+
+

लुम्बिनीमा ५ दलको कार्यदलले टुंग्याउन सकेन भागबण्डा

भोलि फेरि बैठक बस्ने

टोपराज शर्मा टोपराज शर्मा
२०७९ वैशाख ६ गते २१:१४

६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनले मंगलबार पनि भागबण्डाको टुंगो लगाउन सकेको छैन ।

पालिकाको नेतृत्व बाँडफाँट टुंग्याउन बसेको कार्यदलको बैठकमा कुन दललाई कति पालिका दिने भन्ने बिषयमा दलहरुले आआफ्ना अडान नछाडेपछि वैठक निष्कर्षमा पुग्न नसकेको हो ।

यसअघि सोमबार बसेको वैठकमा मंगलबार साँझसम्म भागबण्डाको टुंगो लगाउने समझदारी भएको थियो ।

बुटवलको तामनगरस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा बसेको पाँच दलीय कार्यदलको बैठकमा दलहरुले आआफ्नो दाबी पेश गरेका तर सहमति जुट्न नसकेपछि बुधबार बैठक बस्ने गरी बैठक टुंगिएको बैठकमा सहभागि नेपाली कांग्रेस प्रदेश उप सभापति राजु खनालले जानकारी दिए ।

प्रदेशका १०९ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७५ वटा स्थानीय तह आफूले पाउनुपर्ने दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले यसअघि आफूले जितका १९ वटा र दोश्रो स्थानमा रहेका पालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । जसका आधारमा उसले ३५ देखि ४० सिटमा दाबी गर्दै आएको छ ।

नेकपा एकीकृत समाजवादीले एमालेले जितेका ४३ पालिकाको आधा अर्थात २२ वटा पालिका पाउनुपर्ने माग गरेको छ ।

जनता समाजवादी पार्टीले पहाडी ६ जिल्लामा ६ जना उपप्रमुख र दाङका १० वटा पालिका मध्ये एउटामा प्रमुख र एउटामा उपप्रमुख सहित २२ पालिकाको प्रमुख र २५ वटा पालिकाको उपप्रमुखमा अडान राख्दै नपाए गठबन्धनबाट बाहिरिने बताएको छ ।

राष्ट्रिय जनमोर्चाले पहिला आफूले जितेका २ पालिका र दोश्रो स्थानमा रहेका पालिकामा दाबी गरेको छ ।

प्रदेशका ४ वटै उपमहानगरपालिकामा कांग्रेसले दावी छाडेको छैन । बुटवल वा तुलसीपुर मध्ये एकमा नेकपा एकीकृत समाजवादीले दावी गरेको छ । नेपालगञ्जमा जसपाले, घोराहीमा माओवादी केन्द्रले दावी गरेका छन् ।

तर कांग्रेसको स्थानीय समितिले घोराही माओवादी केन्द्रलाई दिन नसकिने निर्णय गरेपछि सहमति जुट्न सकस भएको छ ।

उपमहानगरको बाँडफाँट केन्द्रले गर्ने भएकाले केन्द्रले नै टुंगो नलगाउँदा प्रदेशका ३२ नगरपालिका र ७३ वटा गाउंपालिकलाको भागबण्डाको टुंगो लगाउन ढिलाइ भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । बुधबार साँझसम्म भागबण्डाको टुंगो लाग्ने उनले दावी गरे ।

तर एकीकृत समाजवादीका लुम्बिनी सचिव राजु गुरुङले सम्मानजनक नेतृत्व बाँडफाँट नभए उम्मेदवारी फिर्ता हुने दिन वैशाख १६ गते मात्र गठबन्धन जोगिने वा भत्किने टुंगो लाग्ने बताए । ‘सम्मानजनक सिट बाँडफाँट नभए हामी एक्लै उम्मेदवारी दर्ता गर्छौं’, गुरुङले भने, ‘गठबन्धन जरुरी भए जोगाउने दायित्व कांग्रेसको हो ।’

सोमबार बसेको ५ दलीय संयन्त्रले दलहरुबीच भागबण्डा मिलाउन नसकेपछि सहमति जुटाउन ५ सदस्यीय कार्यदल गठन गरेको थियो । जसमा नेपाली कांग्रेस प्रदेश उपसभापति भुवन श्रेष्ठ,माओवादी केन्द्रका तुलाराम घर्ती, एकीकृत समाजवादीका मेटमणि चौधरी, जसपाका यज्ञ पोखरेल र राष्ट्रिय जनमोर्चाका तेजनाथ आचार्य रहेका छन् ।

गत स्थानीय चुनावमा प्रदेशका १०९ पालिकामध्ये एमालेले ४३, कांग्रेसले ३३, माओावदी केन्द्रले १९, जसपाले ८, राष्ट्रिय जनमोर्चाले २, स्वतन्त्र ३ र राप्रपाले एक पालिका प्रमुख जितेका थिए ।

प्रदेशका रुपन्देही, बाँके, रोल्पा, कपिलवस्तु, नवलपरासी र प्युठानका केही स्थानीय तहमा भागबण्डा नमिलेपछि गठबन्धन दलहरुबीच मित्रवत् प्रतिस्पर्धासहित चुनावमा जाने सहमति भइसकेको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये ६ पालिकामा गठबन्धन नहुने घोषणा भइसकेको छ ।

रोल्पामा पनि तालमेल नहुने निश्चित जस्तै भइसकेको छ । रोल्पामा नेपाली कांग्रेसले आधा पाकिला र वडा दावी गरेपछि गठबन्धन भांडिएको हो ।

यस्तै कपिलवस्तु र नवलपरासीका केही स्थानीय तहमा पनि गठबन्धन घटकबीच तालमेल नहुने देखिएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?