+
+

ओलीको निर्देशन : प्रतिनिधिसभा विघटनलाई गलत नभन्नू

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १८:१७

८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई गलत नभन्न आग्रह गरेका छन् । केन्द्रीय सल्लाहकार परिषदको बैठकमा सम्बोधन गर्दै उनले विघटन जायज भएकाले भुलचुकले पनि त्यसो नभन्न निर्देशन दिएका हुन् ।

‘केही साथीहरू मौका पाउनासाथ प्रतिनिधिसभा विघटन गलतै थियो भन्ने गर्नुभएको छ । यस्ता खालका गलत कुरा सल्लाहकार परिषद्का कोही पनि कमरेडले भूलचुकले पनि नबोल्न आग्रह छ । विघटन बिल्कुल जायज थियो, त्यही कारण आज एमाले यहाँ छ’ ओलीले भने ।

एमालेका नेता भीम रावल, घनश्याम भुसालहरुले प्रतिनिधिसभा विघटन गलत भएको सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

ओलीले एमाले र माओवादी केन्द्रबीचको एकता आफ्नो चाहनामा भएको दाबी गरे । ‘कम्युनिस्टहरुको एकता एकीकरण कुनै बाध्यता थिएन । तर, मेरो च्वाइस थियो’ अध्यक्ष ओलीले भने, ‘धेरै कोशिस गरेँ मैले एकता जोगाउनलाई तर, सम्भव भएन ।’

‘मलाई थुन्ने षड्यन्त्र भयो’

अध्यक्ष ओलीले आफूले अल्पमतमा परेर पनि कम्युनिस्ट एकताका लागि आफूले पहल गरेको जिकिर गरे । ‘आफू एक तिहाइ भन्दा कम हुने कुरा बुझ्दा बुझ्दै मैले एकता एकीकरणको काम अगाडि बढाएँ । तर, एकतापछि नै षड्यन्त्र सुरु भयो’ ओलीले भने ।

आफूलाई फौजदारी अभियोग लगाएर थुन्ने योजनासहित प्रचण्डले १९ बुँदे राजनीतिक प्रतिवेदन ल्याएको ओलीले बताए । ‘फौजदारी अभियोग पार्टीले लगाएर, पार्टीको स्थायी कमिटीले पास गरेर, केन्द्रीय कमिटीले पास गरेर अगाडि बढेपछि मुद्धा चलाएर थुन्दा त त्यो त दुनियाँलाई हो जस्तो हुने भयो नि’ उनले भने ।

आफूलाई थुन्नेसम्मको षडयन्त्र चिर्दै पार्टी र संगठन जोगाउन प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको प्रष्टीकरण छ । ‘एमाले र माओवादीको एकता वस्तुतः कायम रहेन । त्यसलाई कायम राख्ने हो भने फेरि जनतामा गएर जनादेश लिएर आउनुपर्यो भनेर प्रतिनिधिसभा विघटन गरेँ । त्यो लोकतान्त्रिक नै थियो’ अध्यक्ष ओलीले भने ।
चुनौती स्वीकारेर मुकाविला गर्न तयार

स्थानीय तहको निर्वाचनमा एमाले एकातिर र पाँच दल अर्कोतिर भएको भन्दै ओलीले चुनौती स्वीकार्न तयार रहेको बताए । ‘एमाले एकातिर, गठबन्धन अर्कोतिर छ । हाम्रा अगाडि चुनौतीहरु छन् । व्यवधानहरु पैदा गर्न खोजिएको छ । र ती चुनौतीहरुको मुकाविला गर्न तयार छौं’ ओलीले भने ।

उनले पछिल्लो समय एमालेको इतिहासकै बढी संगठन विस्तार भएको र त्यही आधारमा पार्टीले चुनाव जित्ने दाबी गरे । पाँच दलीय गठबन्धनसँग एमालेलाई गाली गर्ने एजेण्डा मात्र रहेको तर एमालेसँग देश बनाउने दृष्टिकोण रहेको ओलीले बताए ।

‘माधव नेपालको भाषण सुन्नुहुन्छ एमालेलाई सिध्याउने ! कठैबरा माधव नेपालले एमाले सिध्याउने ?’ ओलीले भने, ‘एक पटक त एमालेको सूर्य चिह्न पत्तासाफ हुने भयो रे । सूर्यमा पत्ता नै हुँदैन के को साफ हुनु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?