+
+

सही नेता नचुन्दा जनताले दुःख पाए : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते २०:०८

२९ चैत, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, कम्युनिस्ट पार्टीहरु र मधेस केन्द्रित दलको विकल्प खोज्नुपर्ने बताएका छन् ।

देशको मुहार फेर्न आगामी निर्वाचनमा कांग्रेस, कम्युनिष्ट र मधेसकेन्द्रित दलको विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

मंगलबार वीरगञ्जमा राप्रपाले आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङदेनले ३१ वर्षसम्म शासन चलाएपनि कांग्रेस र कम्युनिष्टहरुले केही गर्न नसकेको बताए । ‘एउटै पार्टी एउटै नेताले पटक–पटक मौका पाएपनि सम्झनलायक काम हुन सकेन । ३१÷३२ वर्षसम्ममा उनीहरुले देशलाई कुनै नयाँ दिशा दिन सकेनन्, देशलाई बर्बादीको यो विन्दुमा पुर्‍याए’, उनले भने ।

देशको मुहार र जनताको जीवनशैली फेर्ने हो भने ३१ वर्षदेखि शासन गर्दै आएका पार्टी र नेता फेर्ने बेला आएको उनको भनाइ छ । ‘देशको उज्वल भविष्य हेर्नुछ भने जनताले अब कांग्रेस र कम्युनिष्टहरुको विकल्प खोज्नै पर्छ, त्यो विकल्प भनेको राप्रपा मात्रै हो’ अध्यक्ष लिङ्देनले भने ।

विगतका निर्वाचनहरुमा जनताले ठीक पार्टी र ठीक नेता नचुनेकै कारण दुःख पाइरहेको उनको दावी छ ।

मधेसी जनताको बलिदानीलाई मधेसवादी दलले आफू सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाएको टिप्पणी उनले गरे । ‘कांग्रेस, कम्युनिष्ट र मधेसी दल एउटै सिक्काका दुई पाटा हुन्’, उनले भने ‘मधेसी जनताको रगत र पसिनाको बलमा मधेसी दल पटक–पटक सत्तामा गए । तर मधेसी जनताले केही पाउन सकेका छैनन् ।’ मधेसी जनताको बलिदानीलाई मधेस केन्द्रित दलले सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाएको लिङ्देनले टिप्पणी गरे ।

कार्यक्रममा राप्रपाका निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, महामन्त्रीद्वय भुवन पाठक र राजेन्द्र गुरुङ, सहमहामन्त्री मोहन यादव केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?