+
+

पोखरामा एमाले कि एकीकृत समाजवादी ? यस्तो छ हिसाबकिताब

अमृत सुवेदी अमृत सुवेदी
२०७९ वैशाख ८ गते २१:०४

८ वैशाख, पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीको जन्मै यस्तो बेलामा भयो, जतिबेला राष्ट्रिय राजनीतिमा नेकपा एमाले एकातिर र अरु दल अर्कातिर थिए । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटकसम्म संसद विघटन गरेपछि उत्पन्न राजनीतिक विवादले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले २ भदौ २०७८ मा एकीकृत समाजवादी बनाएका थिए ।

मूलधारको पार्टी फुटेर बनेको नयाँ दलले शायदै अरु दलबाट यस्तो साथ, समर्थन र सहयोग प्राप्त गरेको होला, जुन माधव नेपालको दलले पायो ।

‘माधव नेपालको पार्टीको जन्म नै एउटा राजनीतिक विशेष परिस्थितिमा एमाले विभाजनबाट भयो र त्यो परिस्थितिमा अन्य पार्टीहरु पनि सँगै थिए । जसका कारण स्थानीय स्तरसम्म एकीकृत समाजवादीमाथि कसैले कटाक्ष वा अपमान गरे, त्यसको कांग्रेस, माओवादी, जनता समाजवादीजस्ता पार्टीका नेता कार्यकर्ताले पनि प्रतिरक्षा गरे,’ पृथ्वीनारायण क्याम्पसमा राजनीति शास्त्रका अध्यापक दीपक पराजुली भन्छन्, ‘पार्टी विभाजन हुँदा वा जन्मिँदा चर्चा हुने भएपनि सबै पार्टीको सद्‍भाव यसरी मिल्दैनथ्यो ।’

पोखरामा पनि धनराज आचार्यको नेतृत्वमा एकीकृत समाजवादीले संगठन बनाउँदा सत्तारुढ दलहरु उत्साहित भए । किनकी एकातिर एकीकृत समाजवादीले एमालेलाई कमजोर बनाउने र सत्तारुढ दलहरुबीच गठबन्धन गर्दा पछिल्लो तीन कार्यकाल एमालेले नेतृत्व गरेको पोखरा महानगरमा यो पटक आफू पुग्ने आश गरेका थिए ।

तर गठबन्धनमा हुने भागबण्डामा एकीकृत समाजवादीले नै पोखराको मेयर पाउँछ भन्ने कमैले कल्पना गरेका थिए । किनकी एमालेबाट फुटेर ८ महिनाअघि बनेको नेकपा एकीकृत समाजवादीको उपस्थिति सबभन्दा कमजोर गण्डकी प्रदेशमा छ । एमालेभित्र दुई लाइन संघर्ष चल्दा नै माधवकुमार नेपाल समूह गण्डकीमा कमजोर थियो ।

एमालेमा नेपाललाई साथ दिएकाहरु पार्टी विभाजन हुँदा एकीकृत समाजवादीमा आएनन् । गण्डकीका २७ प्रदेशसभा सदस्यमध्ये कोही पनि एकीकृत समाजवादी आएन भने ८५ स्थानीय तहमध्ये आँधीखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल क्षेत्रीले मात्र एमाले छाडिन् । तर सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा त्यही प्रदेशको एक मात्र महानगरपालिकाको नेतत्व एकीकृत समाजवादीको भागमा पर्‍यो ।

एमालेको अफर छाडेका धनराज

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने स्थानीय तहको निर्वाचनसम्मै गठबन्धन जाने र पोखरामा एकीकृतकै भागमा पार्ने दाबी गर्दै आएका थिए ।

नेताहरुका अनुसार त्यही कारण हुनसक्छ, कास्कीमा एकीकृत समाजवादी विस्तारमा सक्रिय आचार्यलाई नेकपा एमालेले मेयरको अफर गरेर माउ पार्टीमै फर्किन आग्रह गर्दा पनि अस्वीकार गरे ।

‘कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराई नै उठ्न सक्ने बलियो पात्र भएकाले धनराजलाई पोखराको मेयर दिने र पार्टीमा पनि सम्मानजनक पद दिने गरी एमालेमा फर्किन पटक पटक छलफल गरिएको थियो,’ एमालेका एक नेता भन्छन्, ‘तर उनले स्वीकारेनन् ।’

पाँचदलीय गठबन्धनभित्र भागबण्डाबारे पेचिलो छलफल भइरहेका नेता बेला माधवकुमार चैत २९ गते पर्वत, बागलुङ पुगेर फर्किएपछि पोखरा बसेका थिए । त्यही बेला आचार्यसहितका नेताहरुले पार्टीको सदस्यता, अहिलेको अवस्था र निर्वाचनमा टिकट पाए जित्ने आधारबारे ब्रिफिङ गरेका थिए ।

