+
+

छेपाराहरू!

तर्क आफ्ना आफ्ना होलान्, बुझाइहरू धेरै हुन सक्छन् । तर मान्छेले यसरी रङ्ग फेरेको देखेर छेपाराहरू भने आफूभन्दा रङ्ग फेर्नमा अरु पो काबिल निस्कियो भनेर आश्चर्य मान्दा हुन् ।

डा. टीकाराम पोखरेल डा. टीकाराम पोखरेल
२०७८ चैत २८ गते १६:४८

छेपाराहरू रङ्ग फेर्छन्, यो उनीहरूको मौलिकता हो । जुन छेपारो रङ्ग फेर्न सक्तैन, त्यो छेपारो के छेपारो ? छेपाराहरू जति छिटोछिटो रङ्ग फेर्छन्, त्यति नै उनीहरू गर्व गर्छन् । अलि ढीलो रङ्ग फेर्ने छेपाराहरू हीनताबोध गर्छन् । त्यसैले छेपाराहरूले आफ्नो सम्पूर्ण शक्ति आफ्नो रङ्ग फेर्ने कलामा लगानी गरेका हुन्छन् ।

छेपाराहरू जङ्गलमा बस्छन्, बुट्यानमा भेटिन्छन्, झाडीमा कुदिरहन्छन् । तर आजकल छेपाराहरू वनजङ्गल र बुट्यानमा मात्र बस्दैनन् । छेपाराहरू शहरमा भेटिन्छन्, गाउँमा भेटिन्छन्, टोलमा भेटिन्छन्, घरमा भेटिन्छन्, अफिसमा भेटिन्छन्, राजनीतिमा भेटिन्छन्, प्रशासनमा भेटिन्छन्, व्यापारीको रूपमा भेटिन्छन्, साधुको भेषमा देखिन्छन् । जहाँ पनि भेटिन्छन् छेपाराहरू । कहाँ छैनन् छेपाराहरू ?

मेरो टोलमा एकजना मध्यम स्तरका नेता थिए, अझै पनि छन् । कुनै सार्वजनिक कार्यक्रममा आफूलाई चिनाउँदा प्रगतिशील चिन्तक हुँ भन्थे, तर पार्टीका नेताको घरदैलो चहार्थे । कहिलेकाहिँ बिहान ‘मर्निङ वाक’ तिर भेट्दा ‘गुड मर्निङ’ दाइ भन्यो भने ठुस्स परेर ‘गुडमर्निङ, गुडमर्निङ’ भन्दै अगाडि बढ्थे ।

तर लालसलाम कमरेड ! भनिदिनुपथ्र्यो उनको नाक घिरौँला जत्रो हुन्थ्यो । हतार हतार अगडि बढेर हात मिलाउँथे । हात यति जोडले मिलाउँथे कि, आफूले पनि हात अलि दह्रो नगर्ने हो भने लुलो हात घाइते हुन बेर लाग्दैनथ्यो ।

स्थानीय तहको निर्वाचन घोषणा भएपछि फेरि ती नेतालाई मैले एकदिन ‘मर्निङ वाक’मा भेटेँ । सदा झैँ लालसलाम कमरेड ! भनेको त उनले मलाई घुरेर हेरे । अनि केही उत्तर नफर्काइ अगाडि बढे । मसँगै वाकमा हिँड्ने एकजना साथीले भन्दा पो म छक्क परेँ । उनी त लालसलाम कमरेड भन्नुपर्ने ठाँउबाट जय नेपाल दाइ ! भन्नुपर्ने ठाउँमा पो पुगिसकेछन् । नेताजीको कित्ता परिवर्तन भएछ । नेताजीको रातो रङ्ग हरियो भैसकेको रहेछ । स्थानीय चुनावले नेतालाई अर्कै रङ्गको बनाइदिएछ ।

भोलिपल्टबाट म पनि उनलाई भेट्नासाथ हतारहतार जय नेपाल दाइ ! भन्न थालेँ । उनको नाक फेरि घिरौँला जत्रो भैहाल्यो । अचम्म त के भने जुन दिन उनी लाल सलामबाट जय नेपाल भए, त्यही दिन पल्लो टोलको गत चुनावको उनकै प्रतिस्पर्धी एक नेता चाहिँ जय नेपाल छोडेर लालसलाम भएछ । रङ्गहरूको महिमा यहाँभन्दा बढी के हुन्छ ?

