+
+

आयोगले भन्यो : चुनाव चिह्न अंकित सामाग्रीको उत्पादन तत्काल बन्द गर्नू

‘चुनाव चिह्न अंकित टिसर्ट/गम्छा छापे एक लाख जरिवाना’

निर्वाचन आयोगले चुनाव चिह्न अंकित सामग्रीको उत्पादन तत्काल बन्द गर्न राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १८:५७

७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले चुनाव चिह्न अंकित सामग्रीको उत्पादन तत्काल बन्द गर्न राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति निकालेर आयोगले आचारसंहिता विपरीत चुनाव चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण भइराखेको सूचना प्राप्त भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई मातहतका उद्योग र फर्मलाई चुनाव चिह्न अङ्कित सामग्रीको उत्पादन नगर्न नगराउनका लागि परिपत्र गर्न समेत आयोगले अनुरोध गरेको छ ।

निर्वाचन आचार संहिताले निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट र पहिरनका साथसाथै स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु लगायतका प्रचार सामाग्रीहरु उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता सबै सरकारी, गैर सरकारी, निजी संस्था र यी संस्थासँग आवद्ध पदाधिकारी तथा कर्मचारीलाई पनि लाग्ने आयोगले बताएको छ ।

आयोगले राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन, कार्यकर्ता सबैलाई चुनाव चिह्न अंकित सामग्री उपयोग र खरिद नगर्न समेत आग्रह गरिएको छ ।

अन्यथा एक लाख जरिवाना

निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्नेलाई एक लाखसम्म जरिवाना हुने स्मरण गराएको छ ।

‘आयोगको अनुरोधलाई बेवास्ता गरी यदि कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ’ विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आयोगले गत चैत २५ गते देखि लागु हुने गरी निर्वाचन आचारसंहितालाई कार्यान्वयनमा ल्याइसकेको छ । पालना नभएको सूचना आएको भन्दै आयोगले बुधबार विज्ञप्ति निकालेर राजनीतिक दलहरु र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?