+
+

श्रममन्त्रीले भने -वैदेशिक रोजगारीमा जानेलाई दिइने तालिममा कडाइ हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १७:३०

२७ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन् ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतबार आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखीकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरुसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले अनिवार्यरुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइए कडा कारबाही गरिने बताए ।

श्रेष्ठले सेवाग्राहीहरुलाई प्रदान गरेको सूचना र जानकारीले वैदेशिक रोजगारी सुरक्षित र उपलब्धिमूलक हुने भएकोले पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई प्रभावकारी र समयानुकुल बनाइने बताए । अभिमुखीकरण तालीम प्रदायक संस्थाहरुलाई मर्ज गरेर स्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालिमको अभावले वैदेशिक रोजगारीका क्रममा जोखिम बढाउने भन्दै यसलाई औपचारिकतामा मात्र सीमित गर्न नहुने बताए ।

मन्त्रालयका सल्लाहकार डा.केशव बस्यालले पूर्व प्रस्थान अभिमुखिकरण तालिममा गन्तब्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानून, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयमा जानकारी दिनुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई गन्तव्य मुलुकसँग सम्बन्धित महत्वपूर्ण जानकारी, विद्यमान कानुन, धर्म, संस्कृति, रीतिरिवाज साथै केही समस्या परेमा कानुनी उपचारका लागि उपलब्ध सेवा तथा प्रक्रियाहरुको बारेमा जानकारी दिनुपर्ने सुझाव दिए ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पूर्व प्रस्थान अभिमुखिकरण तालिमको पाठ्यक्रम परिमार्जन गरी देशगत म्यानुअल तयार गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?