+
+

नेपालले जित्यो टी-२० श्रृंखला, दीपेन्द्रको अलराउण्ड प्रदर्शन

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत २१ गते २०:२२

२१ चैत, काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ ।  नेपाललाई उपाधि दिलाउने क्रममा ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको अविजित ५४ रन मदद्तमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११७ रनमा अलआउट भयो ।

१३औं ओभर बन्यो टर्निङ प्वाइन्ट

१६९ रनको लक्ष्य पछ्याएको पीएनजीले पहिलो विकेट तेस्रो ओभरमा गुमाएको थियो । करण केसीले लेगा सिएकालाई व्यक्तिगत ८ रनमा आउट गर्दै नेपाललाई सफलता दिलाए ।

पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई दबावमा राखे । कप्तान असद भाला ८ र टोली उरा शुन्यमा आउट हुँदा पीएनजी २५-३ को अवस्थामा पुग्‍यो ।

चार्ल्स अमिनी र सेस बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए, तर ३२ रनको साझेदारीपछि अमिनी दशौँ ओभरमा १५ रनको व्यक्तिगत स्कोरमा आउट भए । यद्यपि १२ ओभरको समाप्तीसम्म खेल प्रतिस्पर्धामा थियो ।

पीएनजीले ४ विकेट मात्र गुमाएर ७९ रन बनाएको थियो । उसलाई जितका लागि ८ ओभरमा ८९ रनको आवश्यकता थियो र ६ विकेट बाँकी थियो ।

१३औं ओभरको बलिङमा कप्तान सन्दीप आफैं आए । २ ओभर बलिङमा कुनै सफलता नपाएका उनको यो तेश्रो ओभर थियो । १३ औं ओभरको पहिलो बलमा सन्दीपलाई रिले हुकुरेले चौका हाने । दोश्रो बलमा ४ रन बाइ भयो ।तर तेश्रो बलमा हुकुरे सन्दीपको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए ।

त्यस लगत्तैको बलमा सन्दीले नयाँ ब्याट्सम्यान नोर्मन भानुलाई डक आउट गरे । १३ औं ओभरमा १० रन लिएपनि २ बलमा लगातार २ विकेट गुमाएको पीएनजी दबाबमा पर्‍यो ।

१४ औं ओभरको तेश्रो बलमा दिपेन्द्रसिंह ऐरीले चाद सोपरलाई १ रनमा आउट गरे । जुन पीएनजीको सातौं विकेट थियो ।

त्यसपछि १६ औं ओभरको दोश्रो र अन्तिम बलमा करण केसीले विकेट लिएपछि नेपालको जित औपचारिकतामा मात्र बाँकी थियो, जुन औपचारिकता १७ औं ओभरको दोश्रो बलमा सोमपाल कामीले पूरा गरे ।

पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए ।

दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ तथा कप्तान सन्दीपले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

करणसँग जमेका दीपेन्द्रको अर्धशतक

त्यसअघि आक्रामक सुरुवात गरेको नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो । ओपनर कुशलले २२ बल खेल्दै ५ चौका मदद्तमा २५ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले भने ३ बलमा २ रन बनाएर आउट भए । क्रिजमा टिकिरहेका आसिफले दीपेन्द्रसँग मिलेर इनिङ्स सम्हाले ।

दुबैले ३८ रनको साझेदारी गरे । तर १२औं ओभरमा नेपालले लगातार तीन विकेट गुमाएपछि नेपाल दबावमा आयो ।

आसिफ २९ बल खेल्दै १ छक्काको मदद्तमा २९ रन बनाएर १२औं ओभरको पहिलो बलमा आउट भए । उक्त ओभरको तेस्रो बलमा आरिफ शेख खाता नखोली आउट भए भने पाँचौ बलमा दीलिप नाथ शून्यमै पभेलियन फर्किए ।

पीएनजीका सेमो कमिअले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे । ३ ओभरमा २८ रन खर्चेका कमिअले आफ्नो अन्तिम ओभरमा पुनरागमन गर्दै सानदार बलिङ गर्दै ३ विकेट लिएका हुन् ।

१६औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रन बनाएर आउट भए । त्यसपछि दीपेन्द्र र करण मिलेर सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे । दीपेन्द्र र करणले अन्तिम चार ओभरमा ५४ रन जोडेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाउन सक्यो ।

३८ बल खेलेका दीपेन्द्र ५ चौका मद्दतमा सर्वाधिक ५४ रनमा अविजित रहे । यस्तै करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।

नेपालका लागि आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५, रोहित पौडेलले २ रन जोडे भने आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

पीएनजीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै चाड सपर, कबुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?