लालसलामवाला नेताजीहरू रङ्ग बदलेर जयनेपाल भएको र जयनेपालहरू लालसलाम भएकमो कहानीले मेरो मानसपटलमा छेपारा साम्राज्यले डेरा जमायो । दिमाग पत्रपत्रिकाका, अनलाइन, टेलिभिजन र रेडियोतिर गोरुआँखे अक्षरमा छापिने र कानै फुट्ने आवाजमा फुकिने समाचारतिर गयो ।

हो त है, आजकल प्रायः अधिकांश समाचार यस्तैयस्तै हुन्छन् । ऊ पार्टीको फलानो तहको नेता ऊ पार्टीमा प्रवेश गर्‍यो । अनि ऊ पार्टीको नेता चाँहि ऊ पार्टीमा गयो । पार्टी प्रवेश गराउन केन्द्रका नेता हेलिकप्टर चढेर जिल्ला गए । रातोवाला नेता हरियो भयोे, हरियोवाला नेता रातो बन्यो । नीलोवाला पहेँलो भयो, पहेँलोवाला नीलोतिर गयो । उताको रङ्ग बदलेर यता आयो, यताको रङ्ग बदलेर उता गयो ।

गाउँबाट हिजो पल्लोघरको साइँलाले फोन गर्‍यो । भन्यो– ‘दाइ ! हाम्रा बाले त पार्टी परिवर्तन गरे नि । काठमाडौँदेखि ठूला नेताहरू आएर माला लगाएर हाम्रा बालाई आफ्नो पार्टीमा स्वागत गरेर भित्र्याए । फेसबुकमा फोटो पनि हालेका छन् बाले, हेर्नु भो नि ?’

साँइलो लगातार भन्दै गयो– ‘दाइ ! बाले माला मात्र लगाएको हो र, भाषण पनि गरे । हाम्रा बाले आफ्नो पहिलेको पार्टीलाई गाली गरेको र नयाँ पार्टीको प्रसंशा गरेको सुन्दा त दाइ म त हेरेको हेरेकै भएँ । हाम्रा बालाई पनि पो भाषण गर्न आउँदो रहेछ गाँठे ।’

साइँलाको कुरा सुनेपछि मलाई लाग्यो, विचारा ती साइँलाका बा, हाम्रा माइलाबाउ । तिनलाई न पार्टीको दर्शन थाहा छ, न सिद्धान्तका ठ्यासफू । न कुनै पार्टीका आदर्श जान्दछन्, न तिनले कुनै पार्टीका चुनावी घोषणापत्र पढेका छन् । दर्शन, आदर्श, सिद्धान्त र घोषणपत्र नजाने पनि साइँलाका बालाई आफूले छोडेको पार्टीको र आफूले प्रवेश गरेको पार्टीकोे नाम, चुनाव चिन्ह र ती पार्टीका ठूला नेताको नाम चाहिँ कण्ठै छ ।

साइँलाको कुरा सुनेपछि एक्कासी मलाई कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसको याद आयो । उनले लेखेका छन्– ‘बाले काङ्ग्रेस हुँ भन्नुहुन्थ्यो, घरमा एक हुल नेता आएर एमाले बनाइदिएर गएछन् । सूर्यलाई भोट हाल्ने मेरी बूढी पँधेरोबाट आउँदा माओवादी प्रवेश गरिसकिछन् । छोरो अहिलेसम्म घर आको छैन, काङ्ग्रेस बनेर आउला भन्ने डर भो । देशको हालत ।’

के गर्नु जसले देशको हालत जस्तो भने पनि ठूला नेताहरूलाई रङ्ग फेराउनमै रमाइलो छ, मिनी नेताहरूलाई आफ्नो रङ्ग फेर्नमै गर्व छ ।

