२३ चैत, गुल्मी । गुल्मीको एउटा स्थानीय तहमा सत्ता गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने घोषणा गर्दै सिट भागबण्डा गरेका छन् ।
गठबन्धनको चुनावी घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा मालिका गाउँपालिकाको अर्खबाङ्गमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर निर्वाचनमा जाने जानकारी दिएका हुन् ।
उनीहरुबीच मालिका गाउँपालिकामा अध्यक्षसहित ३ र ८ को वडाध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको छ । कांग्रेसको भागमा उपाध्यक्षसहित ६ वटा वडाध्यक्ष परेको छ ।
कांग्रेस मालिका गाउँपालिकाका सभापति उपेन्द्र अर्यालका अनुसार गठबन्धन दलबाट नेकपा माओवादी केन्द्र मालिका गाउँ कमिटी अध्यक्ष देविराम अर्याल अध्यक्षको उम्मेदवार बन्ने छन् । कुनै पनि वडाध्यक्ष नपाएको नेकपा एकीकृत समाजवादीको भागमा भने वडासदस्यहरु मात्र परेका छन् ।
कांग्रेसले पालिकाको उपाध्यक्ष पदको उम्मेदवार भने अझै टुङ्गाएको छैन । गठबन्धन दलले लिखित रुपमा भागबन्डाको सम्झौता गरेपछि गठबन्धनको चुनाबी घोषणा कार्यक्रम अर्खबाङ्गमा आयोजना गरेका हुन् ।
मालिका गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित बिजयी हात पारेको थियो । मुख्य ३ वटा दल छुट्टा छुट्टै निर्वाचनमा गएका थिए ।
मालिका गाउँपालिकामा ०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्षमा नेकपा एमालेले ४ हजार ४२, नेपाली कांग्रेसले ३ हजार ४४७ र नेकपा माओवादी केन्द्रको २ हजार ४० मत पाएका थिए ।
प्रतिक्रिया 4