+
+

आईपीएलका सट्टेबाज खोज्दा भेटिए क्रिप्टोकरेन्सी कारोबारी

व्यापारीदेखि एमबीबीएस पढ्ने विद्यार्थीसम्म पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १६:२४

६ वैशाख, काठमाडौं । दुई महिनाअघि उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले वानएक्सबेट डटकममार्फत नेपालबाट हुने सट्टेबाजीमा संलग्नहरुलाई अनुसन्धानका लागि बोलायो । उनीहरुमार्फत एजेन्टसम्म पनि प्रहरी अधिकृतहरु पुगे, आफैं बेटिङको सञ्जालमा छिरे ।

‘त्यसक्रममा वान एक्स बेटको सबै रकम क्रिप्टोको माध्यमबाट रसिया जाने गरेको भेटियो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘यो साइटको माध्यमबाट सामान्य अवस्थामा दिनमा ५० लाख र अहिलेजस्तो आईपीएल चलिरहेका बेला त एकदेखि डेढ करोड रुपैयाँसम्म कारोबार भएको देखियो ।’

त्यसपछि कार्यालयका अनुसन्धान अधिकृतहरुले क्रिप्टोकरेन्सी सटहीमा संलग्नहरुको विवरण निकाले । ‘उनीहरुको कारोबार हेर्दै जाँदा शंकास्पद विषयहरु देखा परे, सामान्य पृष्ठभूमिका व्यक्तिको अस्वभाविक कारोबार देखियो’ ती अधिकृत भन्छन्, ‘तीमध्ये तीन जना पक्राउ परेका छन् ।’

महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा झापा विर्तामोडका २२ वर्षीय अपुप मिश्र, काभ्रेका २४ वर्षीय दिपेश थापा र काठमाडौंका २७ वर्षीय राहुन चचान छन् । प्रहरीका अनुसार पक्राउ परेका मिश्र एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । अरु दुईजना चाहिँ व्यवसायमा संलग्न छन् ।

एक अनुसन्धान अधिकृतका अनुसार चाचनको न्यूरोडमा जुत्ता पसल छ । थापाको दाजुको ब्यागको होलसेप पसल छ । ‘पक्राउ परेका सबैको पनि पृष्ठभूमि बलियो होइन’ कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवर भन्छन्, ‘कारोबार चाहिँ चकित पार्ने खाल्को छ ।’

तीन जनाले गरेर ६६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिएको कुँवरले बताए । उनका अनुसार मिश्रले सन् २०२१ देखि क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ । उनले बाइनान्स एकाउन्ट प्रयोग गरेर विभिन्न २० खाले क्रिप्टोकरेन्सीमार्फत ३५ करोड ४६ लाख ८३ हजार रुपैइाँको कारोबार गरेको देखिएको छ ।

‘उनको एकाउन्टमा अमेरिकी डलर १२ हजार ८३२ बराबरको बिटक्वाइन पनि मौज्दात देखिएको छ’ कुँवरले भने, ‘थापाले दुईवटा एकाउन्टमार्फत २४ करोड ७९ लाख रुपैयाँको कारोबार गरेको देखिएको छ ।’ उनको बाइनान्स खातामा अमेरिकी डलर १३५.४० बराबरको विटक्वाइन मौज्दार रहेको देखिएको छ ।

राहुलले चाहिँ एक वर्षदेखि २० खाले क्रिप्टोकरेन्सीमार्फत ६ करोड ५६ लाख ४८ हजार बारबरको कारोबार गरेको देखिएको छ । उनीहरुले क्रिप्टोहरु वानएक्स बेट, हाईपर फन्ड लगायतका अनलाइन प्लेफर्ममा लगानी गर्न प्रयोग गर्ने गरेको पाइएको एसएसपी कुँवर बताउँछन् । उनी भन्छन्, ‘विदेशबाट सामग्री आयत गर्न व्यापारिक प्रयोजनका लागि पनि क्रिप्टो प्रयोग हुने गरेको देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?