चुनाव नजिकिँदै गर्दा एउटाको आस्थाको रङ्ग अर्को भएको छ । अर्कोको विचार आफ्नो भएको छ, आफ्नो मौलिक रङ्ग र विचार चाहिँ सहिद भएको छ । समाजवादीले आफ्नो रङ्ग साम्यवादी बनाएको छ, साम्यवादी समाजवादी भएको छ । अग्रगामी भन्ने पुरातनवादी रङ्गमा परिवर्तन भएको छ, हिजो पुरातनवादीको ट्याग लागेकोलाई आज अग्रगामीको रूपमा स्वीकार गरिएको छ ।
राजतन्त्रवादी गणतन्त्रको प्रवक्ता झैँ भएको छ, गणतन्त्रको लागि लडेको चाहिँ हिजो मैले बाटो बिराएँछु भन्दै राजतन्त्रको एजेण्डामा प्रवेश गरेको छ । देशलाई समृद्ध बनाउँछु भनेर उम्रिएको नवरङ्गधारी पनि पुरानो रङ्गको पोखरीमा पसेर पुरानै रङ्गमा परिवर्तन भएको छ ।

केही समयअगाडि एउटा कार्यालयमा हाकिम परिवर्तन भएछ । कर्मचारीहरू नयाँ हाकिमलाई माला लगाउन लामबद्ध भएछन् । कर्मचारीहरू प्रायः धनुष्टङ्कार शैलीमा नमस्कार गर्छन् । हिजोसम्म त्यही नयाँ आउने हाकिम तल्लो तहमा छउञ्जेल टेरपुच्छर नलगाउनेहरू नै नयाँ हाकिमको लाइनमा सबैभन्दा अगाडि माला र खादा लिएर अगाडि पुगेछन् र धनुष्टङ्कार रूप धारण गरेछन् ।

हिजो तिनैका कुरा काट्नेहरू आज तिनैको गुणगान गाउन थालेछन् । बरु जानेवाला हाकिम जो हिजो तिनै परप्रिय थिए तिनी चाहिँ आज गालि खाने कित्तामा परेका रहेछन् । नयाँ जोगीले खरानी धेरै घस्छ भने झैँ नवहाकिमले पनि आफूलाई खरानी रङ्गमा प्रस्तुत गरेछन् । तल्ला तहका कर्मचारीहरूले पनि आफ्नो अनुहारमा खरानी घसेर खरानी रङ्गमा नै आफूलाई हाकिम अगाडि उभ्याएछन् र भनेछन्– ‘हेर्नुस् त हाकिमसाब ! हामी पनि तपाईँ जस्तै खरानी रङ्गकै हौँ ।’ नेपालको प्रशासनमा विद्यामान यस्तो नवछेपारे शैली देखेर विचारा छेपाराहरू भने आफ्नो मौलिकतामाथिको चुनौती ठान्दा हुन् ।

व्यापारीहरू व्यापारलाई आफ्नो धर्म ठान्छन् । जसरी पनि नाफा कमाउनुपर्छ भन्ने सिद्धान्त मान्छन् । जसरी पनि भनेको मतलब कानुनी, गैरकाननुी, चाकरी, टुटाउ, जुटाउ, फुटाउ सबै अस्त्र प्रयोग गर्ने भन्ने हो । आफूलाई फाइदा हुँदा शिष्ट र सौम्य बनेर जस्तो रङ्गमा पनि देखा परिदिने आफूलाई फाइदा नहुनेबित्तिकै रौद्र रूपरङ्ग धारणा गर्ने चिनारी कसैको छ भने त्यो व्यापारीकै हो ।

पछिल्लो समय सबैभन्दा बढी पार्टी प्रवेश गर्ने र छोड्नेको नामावली हेर्यो भने व्यापारी वर्गले अरु वर्गलाई उछिनेको देखिन्छ । ती पार्टी छोड्ने र प्रवेश गर्ने व्यापारीलाई पनि मेरा माइलाबाउलाई जस्तो न पार्टीको सिद्धान्त र दर्शन थाहा छ न तिनले पार्टीका आदर्श र घोषणापत्र पढेका छन् । माइलाबाउभन्दा व्यापारीमा फरक चाहिँ के छ भने ती व्यापारीलाई पार्टीका ठूला नेतासम्म पहुँच छ । हाम्रा माइलाबाउलाई चाहिँ ठूला नेतासम्म पहुँच छैन, नेताको नाम मात्र थाहा छ ।

