+
+

राष्ट्रिय टेबलटेनिसमा स्यान्टु र सिक्कालाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते १९:४१

२६ चैत, काठमाडौं । नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र एपीएफकी सिक्का सुवाल श्रेष्ठले केबी साम ११ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्स उपाधि जितेका छन् ।

शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन श्यान्टुले आफ्नै विभागका विनेश खनियाँलाई ७–११, ११–९, ११–९, ११–६, ७–११ र ११–९ को सेटमा पराजित गरे ।

एक हप्ताको अवधिमा स्यान्टुको यो दोस्रो उपाधि हो । यसअघि उनले चैत १९ गते चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटनिस प्रतियोगितामा भारतीय खेलाडीलाई हराउदै सिंगल्स उपाधि जितेका थिए । नेपाल आर्मी दीप साउन र एपीएफका संयोग कपाली तेस्रो भए ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा सिक्काले आर्मीकी स्वेच्छा नेम्वाङलाई ११–४, ११–४, ११–२ र ११–७ को सोझो सेटमा सहजै हराइन् ।

सिक्काको यो पहिलो सिनियर सिंगल्स उपाधि हो । आर्मीकी रविना महर्जन तथा प्रहरीकी सोनु थापा मगर तेस्रो भए । दुवै समूहको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १०/१० हजार नगद पुरस्कार प्राप्त गरे ।

ह्वीलचेयरको सिंगल्सतर्फ पुरुषमा अर्पण सुनुवार राईले प्रदीप भण्डारीलाई ८–११, ११–५ र ११–६ तथा महिलामा लाली शेर्पाले रजनी राईलाई ११–५ र ११–३ ले फाइनलमा पाखा लगाउदै स्वर्ण हात पारे ।

स्टेन्डिङको महिला सिंगल्स फाइनलमा रायकोशा शाहीले मेणुका गौतमलाई ४–११, ११–७ र ११–४ को सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारिन् । मिडियाको पुरुष सिंगल्समा हिमालय टेलिभिजनका सुमन प्रधान पहिलो, कान्तिपुर दैनिकका राजु घिसिङ दोस्रो तथा खेलपाटीका निशान राई र राजधानी दैनिकका दिलबहादुर तामाङ तेस्रो भए ।

स्कुलतर्फ आदर्श विद्या मन्दिर (एभीएम) टिम च्याम्पियन बन्यो । एभीएमले ४ स्वर्ण, ६ रजत र ५ कांस्य हात पार्‍यो ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, केबी सामका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमितकुमार बेगानी, आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चैत २१ गतेदेखि सुरु प्रतियोगितामा ३ सय ५० खेलाडीले विभिन्न ३४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?