+
+

दोलखाको भागवण्डामा कांग्रेस–माओवादी सहमत, एकीकृत समाजवादी असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १५:४५

७ वैशाख, दोलखा । दोलखामा सत्तागठबन्धनको मुख्य घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका प्रमुख र उपप्रमुखको संख्यात्मक भागबण्डा मिलाएका छन् ।

तर कुन–कुन पालिका प्रमुख र उपप्रमुखमा कुन कुन दलको उम्मेदवार रहने भन्ने निर्क्योल हुन बाँकी छ ।

सहमति अनुसार दोलखाका ९ पालिकामध्ये ५ पालिका प्रमुख र ४ पालिकाको उपप्रमुख नेपाली कांग्रसले लिनेछ । नेकपा माओवादी केन्द्रले ३ प्रमुख र ३ उपप्रमुख लिने, नेकपा एकीकृत समाजवादीले एक पालिका प्रमुख र दुई वटा पालिका उपप्रमुख लिने सहमति भएको छ ।

तर, एकीकृत समाजवादीले दुई वटा पालिका प्रमुख पाउनुपर्ने दाबी कायमै राखेको छ । एकीकृत समाजवादीका नेता शिव भण्डारीले कांग्रेस पाँच पालिका प्रमुखको दाबीबाट चार पालिका प्रमुख लिनेगरी सहमतिमा आउने विश्वास गरे ।

‘उहाँहरु सहमत हुनुहुन्छ र हामी दुई पालिका प्रमुख र ३ उपप्रमुख लिएर चुनावमा जान्छौं भन्ने विश्वास छ’ भण्डारीले अनलाइनखबरसँग भने ।

कांग्रेस तयार नभए गठबन्धन छोडेर आफूहरु एक्लै लड्न पनि तयार रहेको उनले बताए । उनी भन्छन्, ‘कांग्रेसले कुनै हालतमा हुन्न भन्यो भने हामी एक्लै लड्नुपर्ने हुन्छ । तर, त्यो बाटो जानु पर्दैन होला, किनभने कांग्रेस हामीलाई दुईपालिका प्रमुख दिन तयार छ ।’

दुई पालिका प्रमुख पाउनुपर्ने माग सुरुदेखि नै राखेको भए पनि एकीकृत समाजवादीले एक पालिका प्रमुख लिने गरी सहमतिमा पुगिएको बताउँछन् नेपाली कांग्रेसका दोलखाका जिल्ला सभापति बर्मा लामा ।

‘उहाँहरुको दाबी दुई पालिका प्रमुख भन्ने छ । तर, उहाँहरुको सहमतिमा समेत संख्यात्मक भागवण्डा मिलाएका हौं’ लामा भन्छन्, ‘अब कुन पार्टीले कुन पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिने भनेर टुंग्याउनेतिर लागेका छौं ।’

२०७४ को चुनावमा एमालेले दोलखाका ७ पालिका प्रमुख जितेको थियो । एमालेले प्रमुख जितेका पालिकाहरु हुन– जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका, भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका, गौरीशंकर गाउँपालिका, मेलुङ गाउँपालिका, तामाकोशी गाउँपालिका ।

कांग्रेसले बैत्यश्वर गाउँपालिका र विगु गाउँपालिको प्रमुख मात्रै जितेको थियो । माओवादी केन्द्रले दुई वटा पालिका उपप्रमुख जितेको थियो । यो पटक एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेको छ । एमाले बाहेकका दलहरु अहिले गठबन्धन बनाएर अगाडि बढेका छन् । एमाले एक्लै चुनावी मैदानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?