+
+

दुर्गम रहेन म्याग्दीको पात्ले गाउँ

रासस रासस
२०७९ वैशाख ४ गते १४:४३

४ वैशाख, म्‍याग्दी । मालिका गाउँपालिका–३ पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेका छन् । ‘यातायात सुविधाले सुगम बन्न थालेको महशुस गरेका छौं, उनले भने, ‘कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न पाउँदा दङ्ग परेका छौँ ।’

खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएका रोकाले गाडी र ट्याक्टर चल्न थालेपछि भाडा सस्तिएको बताए ।  आवतजावत सहज हुनाका साथै बिरामी पर्दा अस्पताल जान, कृषि र पशुजन्य बस्तुलाई बजार पठाउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको पात्लेका धनबहादुर रोकाले बताए ।

‘पैदल हिडेर पात्लेबाट दरवाङ पुग्न तीन घण्टा लाग्दथ्यो’, उनले भने, ‘गाडीबाट ओखरबोटको घुमाउरो बाटोबाट जाँदा दुई घण्टा र डाडागाउँ–औलको छोटो बाटो प्रयोग गर्दा डेढ घण्टामा दरवाङ पुगिन्छ ।’

एक सय घरधुरी रहेको पात्ले मात्र नभएर मालिका–३ का सबै बस्तीमा पुगेको सडकले दुर्गम गाउँका बासिन्दालाई सुगमको अनुभव गराएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने साविक रुम गाविसमा समेटिएको सो वडाको कुनै पनि बस्तीमा पाँच वर्षअघि सडक यातायातको सुविधा थिएन् ।

मालिका–३ का वडा अध्यक्ष हेमबहादुर पुनले पाँच वर्षको अवधिमा सबै बस्तीमा सडक सञ्जाल पुगेको बताए । उनले भने, ‘गाउँपालिकाको केन्द्र जोड्ने मुख्यका साथै छिमेकी २ र ४ नम्बर वडासँग पनि सडक सम्बन्ध स्थापित भएको छ ।’

अदिभारा हुँदै औलागाउँमा पुगेको सडकलाई आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिकाले बिनियोजन गरेको रु ३५ लाख बजेटबाट डाडागाउँ–किटिनी हुँदै सोलेडाडासम्म विस्तार भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा विनियोजन भएको रु २५ लाख बजेटले किटिनी हुँदै लुसीपार, आर्थिक वर्ष २०७६/७६ मा रु ३० लाख बजेटबाट लुसीपार–पात्ले, २०७७/०७८ मा रु ११ लाख बजेटबाट पात्लेबाट खापुक टोलमा सडक पुर्‍याइएको थियो ।

चालु आर्थिक वर्षमा रु ३५ लाख बजेटबाट पात्लेदेखि सोलीखोला हुँदै वडा नं २ को बेली गाउँलाई सडकले जोडिएको वडा अध्यक्ष पुनले बताए । पात्ले–बेली जोड्ने करिब पाँच किलोमिटर सडक निर्माण भएपछि गाउँपालिकाले परिकल्पना गरेको ‘मालिका चक्रपथ’को सबै मार्ग खुलेको छ ।

औल, इग्रे, खटेन, डाडागाउँ, किटिनी, लुप्सीपार, पात्ले र खापुक बस्ती भएको मालिका–३ मा ५०० घरधुरी छन् । औला र इग्रेमा यसअघि पुगेको सडकलाई स्तरोन्नति गरेर यातायात सञ्चालन गरिएको हो भने अन्य बस्तीमा नयाँ मार्ग खोलेर सडक पुर्‍याइएको हो ।

वडा अध्यक्ष पुनका अनुसार सबै बस्ती जोड्ने करिब २५ किलोमिटर सडक बनेको छ । वडाका सबै बस्तीमा केन्द्रिय लाइन विस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ । किटिनीमा वडाको पक्की भवन निर्माण अन्तिम चरणमा रहेको वडा अध्यक्ष पुनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?