+
+

चोभार सुख्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आउने भएको छ । बन्दरगाहको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम छ । बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले नेपाल भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १९:०१
फाइल तस्वीर

२१ चैत, काठमाडौं । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आउने भएको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने गरी सबै तयारी सकिएको नेपाल इन्टरमोडल यातायत विकास समितिले जनाएको छ ।

काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिने छ । जसका कारण आयात तथा निर्यात लागत समेत कम पर्ने व्यवसायीहरु बताउँछन् ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलकाअनुसार बन्दरगाह उद्घाटन कार्यक्रम मंगलबार दिउँसो २ बजेका लागि तय गरिएको छ । वीरगञ्जबाट माल वस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएको कन्टेनरलाई बन्दरगाहमा प्रधानमन्त्रीले भित्र्याएर बन्दरगाह सञ्चालनको घोषणा गरिने कार्यक्रम रहेको समितिले जनाएको छ ।

‘गत साउन निर्माण सम्पन्न भएको परियोजना सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ, भोलि प्रधानमन्त्रीले बन्दरगाह उद्घाटन गर्नुहुनेछ’ कार्यकारी निर्देशक गजुरेलले अनलाइनखबरसँग भने ।

यसअघि सरकारले बन्दरगाह सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेको थियो । बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, आन्तरिक पारीबहनको सुविधा, चार किल्ला निर्धारण, भन्सार प्रमुख नियुक्ति र सुरक्षाको प्रबन्ध बन्दरगाहमा भइसकेको छ ।

बन्दरगाहभित्र रहने भन्सार, क्वारेन्टिन र प्रशासन संरचनामा जनशक्ती परिपूर्ति भइसकेको छ । अब मंगलबारदेखि नेपाली व्यवसायीले समुन्द्री बन्दरगाह हुँदै तराईका पाँच नाकाबाट आयात गर्ने माल वस्तु बोकेको कन्टेनर सीमा क्षेत्रमा आवश्यक प्रक्रिया पुर्‍याएपछि सिधै काठमाडौं आउनेछन् ।

काठमाडौं केन्द्रित व्यवसायीका लागि निकै महत्वपूण मानिएको चोभारको सुख्खा बन्दरगाह नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा बन्दरगाह र करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण थालिएको थियो । एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।

तर वातावरण प्रदूषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिना ढिला गरी आयोजनाको शिलान्यास गरिएको थियो । स्थानीयको अवरोध र कोभिडका कारण आयोजनाले १४ महिना अनावश्यक समय गुजार्नु परेको थियो ।

तराई मधेश द्रूतमार्गको प्रवेशद्धारमै निर्माण सम्पन्न भएको बन्दरगाह सो सडकपछि अझै उपयोगी हुने अपेक्षा गरिएको छ । बन्दरगाह प्रस्तावित नेपाल भारत तथा चीन नेपाल रेल मार्गको संगम बिन्दुमा रहेको इन्टर मोडल यातायता विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?