात्र अनुभव गर्न सकिन्छ। त्यस्तै ज्ञान, बुद्धि र विवेकको लागि श्रम र कर्म गर्नुपर्छ। यही मान्यतामा टेकेर शुभमका अगुवाले ज्ञान र सीपसँगै कर्म पढाउन थालेका रहेछन्।

‘मदन सर, हामी दुई (म र मेरो मेडम) हाम्रो अन्य साथीहरूसहित लागिपरेका छौं’ उनले भने, ‘परम्परागत शिक्षाबाट वितृष्णा भएर अब केही परिवर्तन गर्नुपर्छ भनेर हामी लागेका हौं। यसले सबै समाधान दिन्छ दिंदैन थाहा छैन तर अहिलेको यो चरणसम्म आइपुग्दा हामी सन्तुष्ट छौं।’

करिब आधा घन्टा जति सूर्यजीसँगको गफगाफ पछि हामी सुत्न कोठातिर लाग्यौं। सूर्यजीले भोलि बिहान ५ बजे हामीलाई दिक्तेलबाट जीप लिन आउने जानकारी दिए। सुत्ने बेलामा केहीबेर शुभमको समीक्षा गर्‍यौं।

उद्धव सरले आफ्नो राय सुनाए- ‘मदन दाइले गर्न खोजेको र गरेको काम एकदम सराहनीय छ तर पनि अब यहाँ विद्यार्थीको संज्ञानात्मक परीक्षण विना ठ्याक्कै यसको प्रभाव के कस्तो हो भन्न नसकिएला।

अर्को कुरा व्यावहारिक ज्ञान र सीपसँगै शैक्षिक गुणस्तरीयता मापन गर्ने अन्तर्राष्ट्रिय मापदण्डको चारवटा प्रावधानहरू; पढ्ने (रिडिङ), लेख्ने (राइटिङ), सुन्ने (लिसनिङ) र बोल्ने (स्पिकिङ) को मापन पनि गर्नुपर्ला। तर समग्रमा मदन दाइले गरेको यो शैक्षिक अभियान र नयाँ प्रयोगलाई सलुट गर्नुपर्छ।’

उनले अझ थप्दै भने, ‘यहाँको बसाइ एक दिन मात्र कम हुने रहेछ, कम्तीमा एक हप्ता जति चाहिने रहेछ।’ सरको कुरामा सहमत हुँदै मलाई पनि केही कुरा थप्न मन लाग्यो। मदन दाइले गरिरहेको यो शैक्षिक अभियानलाई नेपाल सरकारले हातमा हात मिलाउँदै नेपालका ग्रामीण भेगहरूमा पनि यस्तै प्रकारको शैक्षिक प्रणाली अवलम्बन गर्नुपर्छ।

यसो गर्दा पढेकाले काम गर्नुहुन्न, हलो जोत्नुहुन्न, कोदालो समाउनुहुन्न भन्ने खालको मानसिकता हटाउन र सीप सिकेर काम गर्ने पद्धतिको विकास हुन्छ। अहिलेको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले मानिसलाई भ्रष्ट, काम चोर, सरकारी काम कहिले जाला घाम भन्ने मानसिकतामा अल्झाएको छ।

अहिलेको शैक्षिक पद्धतिले मानिसलाई अल्छी, झोले बनाउन भूमिका खेलेको हो कि जस्तो लाग्छ। घोक्ने र रट्ने शैक्षिक प्रणालीले मान्छेको रचनात्मक क्षमतामा तगारो लगाएको छ।

सानैबाट ज्ञान र सीपको क्षमता अभिवृद्धि गर्न सके स्वावलम्बी र कर्मयोगी, असल र सक्षम आफैंले गरिखाने नागरिक उत्पादन गर्न मद्दत पुग्छ जस्तो लाग्छ। शुभद्रा–मदन फाउन्डेसनमा कर्म पढाइँदो रहेछ। त्यहाँ विद्यार्थी आफ्नो खाद्यान्न आफैं उत्पादन गर्दा रहेछन्।

सीप र ज्ञानसँगै स्वावलम्बी र स्वाभिमानी बन्न कर्म र श्रम सिकाउँदो रहेछ। शिक्षाको चरम व्यापारीकरण भइरहेको अवस्थामा एउटा नयाँ सीप र ज्ञानसँगै वैज्ञानिक र व्यावहारिक शिक्षाको यो अभियान स्थानीय तहहरूले अवलम्बन गरी यस खालका शैक्षिक प्रणालीको विकास गर्न सके धेरै युवा विदेश पलायन हुनबाट रोक्न सकिन्छ।

आफैं उद्यम गर्ने बानीको विकास हुन्छ। अरुको जागिर होइन आफैं रोजगार सृजना गर्ने बानीको विकास हुन्छ। यी र यस्तै कुरा गर्दै हामी सुत्यौं।

(लेखक मानवशास्त्री हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?