‘त्योभन्दा अगाडिदेखि नै पोखराको मेयर भागबण्डामा एकीकृत समाजवादीलाई पार्ने र एमालेको गढ मानिने गण्डकी प्रदेशको सदरमुकाम र एकमात्र महानगरमा जीत निकाल्नुपर्ने वचन नेता नेपालले दिइसकेका थिए,’ एकीकृत समाजवादीका एक केन्द्रीय नेताले भने, ‘पोखराको मेयर जितेर देखाउने गरी तयारी थाल्न नेपालले निर्देशन दिएर काठमाडौं फर्केका थिए ।’

कांग्रेसको अडान

मेयरमा एकीकृत समाजवादीले दाबी गरेपछि पोखराको दोस्रो ठूलो दल नेपाली कांग्रेसले भने यसलाई स्वीकार्न सकेन । ३० चैतमा कांग्रेसका नेताहरु मेयर आफ्नै दलको हुनुपर्ने मागसहित पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौं पुगे ।

पूर्वसांसद यज्ञहादुर थापाको नेतृत्वमा कास्की सभापति किशोरदत्त बराल, प्रतिनिधि तथा प्रदेश सभा समिति सभापति, महानगर समितिका पदाधिकारीहरुले काठमाडौंमा देउवालाई भेटेर पोखरामा कांग्रेसले मात्र मेयर जित्ने सक्ने बताएका थिए । तर देउवाले साझा उम्मेदवार बनाउन नसक्ने, यसअघि पटकपटक हारेका हारेको मात्र स्मरण गरेनन्, गठबन्धनका अप्ठेरा बुझ्नुपर्ने भन्दै मेयर एकीकृत समाजवादीलाई दिने संकेत गरे ।

पोखराको मेयर एकीकृत समाजवादीले पाउने पक्का भएपछि ५ वैशाखमा कास्की कांग्रेसमा तरंग फैलियो । गठबन्धनको बैठक चलिरहेका बेला कांग्रेसका जिल्ला सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले एकीकृत समाजवादीसँग सम्बन्ध टुटेको विज्ञप्ति निकाले ।

तर सभापति देउवाले गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र पूर्व सांसद यज्ञबहादुर थापालाई काठमाडौं बोलाएर विवाद नझिक्न र गठबन्धनको जसले टिकट पाए पनि जिताउन निर्देशन दिए ।

त्यसलगत्तै पोखराको एकीकृत समाजवादीलाई दिने सहमति सत्ता गठबन्धनको बैठकमा भयो । कांग्रेसका नेता तथा कार्यकर्ताले भने त्यसलाई स्वीकार्न नसक्ने र कांग्रेसकै नेतृत्व हुनुपर्ने माग समेत राखे । केन्द्रीय नेतृत्वविरुद्र विद्रोह नै गर्ने भन्दै पार्टी कार्यालयमा तालाबन्दी समेत रहेको महानगर समितिले ७ गते साँझ १८ जना मेयर र ११ जना उपमेयरको नाम केन्द्रमा सिफारिस गर्‍यो । अहिले पनि कांग्रेसको असन्तुष्टि कम भएको छैन ।

गठबन्धनमा देखिएको यही किचलोले एमालेलाई भने राहत महसुस गराएको नेताहरु बताउँछन् ।

कति सजिलो छ एकीकृत समाजवादीलाई ?

पाँचदलीय गठबन्धनमा मेयरको टिकट पाउन एकीकृत समाजवादीले जति कठिन भयो, मेयर जित्न त्यो भन्दा गाह्रो छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा २०७४ मा १ लाख ६८ हजार ६८ मतदाता थिए । अहिले ३९ हजार ६ सय ४५ मतदाता थपिएर २ लाख ७ हजार ७ सय १२ पुगेको छ । अघिल्लो निर्वाचनमा मेयर, उपमेयर र ३३ वटा वडामध्ये २२ वडामा एमाले र ११ वटामा कांग्रेसले जितेको छ ।

एमालेबाट निर्वाचित पोखराका कुनै पनि जनप्रतिनिधिले पार्टी विभाजन हुँदा एकीकृत समाजवादी रोजेनन् । अघिल्लो निर्वाचनकै परिणामले माओवादी केन्द्र कमजोर देखाएको छ भने जनता समाजवादी र राष्ट्रिय जनमोर्चा त्योभन्दा कमजोर छन् ।

