+
+

चुनावको मुखमा घट्यो घरजग्गा कारोबार, तरलता अभावको प्रभाव कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १७:१४

४ वैशाख, काठमाडौं । स्थानीय तहको चुनावको मुखमा घरजग्गा कारोबार केही सुस्ताएको छ । गत फागुन महिनाको तुलनामा चैतमा कारोबार र यसबाट उठ्ने राजस्व दुवै सुस्ताएको हो ।  चैत २०७७ सँग तुलना गर्ने हो भने पनि चैत २०७८ मा जग्गाको कारोबार घटेको देखिन्छ ।

बैंकहरुमा लगानीयोग्य पूँजीको अभाव भएकाले यो वर्ष घरजग्गाको कारोबार तीव्र दरमा उचालिएको छैन । तर, बैंकमा तरलता अभाव भएपनि अहिले भइरहेको कारोबारले घरजग्गामा हुने लगानी ठूलो दरमा निरुत्साहन भएको देखिंदैन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत २०७८ मा ७० हजार ८२९ वटा घरजग्गा कारोबार (लिखत पास) भएका छन् । चैत महिनामा सबैभन्दा धेरै जग्गाको कारोबार सुनसरीको इनरुवा क्षत्रेमा भएको छ । इनरुवाको मालपोत कार्यालयले एक महिनामा ३ हजार ५२३ वटा लिखत पास भएका छन् । चैत २०७७ मा ८७ हजार १८७ वटा घरजग्गाको लिखत पास भएको थियो ।

चैतमा मोरङको बेलबारी क्षेत्रमा २ हजार ८२४, झापाको भद्रपुर क्षेत्रमा २ हजार ७६८, धनुषाको जनकपुर क्षेत्रमा २ हजार ३७६ र बाँके क्षेत्रमा २ हजार ४४९ वटा लिखत पास भएका छन् । चैतमा काठमाडौं उपत्याकाभित्र काठमाडौंपछि सबैभन्दा धेरै ललितपुर क्षेत्रमा पनि २ हजार ९६ वटा लिखत पास भएको छ । काठमाडौंमा विभिन्न कार्यलय गरेर करिब ३५ सय जग्गाको कारोबार भएको छ ।

मोरङको विराटनटर, सप्तरीको राजविराज, सिराहा, महोत्तरीको जलेश्वर, सर्लाहीको मलंगवा, काभ्रेपलाञ्चोक, भक्तपुर, बारा, पर्सा, चितवन, मकवानपुर, कास्की, नवलपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा पनि एक हजारभन्दा बढी संख्यामा लिखत पास भएका छन् ।

चैत २०७८ मा राजस्व पनि घटेको छ । फागुन महिनामा जग्गा कारोबारबाट ६ अर्ब २६ करोड १६ लाख रुपैयाँ राजस्व उठेकोमा चैत महिनामा ५ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ राजस्व उठेको छ । चैत २०७७ मा घरजग्गा कारोबारबाट ८ अर्ब ५९ करोड ९१ लाख राजस्व असुल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?