+
+

हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अलग्याउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते २२:२३

२३ चैत, हेटौंडा । हेटौंडाको एकमात्र सरकारी अस्पतालमा राजनीतिक किचलो सुरु भएको छ । बाग्मती प्रदेश सरकारले मदनभडारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालका रुपमा सञ्चालन गरेको हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गराउन गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट निर्णय भएपनि प्रमाणीकरण हुन बाँकी रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेशले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हटौंडा अस्पताललाई शिक्षण अस्पतालका रुपमा चलाउने दिने गरी भएको व्यवस्था हटाएको छ   ।

प्रदेश सरकार अन्तरगत चलिरहेको १५० बेडको हेटौंडा अस्पताल अहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत छ । अब प्रदेश सरकारले त्यहाँ अध्ययनरत स्वास्थ्यसम्बद्ध विभिन्न विषयका विद्यार्थीले भारतको संघीय सरकार मातहत रहेको भरतपुर अस्पतालमा ‘प्रयोगात्मक कार्य’ गर्नुपर्ने गरी अध्यादेश जारी गर्न लागेको छ । यो व्यवस्थाले हेटौंडामा रहेको प्रतिष्ठानको अस्पताल भरतपुर पुग्ने छ ।

प्रतिष्ठान बनेदेखि नै हेटौंडा अस्पतालमा नेकपा एमाले नेताहरुले पार्टी निकटका व्यक्तिलाई ल्याउन अनेकन पद सिर्जना गर्दै भर्ति केन्द्र बनाएको आरोप छ । शैक्षिक तथा स्वास्थ्यको केन्द्रमा एमालेले चरम राजनीतिक हस्तक्षेप बढाएपछि प्रदेश सरकारले प्रतिष्ठानलाई अस्पतालबाट अलग गराउन खोजेको मुख्यमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

‘प्रतिष्ठानमा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्न नै नसकिनेसम्मको अवस्था आएपछि उसलाई अस्पतालबाट अलग भएर आफ्नै अस्पताल खोल्न भनिएको हो,’ ती अधिकारीले भने,’उसले आफ्नै अस्पताल बनायो भने हेटौंडामा दुई वटा सुविधा सम्पन्न अस्पताल बन्छ, त्यसले जनतालाई के हानी हुन्छ र ?’ अब  प्रदेश सरकारले हेटौंडा अस्पताललाई थप व्यवस्थित गरेर चलाउने ती अधिकारीको भनाइ छ ।

चालु आर्थिक वर्ष २०७८/७९ बाट प्रतिष्ठानले हेटौंडामा स्नातक तह अन्तर्गत बी फार्मेसी, बीपीएच र बीएस्सी मेडिकल ल्याब टेक्नोलोजीको अध्यायन सुरु गरेको छ ।  विषयहरुमा अहिले ३९ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रदेश सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहतमा ल्याएर ५० शय्याबाट ३०० शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो । १५० शय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठान मातहत अस्पताल परिसरमा २०० शय्याको अर्को भवन पनि बनिरहेको छ ।

नर्सिङ विषयको अध्यापन समेत अघि बढाउने तयारी भइरहँदा प्रदेश सरकारले गरेको निर्णयले हेटौंडामा सुविधासम्पन्न अस्पताल बनाउने अभियानमा धक्का लाग्ने अवस्था आएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाइँ बताउँछन् ।

चिकित्सा शिक्षा आयोगको नियमअनुसार प्रतिष्ठान र  अस्पतालको दूरी १० किलोमिटरभन्दा बढी दूरीमा हुन नहुने भएपनि प्रदेश सरकारको निर्णयले यस्तो दूरी ७० किलोमिटर पुग्ने उनी बताउँछन् । ‘यसले प्रतिष्ठानले आफ्नै अस्पताल नबनेसम्म अहिले पहिलो वर्षमा पढिरहेकाहरुलाई दोस्रो वर्षमा पनि पढाउन नपाइने अवस्था बन्ने भयो,’ उनी भन्छन् ।

सरकारले प्रतिष्ठानलाई स्वायत्त संस्थाको रुपमा स्थापना गर्नका लागि आफ्नै अस्पतालको व्यवस्था गर्ने उद्देश्य अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश स्वीकृतिको लागि ल्याएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण प्रसाद शर्मा खनालले बताए ।

उक्त अध्यादेश प्रदेश प्रमुखले प्रमाणित गरेपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राखिएको हेटौंडा अस्पताल अलग हुने छ । मन्त्री खनालले भने ‘हेटौंडा अस्पतालमा चिकित्सा शिक्षाका अन्य विषयहरु अध्यापन गराउनको लागि पर्याप्त भौतिक संरचना र जनशक्ति नभएकाले प्रतिष्ठानबाट अलग गरिएको हो ।’ तत्कालका लागि प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक कार्यक्रमलाई बाधा नपार्नको लागि चितवनको भरतपुर अस्पतालसँग सहकार्य गर्ने प्रदेश सरकरको तयारी छ ।

तर, शिक्षण अस्पतालको रुपमा लैजाने योजनालाई प्रदेश सरकारको अध्यादेशले समस्या बनाएको प्रतिष्ठान सञ्चालक समितिका सदस्य उत्सव चौलागाइँले बताए । उनले भने ‘अहिले नै हामी नयाँ संरचना बनाएर शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्दैनौं, यो हेटौंडा बाहिर प्रतिष्ठानको कार्यक्रम लैजाने प्रयास हो ।’ प्रतिष्ठानबाट अलग गर्नेवित्तिकै हेटौंडा अस्पताल ५० शय्याको अस्पतालमा सीमित हुने र यसले स्वास्थ्य सेवा प्रवाहमा पनि असर गर्ने चौलागाइँले बताए ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पाडेलको पालामा गठन गरिएको प्रतिष्ठानको शैक्षिक कार्यक्रम हेटौंडा बाहिर लगेर प्रदेश राजधानीको स्वास्थ्य र शैक्षिक क्षेत्र कमजोर बनाउन खोजिएको भन्दै मकवानपुरको नागरिक समाज र राजनीतिक दलहरुले विरोध गरेका छन् ।

पूर्व मुख्यमन्त्री पौडेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग गर्ने निर्णय तत्काल फिर्ता हुनुपर्ने बताए । यो निर्णय तत्काल फिर्ता नभए आन्दोलन गर्ने उनले चेतावनी दिए ।

पौडेलले भने ‘पछिल्लो समयमा मकवानपुरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने लक्ष्यका साथ तत्कालीन एमाले नेतृत्वको सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने तथा यहाँको स्वास्थ्य क्षेत्र विगतको जस्तै बेकम्मा बनाउन लागिएकोमा हाम्रो आपत्ति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?