+
+

एमालेबाट खैरहनीको मेयरमा १३ र रत्ननगरमा ६ जनाको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १०:१२

२७ चैत, चितवन । चितवनको खैरहनी नगरपालिकामा एमालेबाट १३ र रत्ननगर नगरपालिकामा ६ जनाले मेयरमा आकांक्षा राखेका छन् ।

एमाले नगर कमिटीले शुक्रबारदेखि शनिबार बिहान ११ बजेसम्म मेयर र उपमेयरमा दावी पेश गर्न तोकेको समयसीमाभित्र खैरहनीमा हालका मेयर लालमणि चौधरीदेखि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीसम्मले मेयरमा दावी पेश गरेका छन् । खैरहनीमा ६ जनाले उपमेयरमा दावी गरेका छन्

नेकपा एमाले खैरहनी नगर कमिटी उपसचिव दीपेन्द्र खरेलका अनुसार मेयरमा दाबी गर्ने अन्यमा नेकपा एमाले प्रदेश कमिटी सदस्य जगन्नाथ आचार्य, जिल्ला उपाध्यक्ष कमल पाठक, नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटी, नेताहरु भरत भण्डारी, कृष्णलाल चौधरी, विकास डल्लाकोटी, राजेन्द्रप्रसाद सिवाकोटी, अरूणकुमार उप्रेती, चन्द्रप्रसाद सापकोटा, केशव कँडेल र स्वरुप सुयाँलसमेत छन् । उनीहरु सबैले लिखित रुपमा नगर कमिटी कार्यालयमा निवेदन पेश गरेका हुन् ।

उपमेयरमा शान्ता अधिकारी, मनकुमारी अधिकारी, कविता उप्रेती, जानुका खनाल, अर्जुनकुमार सापकोटा र रेशमलाल विकले दाबी पेश गरेका नगर कमिटी उपसचिव खरेलले बताए । खैरहनीको नगर उपप्रमुखमा हाल सुनिता खरेल थपलिया छिन् । उनले भने दाबी पेश गरिनन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा खैरहनी नगरपालिकामा एमालेले मेयर र उपमेयरसहित बहुमत सदस्य जितेको थियो । एमालेबाट उम्मेदवार रहेका लालमणि चौधरी १० हजार ७१७ मत ल्याएर विजयी भएका थिए । कांग्रेसबाट मेयर उम्मेदवार रहेका राजेन्द्रप्रसाद चौधरीले ९ हजार ७३३, माओवादीका एकराज डल्लाकोटीले ३ हजार १४७ मत ल्याएका थिए । उपमेयरमा एमालेकी सुनिता खरेलले १० हजार ४५१ मत ल्याएर विजयी बन्दा कांग्रेसकी सुशीलादेवी उप्रेतीले ९ हजार ८८८ र माओवादी केन्द्रकी रेवती सेढाईले २ हजार ९२० मत ल्याएका थिए ।

१३ वटा वडा रहेको खैरहनी नगरपालिकामा वडा नं. १, ६, ७, ८, ९, १०, ११ गरी ७ वटा वडा एमालेले जित्यो भने कांग्रेसले वडा नं. २, ३, ४, ५, १२ र १३ गरी ६ वटा वडा जितेको थियो ।

रत्ननगरमा एमालेका दाबेदार

यस्तै, रत्ननगर नगरपालिकामा एमालेबाट मेयरमा छ जना र उपमेयरमा आठ जनाले दाबी पेश गरेका छन् । नेकपा एमाले रत्ननगर नगर कमिटीले शनिबार भेलाको आयोजना गरी मेयर र उपमेयरमा आकांक्षी नेताहरुलाई लिखित रुपमा दाबी प्रस्तुत गर्न आहृवान गरेको थियो ।

रत्ननगरका मेयरको लागि वर्तमान उपमेयर विमलादेवी दुवाडी, प्रदेश कमिटी सदस्यहरु राजाराम रेग्मी, प्रेमनाथ दुवाडी, पूर्व जिल्ला कमिटी सदस्य डा. किशोरचन्द्र खनाल, जिल्ला उपसचिव चन्द्रकान्त न्यौपाने र नगर कमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्यालले दाबी गरेका छन् ।

त्यस्तै उपमेयरका लागि अनेमसंघकी नगर इन्चार्ज ज्वाला पुरी वन, वडा नं १० का वडाध्यक्ष केशव आचार्य, जिल्ला सदस्य पार्वती न्यौपाने, अनेमसंघ केन्द्रीय सचिवालय सदस्य लक्ष्मीकुमारी कोइराला, वडा नं ३ का वडाध्यक्ष गुप्तानाथ भट्टराई, युवासंघका केन्द्रीय सचिव प्रताप डल्लाकोटी, जिल्ला सदस्य बिन्दा कार्की र नेता गोविन्दकृष्ण श्रेष्ठले पनि उपमेयरमा दाबेदारी पेश गरेका छन् ।

आज आइतबार मेयर र उपमेयरका आकांक्षीहरुसँग छलफल गरेर सहमतीको प्रयास गरिने एमाले रत्ननगरले जनाएको छ । पार्टी नगर कमिटीले दाबी प्रस्तुत गरेका नेताहरुलाई नगर विकासका योजनासहित आउन आग्रह गरेको छ ।

नगरप्रमुख, उपप्रमुखमा धेरैको दाबी पेश भएकाले जिल्ला हुँदै प्रदेशमा नाम सिफारिस गरिनेछ । निर्णय गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको छ ।

रत्ननगर नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा एमालेले मेयर उपमेयरसहित बहुमत सदस्यहरू जितेको थियो । एमालेका नारायण वनले १४ हजार ६७७ मत ल्याएर मेयर जित्दा कांग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत ल्याएर दोस्रो भएका थिए । माओवादीका पूर्णबहादुर अम्गाईले ३ हजार ६७१ मत ल्याएका थिए ।

उपमेयरमा एमालेकी बिमलादेवी दुवाडीले १४ हजार ४८१ मत ल्याएर विजयी बनेकी थिइन् । कांग्रेसकी निता ढकालले १२ हजार ७०३ मत ल्याउँदा माओवादीकी संगिता भट्टराईले ४ हजार २४ मत ल्याएर तेस्रो भएकी थिइन् ।

१६ वटा वडा रहेको रत्ननगरमा एमालेले १० वटा वडा र कांग्रेसले ६ वटा वडा जित्यो । वडा नं. १, २, ६, ७, ११, १२ मा कांग्रेसले जित्यो भने, वडा नं. ३, ४, ५, ८, ९, १०, १३, १४, १५ र १६ एमालेले जितेको थियो । माओवादीले भने वडा सदस्यसम्म पनि जित्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?