+
+

कस्तो रह्यो कांग्रेसको एक महिने चुनावी अभियान ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १८:५२
फाइल तस्वीर

२९ चैत, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले २९ फागुनमा सुरु गरेको एक महिने चुनावी अभियान सोमबार सकिएको छ । चुनावी अभियानका लागि गाउँ गाउँ पुगेका कांग्रेसका नेता कार्यकर्ताहरु अभियान उत्साहजनक भएको निष्कर्षसहित फर्किएका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रचार अभियानले पार्टी सुदृढ बनाउन मद्धत पुगेको र चुनावी माहोल बनाएको दावी गरे ।

अभियान सुरु गर्दा कांग्रेसले मुख्य आठ उद्देश्य राखेको थियो । चुनावको माहोल बनाउने, आफ्ना उम्मेदवार निर्वाचित गर्न अपिल गर्ने, कार्यकर्तालाई जिम्मेवारी दिने, पार्टीले गरेका सुधारका काम जानकारी गराउने, अघिल्लो सरकारको ‘गलत काम’को आलोचना गर्ने, एमसीसी सम्झौताबारे जानकारी दिने कांग्रेसले उद्देश्य राखेको थियो ।

प्रचार अभियानका क्रममा धनकुटामा खटिएका केन्द्रीय सदस्य रामहरि खतिवडाले वडा र टोलमा पार्टी कार्यकर्ता परिचालन हुँदा नागरिकमा सकारात्मक सन्देश पुगेको बताए ।

‘एक महिने प्रचार अभियानमा ९९८ जना कांग्रेसमा प्रवेश गरे । घर घरमा कांग्रेस पुग्ने पद्धतिको विकास भयो’ खतिवडाले भने, ‘चुनावपछि कांग्रेसका नेता कार्यकर्ता गाउँ गएका थिएनन् । यसपटक कांग्रेस आयो भन्ने भयो ।’

अभियानका क्रममा आफ्ना कुरा सुनाउने मात्र नभई नागरिकका कुरा सुनेको कञ्चनपुरमा खटिएका केन्द्रीय सदस्य नैनसिंह महरले बताए । ‘घोषणापत्र बनाउने तर कार्यान्वयन नहुने प्रवृत्तिप्रति जनताको गुनासो छ । जति गर्न सकिने हो, त्यति मात्रै घोषणापत्रमा राख्न सुझाव दिएका छन्’ महरले भने । सुदूरपश्चिमका कतिपय ठाउँमा कांग्रेसलाई गठबन्धन नगर्न पनि सुझाव आएको उनले बताए ।

चुनावी अभियानका क्रममा कांग्रेसले स्थानीय स्तरमा आफ्नो र अन्य दलको स्थितिबारे पनि मूल्यांकन गरेको छ ।

१४ औं महाधिवेशन भर्खर सकिएकाले पार्टीभित्रको गुटबन्दी र चुनावी हारजितका कारण आन्तरिक एकता कमजोर भएको कांग्रेसभित्रै कतिपयको मूल्यांकन थियो ।

अभियानका क्रममा आन्तरिक तिक्तता मेटिएको कांग्रेस नेताहरु बताउँछन् । प्रवक्ता महतले भने, ‘पार्टीभित्र एकता र ऊर्जा अभिवृद्धि गराउन अभियान सार्थक भएको छ ।’

कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले महाधिवेशनमा भएको प्रतिस्पर्धालाई लिएर कार्यकर्तामा तिक्तता र वैमनष्यता नदेखिएको बताए । ‘नेतृत्वमा प्रतिस्पर्धा गर्ने सीमित नेतामा तिक्तता होला । तर, आम कार्यकर्तामा वैमनष्यता छैन’ उनले भने ।

स्थानीय चुनावमा सत्ता गठबन्धनबीचको तालेमलले गर्दा विजयी हुने आशाले कांग्रेसभित्र उम्मेदवारको आकांक्षी बढी देखिएको केन्द्रीय सदस्य काफ्ले बताउँछन् ।

‘पहिले पहिले टिकटको आशा नगर्नेहरु यसपटक उम्मेदवार बन्ने लाइनमा छन्’ चुनावी अभियानका क्रममा रामेछाप पुगेका काफ्लेले भने, ‘उनीहरुको व्यवस्थापन गर्न कांग्रेसलाई थोरै समस्या पर्ने अनुभव गरें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?