+
+

संखुवासभाका कुन-कुन स्थानीय तहमा को सिफारिस ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १०:२८

८ वैशाख, संखुवासभा । स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धनका दलहरुलाई उम्मेदवार छान्न सकस परेको छ । जिल्लाका प्रमुख दल नेपाली कांग्रेसले चार, नेकपा एमालेले दुई र माओवादी केन्द्रले एक स्थानीय तहमा मात्र उम्मेदवार टुंगो लगाएका छन् ।

संखुवासभाका पाँच नगरपालिका मध्ये चारवटा नगरपालिकामा नेपाली कांग्रेसले सर्वसम्मत नगर प्रमुख पदका उम्मेदवार टुंगो लगाएको छ । आकांक्षीहरु बीचको आपसी सहमतिमा सर्वसम्मत नगर प्रमुख पदका उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो । कांग्रेसले खाँदबारी नगरपालिकाको मेयरमा महेश थपलियालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।

चैनपुर नगरपालिकामा ज्ञानबहादुर कार्कीलाई प्रमुख पदमा सर्वसम्मत उम्मेदवार बनाएको छ । पाँच जना आकांक्षीहरु बीचको सहमतिबाट कार्की सर्वसम्मत उम्मेदवार बनेका हुन् । वि.सं. २०३० सालदेखि राजनीतिमा सक्रिय कार्की तत्कालीन सिद्धकाली गाविसका पूर्वअध्यक्ष समेत हुन् ।

यसैगरी चैनपुर नगरको उपप्रमुखमा अन्जना लिंथेपलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै धर्मदेवी नगरपालिकामा थलकुमार लिंखालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ । पाँचखपन नगरपालिको नगर प्रमुख पदमा महाधिवेशन प्रतिनिधि विपिन राईलाई सर्वसम्मत उम्मेदवार बनाइएको छ । राई यसअघि पनि निर्वाचित मेयर हुन् । यसैगरी उपप्रमुखमा सीता श्रेष्ठलाई उपप्रमुख पदमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

नेपाली कांग्रेसले मादी नगरपालिमा मेयर पदका लागि पासाङ शेर्पालाई सर्वसम्मत उम्मेदवार बनाएको छ । मादी नगरपालिकाको वडा नम्वर ९ का वडाध्यक्ष शेर्पालाई पार्टीले मेयर पदमा अघि सरेको हो ।

पाँच गाउँपालिका र पाँच नगरपालिका रहेको सङ्खुवासभामा कांग्रेसले सदरमुकाम समेत रहेको खाँदवारीबाहेकका नगरपालिकामा प्रमुख पदका उम्मेदवार सर्वसम्मत टुंगो लगाएको जनाएको छ । खाँदबारीको मेयरमा यसअघि समेत प्रत्यासी रहेका पार्टीका प्रभावशाली नेता महेश थपलिया र निवर्तमान पार्टी सभापति दिपन कुमार श्रेष्ठ आकांक्षी छन् । खाँदबारीमा पनि सहमतिमै उम्मेदवार टुंग्याउने कांग्रेसको कसरत जारी छ ।

एमालेले दुई स्थानीय तहमा मात्रै उम्मेदवार टुङ्गो लाग्यो

नेकपा एमाले संखुवासभाले स्थानीय तहको निर्वाचनका लागि दुई स्थानीय तहमा उम्मेदवारी टुङ्गो लगाएको छ । नेकपा एमालेले मादी र पाँचखपन नगरपालिकामा सर्वसम्मत उम्मेदवारी टुङ्गो लगाएको हो । अन्य आठ तहको भने टुङ्गो लागिनसकेको एमालेले जनाएको छ ।

एमालेले मादी नगरपालिकाको मेयरमा जीवन लिङ्थेप र उपमेयरमा सुनिता दाहाललाई सर्वसम्मत सिफारिस गरेको छ । मादीमा नगर प्रमुख र उपप्रमुख दुबै नयाँ अनुहार हुन् । त्यसैगरी पाँचखपन नगरपालिकाको मेयरमा हिन्दु राईलाई सर्वसम्मत गरेको नेकपा एमाले संखुवासभाका अध्यक्ष जीतबहादुर घिमिरेले जानकारी दिए । राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका विपीन राईसँग पराजित भएका थिए । पाँचखपनको उपमेयर भने टुङ्गो लाग्न बाँकी छ ।

नेकपा एमालेले खाँदबारी नगरपालिकाको मेयरका लागि एमालेका जिल्ल्ाा अध्यक्ष, सचिव र हालमा प्रमुख सहित ७ जनाको दाबी छ ।