अघिल्लो निर्वाचनमा एमालेका मानबहादुर जिसी ६० हजार १ सय १८ मतसहित मेयर निर्वाचित भएका थिए । कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याएका थिए, जसलाई माओवादी केन्द्रले समेत सघाएको थियो ।

५६ हजार ४ सय ५८ मत ल्याएर एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङले उपमेयरमा चुनाव जित्दा कांग्रेस उम्मेदवार सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याएकी थिइन् । मेयर कांग्रेसलाई सघाएर उपमेयरमा मात्र उम्मेदवारी दिएको माओवादी उम्मेदवार गोमा ढकालले ८ हजार ७ सय ९६ मत ल्याएकी थिइन् ।

कांग्रेसमै क्रियाशील सिरोजविजय कोइरालाले उपमेयरमा उम्मेदवारी दिएका थिए । उनले २ हजार १ सय ९९ मत ल्याएका थिए । मेयरमा २ हजार २७२ मत ल्याएको राप्रपाले उपमेयरमा २ हजार ८४० मत ल्याएको थियो । तत्कालीन संघीय समाजवादी फोरमले ३ हजार १७० ल्याउँदा उपमेयरमा १ हजार ३०३ मत ल्याएको थियो ।

अघिल्लो निर्वाचनको मत परिणामलाई हेर्दा अहिले पनि एमालेलाई पोखरामा सहज छ ।

अहिले एमाले विभाजन भएर एकीकृत समाजवादी बनेको छ । तर एकीकृत समाजवादीबाट भएको क्षति संघीय समाजवादीका मेयरका उम्मेदवार हुम गुरुङ, जनता समाजवादीका नेता गणेश गुरुङ लगायत एमाले प्रवेशबाट पूर्ति भएको एमालेको दाबी छ ।

त्यसैले अघिल्लो निर्वाचनमा करिब १४ हजार मतान्तरले जीत निकालेको एमालेले यसपालि पनि १० देखि १५ हजार मतान्तरले विजयी हुने दाबी गरेको छ ।

तर एकीकृत समाजवादीका नेताहरुले भने गठबन्धनमा आवद्ध दलहरुले अनुशासनपूर्वक भोट हाले ८ देखि १० हजार मतान्तरले एमालेलाई हराउने दाबी गरेका छन् । पोखरामा ५ हजारभन्दा बढी संगठित सदस्य र २०/२५ हजार मतदाता रहेको उसको दाबी छ, जसलाई गठबन्धनमै आवद्ध दलले पत्याएका छैनन् ।

‘डालोको मत मानोमा खन्याउँदा राम्रो रिजल्ट आउँदैन,’ कास्की कांग्रेस सभापति किशोरदत्तले बुधबारसम्म भनिरहेका थिए, ‘एमाले त्यसैपनि बलियो छ । पोखरामा जित्न मेयर कांग्रेसले पाउनुपर्छ ।’

तर एकीकृत समाजवादीले पाउने पक्का भएपछि भने बरालले गठबन्धनको किचलो सल्ट्याएर कार्यकर्तालाई बुझाउन सकियो भने गठबन्धनले जित्ने बताएका छन् ।

भूगोल र उम्मेदवारले फरक पार्छ !

राज्य पुनर्संरचना गर्दा लेखनाथ नगरपालिकालाई गाभेर भूगोलका हिसाबले पोखरा देशकै ठूलो महानगरपालिका बनाइएको छ । लेखनाथवासीको तीव्र विरोधका बाबजुद पनि पोखरामा लेखनाथ गाभिएको थियो । स्थानीय तहको निर्वाचनमा त्यही क्षेत्रका मानबहादुर जिसी एमालेबाट मेयरको उम्मेदवार बने भने कांग्रेसले बैदामका रामजी कुँवरलाई उठायो ।

पोखरा महानगरमा सेती वारी र पारी भनेर छुट्याउने चलन छ । महानगरपालिकाबाट सेती वारी क्षेत्रमा मात्रै विकास केन्द्रित भएको र सेती पारी क्षेत्रमा विकास नभएको विश्लेषण हुने गरेको छ ।

अहिले पनि दुई भूगोलका मानिस भावनात्मक हिसाबले जोडिइनसकेको तत्कालीन लेखनाथ नगरपालिकाको महिलो मेयर शालिकराम पौडेल बताउँछन् । ‘अब चुनावमा पनि भूगोल जोड्ने गरी को उम्मेदवार हुन्छ र उसको व्यक्तित्व कस्तो छ भन्ने कुराले जित हार गराउन सक्छ,’ पौडेलले भने, ‘लेखनाथ क्षेत्रबासीले अहिले पनि पोखराको महसुस नै गर्न सकेका छैनन् ।’