तर्क आफ्ना आफ्ना होलान्, बुझाइहरू धेरै हुन सक्छन् । तर मान्छेले यसरी रङ्ग फेरेको देखेर छेपाराहरू भने आफूभन्दा रङ्ग फेर्नमा अरु पो काबिल निस्कियो भनेर आश्चर्य मान्दा हुन् ।

मानव सभ्यताको विकाससँगै मान्छेको प्रवृत्तिमा पनि परिवर्तन आएको छ । शहरीया संस्कृति बनावटी रङ्गले रङ्गिएको छ । हिजो मान्छे जे बोल्थ्यो त्यही गथ्र्यो, जुनबेला ऊ सभ्य मानिँदैनथ्यो । तर आजको सभ्य भन्ने विशेषण पाएको शहरीया मान्छेको बोल्ने बोलीको रङ्ग एउटा छ, काम गर्ने शैलीको रङ्ग अर्कै छ । बाहिर जति धेरै आदर्श बोल्छ, भित्रभित्र त्यति धेरै भ्रष्ट काम गर्छ । शहरका मान्छेहरू रङ्ग फेर्न यति अभ्यस्त भैसकेको छन् कि, रङ्ग नफेर्नेहरूले जीवन धान्न गाह्रो छ । गाउँले समाज पनि अब शहरको यही बनावटी शैलीको अतिक्रमणको चपेटामा छ ।

घरमा श्रीमान् श्रीमतीसँग झुट बोल्छ, श्रीमती श्रीमान्सँग कुरा लुकाउँछे । छोरो बाबुको शैली मन पराउँदैन, छोरी आमाभन्दा भिन्न देखिन चाहन्छे । छिमेकीले छिमेकी चिन्दैन, मान्छेले मानवता जान्दैन । तब पनि फेरि मान्छे आदर्शको दर्शन छाँट्न छाड्दैन । अरु त अरु सबै सांसारिक लोभ, पाप, माया, मोह, इष्र्या छोडेको घोषणा गरी साधु सन्यासी बनेका भन्नेहरूको समेत बाहिर लाउने लुगाको रङ्ग एउटा छ, भित्री कर्म कल्पनाभन्दा धेरै बाहिरको छ । त्यसो भए के रङ्ग नफेर्ने कुनै मान्छे छ ?

कवि लेख्छ एउटा, गर्छ अर्को । पत्रकार देख्छ, एउटा लेख्छ अर्को । मनले एउटा भन्छ, तर काम अर्कै गर्छ मान्छे । आत्माको रङ्ग मान्छेको एउटा छ, स्वार्थको रङ्ग अर्कै छ । आत्माले नगर भनेको काम पनि गरिरहेछ मान्छे । यसो गर्नुको कारण मान्छेको मनको रङ्ग एउटा छ, दिमागको रङ्ग अर्कै छ । जता हेर्यो, मान्छेको करणी र कथनी बीच रङ्गको तालमेल छैन ।

त्यसो भए मान्छे रङ्ग फेर्न बाध्य छ कि, बाध्य गराइन्छ ? मान्छे रहरले रङ्ग फेर्छ कि करले ? के रङ्ग फेर्नु मान्छेको पनि मौलिकता भैसकेको हो ? तर्क आफ्ना आफ्ना होलान्, बुझाइहरू धेरै हुन सक्छन् । तर मान्छेले यसरी रङ्ग फेरेको देखेर छेपाराहरू भने आफूभन्दा रङ्ग फेर्नमा अरु पो काबिल निस्कियो भनेर आश्चर्य मान्दा हुन् ।

(लेखक राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता हुन् । लेखमा व्यक्त विचार उनका निजी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?