+
+
सत्तारुढ गठबन्धन बैठक :

महानगर भागबण्डामा सहमति : पोखरा एकीकृत समाजवादीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते २१:१६

६ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ ।

मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।

त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने  सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।

उपमेयरमा पनि जुट्यो सहमति

महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि सकेको छ । गठबन्धनको बैठकले कांग्रेसलाई तीन र अरुलाई एक/एकवटा महानगरको उपमेयर भागवण्डा गरेको हो ।

सहमति अनुसार काठमाडौ, ललितपुर र विराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा पाउनेछ ।

यस्तै पोखराको मेयर निश्चित गरेको नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने एक नेताले जानकारी दिए । सहमतिअनुसार ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन् भने बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।

७ उपमहानगरपालिका कांग्रेसलाई 

महानगरपालिकाको भागवण्डा लगभग टुंगोमा पुर्‍याएका सत्तारुढ  गठबन्धनका चार दलले ११ उपमहानगरपालिकाको छिनोफानो पनि मंगलबार नै गर्ने तयारी गरेका छन् ।

गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाको भागवण्डा लगभग मिलिसके पनि जनकपुरमा नेपाली कांग्रेस र जनता समाजवादीले दावी नछोडेपछि कुरा मिल्न सकेको छैन ।

यसअघि कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक–एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गर्ने भनिए पनि पोखरा महानगरपालिका छोडेबापत कांग्रेसले सातवटा उपमहानगर पाउने निश्चित भएको थियो ।

तर बैठकमा कांग्रेस नेताहरुले मधेशका मुख्य सहर वीरगञ्ज र जनकपुरमध्ये एउटा आफूले पाउनुपर्ने बताएपछि फेरि सहमति भाँडिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार जनकपुरका बारेमा देखिएको विवाद र उपमहानरपालिकाका उपमेयरको टुंगो मंगलबारकै छलफलले लगाउनेछ ।

घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादीले पाउने गरी सहमतिको मस्यौदा बनेको छ । यस्तै हेटौंडा उपमहागरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने जनकपुरमा जसपा र नेपाली कांग्रेसको दावी यथावत् छ ।

अहिलेसम्मको सहमति अनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीको मेयरमा नेपाली कांग्रेसले गठबन्धनको तर्फबाट प्रतिष्पर्धा गर्ने छ । यद्यपि छलफलका क्रममा उपमहानगरको भागवण्डा फेरबदल हुन पनि सक्ने गठबन्धन स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?