गठबन्धनबाट एउटा उम्मेदवार (पोखरा क्षेत्र) सेती वारी र अर्को सेती पारी (लेखनाथ क्षेत्र)बाट मिलाएर उठाउन सक्यो भने चुनाव जित्न सक्ने देखिन्छ भने एमालेको हकमा त्यस्तै लागु हुने देखिन्छ । एकीकृत समाजवादीबाट मेयरका लागि ३ जनाको नाम सिफरिस भएको छ ।

धनराज आचार्य, श्रीनाथ बराल र दिलु पन्तको नाम मेयरको आकांक्षीमा छन् । पूर्व स्ववियु सभापति हुँदै विभिन्न संघ, संस्था र लामो समय एमालेबाट बिताएका धनराज त्यही क्षेत्रका हुन् । लामो समय एमालेमा गुजारेका, जिल्ला विकास समिति कास्कीको पूर्वउपसभापति समेत बनेका बराल अहिले एकीकृत समाजवादीका गण्डकी उपाध्यक्ष छन् । पन्त एकीकृत समाजवादीकी केन्द्रीय सदस्य हुन् ।

३ जना आकांक्षी भएपनि गठबन्धनको बैठकमै अध्यक्ष नेपालले मेयरमा धनराजको नाम लिएर कुरा गरेका थिए । कुन महानगर कसले लिने भन्ने छलफल गर्दा सम्भावित उम्मेदवारबारे पनि छलफल भएको थियो । त्यसक्रममा नेता नेपालले धनराजको नाम लिएकाले उनले नै टिकट पाउने नेताहरु बताउँछन् ।

लेखनाथ क्षेत्र पोखरा–३३ का आचार्यले लामो समय एमालेमा रहेर काम गरेको र त्यो क्षेत्रमा भिजेकाले उनले एमालेकै मत काट्न सक्ने अनुमान धेरैको छ । अब कांग्रेसले उपमेयरको उम्मेदवार कसलाई बनाउँछ र गठबन्धनले नयाँ मतदातालाई कति आकर्षित गर्न सक्छन् भन्नेमा पनि निर्भर हुनेछ ।

एमालेमा १२ जना मेयरका आकांक्षी छन्, जसमध्ये प्रदेशसभा सदस्य कृष्ण थापा र राजीव पहारीको उम्मेदवार बन्ने सम्भावना सकिएको छ । बिहीबार एमाले सचिवालयको बैठकमा गण्डकी र लुम्बिनी प्रदेशमा कुनै पनि बेला सरकार परिर्वतन हुनसक्ने भन्दै प्रदेशसभा सदस्यलाई स्थानीय तहमा उम्मेदवार नबनाउने निर्णय गरेको छ । पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले निवेदन दर्ता नगरे पनि उनले टिकट पाउनेसक्ने चर्चा एमालेवृत्तमा छ ।

मञ्जुदेवीले मेयरको टिकट पाइन् भने लेखनाथ क्षेत्रबाट रश्मी आचार्य वा दीलिप न्यौपानेको उपमेयरको उम्मेदवार हुनसक्ने अनुमान पनि नेता कार्यकर्ताको छ । धनराजको व्यावसायिक साझेदारसमेत रहेका एमालेका पुष्पज्योति ढुंगानालाई प्रमुख दाबेदारका रुपमा हेरिएको छ ।

उनीहरु मिलेर धेरै ठाउँका हाइड्रोमा लगानी गरेका छन् । धनराजकै गाउँका रश्मी आचार्यलाई मेयर बनाउनसक्ने आंकलन पनि एमालेजनमा छ । एमाले वा गठबन्धनबाट कसले चुनाव जित्छ भन्ने विषय भूगोल र उम्मेदवारको व्यक्तिगत सम्बन्धले पनि फरक पार्ने पोखराका पूर्व मेयर शालिकराम पौडेल बताउँछन् ।

झनै ठूलो मतान्तर जित्छौं : एमाले

स्थानीय निर्वाचन २०७४ मा करिब १४ हजार मतान्तरले चुनाव जितेको एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्दा झन् ठूलो मतान्तरले जित्ने दाबी गरेको छ ।

पहिले एमालेले २२ वटा वडा जितेकोमा अहिले २६ वटा जित्ने र मेयर, उपमेयर दुबै एमालेकै हुने एमाले पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दीलिप न्यौपानेले दाबी गरे । कांग्रेस एक्लै प्रतिस्पर्धामा आउँदा कम मतान्तर हुन सक्थ्यो तर कांग्रेसको वैशाखी टेकेर सानो पार्टी प्रतिस्पर्धामा आउँदा झनै मतान्तर बढ्ने उनको दाबी छ ।