मेयरका लागि पार्टीका जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे, सचिव खड्ग राई, प्रदेश कमिटी सदस्य राजेन्द्र थापा, जिल्ला कमिटी सदस्य सुमन श्रेष्ठ हालको मेयर मुरारी प्रसाद खतिवडा, नगर कमिटी इन्चार्ज देवेन्द्र घिमिरे र छत्रमणी पन्त सिफारिस भएका छन् । उपमेयरमा सुनिता कार्की, गोमा कटुवाल, महेश्वरा श्रेष्ठ, वेदकुमारी रिमाल, रिता कटुवाल र सुन्दरी खतिवडा सिफारिस भएको नेकपा एमालेले जनाएको छ ।

खाँदबारीको नगर प्रमुखका लागि एमालेका जिल्ल्ाा अध्यक्ष जीतबहादुर घिमिरे र सचिव खड्ग राई र हालका नगरप्रमुख मुरारी प्रसाद खतिवडाको दावी छ । त्यस्तै पाँचखपन नगरपालिकाको प्रमुखका लागि हिन्दु राई, भिमादेवी राई र दुर्गानिलम श्रेष्ठ र उपप्रमुखमा बविता न्यौपाने, अनिता न्यौपाने र सिता तामाङ सिफारिस भएका छन् ।

चैनपुर नगरपालिका नगर प्रमुखमा भरत खत्री, आशिष शाक्य, गोपाल श्रेष्ठ, मुक्ती गौतम र कृष्ण तामाङ सिफारिस भएका छन् भने उपप्रमुखमा मनमाया तामाङ, अम्बिका गौतम र दीपा काफ्ले सिफारिस भएका छन् । भरत खत्री हालका नगरप्रमुख हुन् ।

सभापोखरी गाउँपालिका अध्यक्षमा रत्न सुब्बा, यादव अधिकारी, विपीन तामाङ, विकास पौडेल र सोमनाथ बाह्रकोटीलाई सिफारिस गरेको छ । उपाध्यक्षमा सुशीला भट्टराई, सविता कालाखेती र शोभा पुन मगरलाई सिफारिस गरेको छ ।

चिचिला गाउँपालिका अध्यक्षमा दिनेश गुरुङ, लोक बहादुर घले र सन्तोश गुरुङलाई सिफारिस गरेको छ । उपाध्यक्षमा विष्णुकुमारी राई, विष्णुमाया राई, बरुण राई र अन्मिरा राईलाई सिफारिस गरेको छ ।

मकालु गाउँपालिका अध्यक्षमा भरत कटुवाल, तेज बहादुर पोख्रेल र ज्ञानेन्द्र गुरुङलाई सिफारिस गरेको छ । उपाध्यक्षमा चमेली राई, ललिता पोख्रेल र निर्मला थापालाई सिफारिस गरेको छ ।

सिलिचोङ गाउँपालिका अध्यक्षका लागि नरभूपाल राई, दुर्गाकिरण राई र खड्ग नन्द राई र उपाध्यक्षमा मेनुका राईलाई सिफारिस गरेको छ ।

त्यस्तै भोटखोला गाउँपालिका अध्यक्षमा वाङदावी भोटे, वाङछेर भोटे सिफारिसमा परेका छन् भने उपाध्यक्षका लागि सुनिता गुरुङ र फिङजुङ भोटेलाई सिफारिस गरिएको छ ।

१० वटै स्थानीय तहबाट सिफारिस भएर आएका पालिका प्रमुख र उपप्रमुखको नाम जिल्ला कमिटीको बैठकमा छलफल हुने जिल्ला अध्यक्ष घिमिरेले बताए । वडाध्यक्षहरुको नाम दुई दिनभित्र टुङ्गो लगाइसक्ने अध्यक्ष घिमिरेको भनाइ छ ।

जिल्लाका १० स्थानीय तहमध्ये एमालेले खाँदबारी, चैनपुर र मादी नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो ।

माओवादीले एक स्थानीय तहमा मात्र टुङ्गो लगायो

नेकपा माओवादी केन्द्रको संखुवासभाले १० स्थानीय तहमध्ये एक स्थानीय तहको उम्मेदवार मात्र टुङ्गो लगाएको छ ।

माओवादीले केन्द्रले खाँदबारी नगरपालिकाको मेयर, उपमेयर उम्मेदवार टुङ्गो लगाएको हो माओवादीले खाँदबारी नगरपालिका मेयरमा दिव्यराज बराल र उपमेयरमा मालती भण्डारी -राई) लाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको माओवादी केन्द्र संखुवासभाका संयोजक टेकमान राईले जानकारी दिए । उनले अन्य पालिकामा पनि चाँडै उम्मेदवार टुङ्गो लगाउने बताए ।

नेपाली कांग्रेसले एकपक्षीय रुपमा गठबन्धन टुटेको घोषणा गरेपछि माओवादीले एकल उम्मेदवार घोषणा गरेको बताएको छ । पाँच दलीय गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?