‘यसै पनि एमाले बलियो छ, त्यसैमाथि गठबन्धनमा एकमना छैन, हुने कुरा पनि होइन, त्यसले एमालेलाई फाइदा छ,’ न्यौपानेले भने, ‘गठबन्धनप्रति आकर्षण छैन । ४/५ वटा दलका उम्मेदवारलाई भोट हाल्नै महाभारत छ । कार्यकर्ता परिचालनमै समस्या छ । उम्मेदवारी र प्रचारप्रसार पनि प्रभावकारी हुँदैन ।’

एमालेबाटै विभाजन भएको पार्टी भए पनि कार्यकर्ताले कुनै व्यक्ति नभइ पार्टी र चुनाव चिह्नलाई माया गर्ने उनको दाबी थियो । ‘१/२ जना आफन्त परिवारको मत तान्छु भनेर एमालेकै धेरै मत ल्याउँछु भन्ने नसोचे हुन्छ । पार्टी नै छोडेर हिँडेपछि हिजोको लिगेसीले चुनाव जित्छु भन्नु दिवास्वप्न हुने छ,’ न्यौपानेको धनराजप्रति लक्षित भनाइ थियो ।

अब हामीबीच किचलो रहँदैन : गठबन्धन

गठबन्धनका नेताहरुले भने टिकटको बाँडफाँट नहुँदासम्म आफ्नो दलले नेतृत्व पाउनुपर्छ भन्ने अडान राख्नु स्वभाविकै भएपनि चुनावमा किचलो नहुने बताएका छन् । यसै पनि गठबन्धनको मत धेरै भएकाले यसपटक एमालेलाई हराउन सबै एक भएर लाग्ने नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालले बताए ।

‘पार्टीभित्र देखिएका असमझदारी हटाउन सकियो भने जितित्छ । अहिलेको जस्तै विग्रह रहिरह्यो भने गठबन्धनको हातबाट फुस्किन पनि सक्छ,’ बरालले भने, ‘भागबण्डा सकिएर चुनावमा होमिइसकेपछि मनोनयनसँगै पार्टीभित्रका असमझदारीहरु हट्ने छन् । गठबन्धनलाई नहालेर अन्त कहाँ हाल्ने त मत ? एमालेलाई हाल्न त झनै सकिँदैन । त्यसले गठबन्धन चुस्त हुन्छ, जित्छ ।’

एकीकृत समाजवादी कास्की अध्यक्ष आचार्यले टिकटको टुंगो नलाग्दासम्म हामीले नै नेतृत्व पाउनुपर्छ भनेर अडान गर्नु राजनीतिक नेता, कार्यकर्ताको धर्म नै भएको र अब सबै टुंगो लागिसकेपछि गठबन्धन कुनै पनि कुराले नबिच्किने दाबी गरे ।

‘वडा तहको टुंगो लगाउन अहिले पनि बैठक बसिरहेका छौं । सबैको अस्तित्व स्वीकार गरेर मिलेर जानुको विकल्छ छैन,’ उनले भने, ‘गठबन्धनमा किचलो छ भनेर कोही खुसी नभए हुन्छ, हामी जीततिर लम्किसक्यौं ।’

माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले सुरुमा गठबन्धनमा खटपटजस्तो देखिए पनि अब टिकटको टुंगो लागिसकेपछि त्यस्तो नरहने बताए । ‘म आफैं पनि मेयरको दाबेदार थिएँ । माओवादीले पाउनुपर्छ भन्ने अडान मेरो पनि थियो तर केन्द्रीय नेताहरुले टुंगो लगाइसकेपछि अब मिसनका साथ लाग्ने हो,’ लामिछानेले भने ।

जनता समाजवादीका नेता किरण थापा भन्छन्, ‘गठबन्धनको ठूलो दल भनेकाले सबै दलको अस्तित्व स्वीकार गर्नुपर्छ र मर्यादा पनि कायम राख्न सक्नुपर्छ भनेका थियौं । अब सबै पार्टी एक भएर गठबन्धनलाई जिताउने अभियानमा लागिसक्यौं ।’

कांग्रेसबाहेक अरुले टिकट पाउँदा ठूलो मत संख्या सानोमा मिसाउनुपर्ने भएकाले केही प्रतिशत मात्रै पनि तलमाथि भए पनि नतिजा उल्टो आउन सक्ने भएकाले सचेत रहेको कांग्रेस नेताहरु बताउँछन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?