+
+

एमाले घोषणापत्र : पहिले गरम, अहिले नरम

रामकुमार डिसी रामकुमार डिसी
२०७९ वैशाख ९ गते २१:४६

९ वैशाख, काठमाडौं  । अघिल्लो स्थानीय तह निर्वाचनमा आक्रामक चुनावी घोषणापत्र सार्वजनिक गरेको नेकपा एमाले यसपटक भने त्यसैको वरिपरि तर केही नरम भएर प्रस्तुत भएको छ ।

शुक्रबार मात्रै सरेको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको घोषणापत्रका अधिकांश विषय अघिल्लो चुनावमा उठाइएका भन्दा तात्विक हिसाबले फरक छैनन् ।

कतिपय बुँदामा पुरानै घोषणापत्रको भाव आउने शब्दहरूलाई परिमार्जनसहित राखिएका छन् । एमालेको ४८ पृष्ठ लामो स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र अघिल्लोपटकको तुलनामा कमजोर देखिन्छ । एमालेले २०७४ सालको स्थानीय चुनावमा प्रस्तुत गरेको र अहिले सार्वजनिक गरेको घोषणापत्रमा के फरक त छ त ? यहाँ तुलनात्मक ढंगले केलाइएको छ ।

अघिल्लो पटक सपना, यसपटक आवरण

एमालेले घोषणापत्रमा गरेको एउटा देखिने परिवर्तन हो, आवरण । अघिल्लो स्थानीय तहको निर्वाचनका लागि बनाइएको घोषणापत्रको आवरणमा रेल सञ्चालनलाई प्राथमिकता दिएको थियो । पहाडी भूभागमा केबुलकार र सहरी क्षेत्रमा रेल सञ्चालन गर्ने कुरा अध्यक्ष ओलीले भाषणमार्फत चर्चामा ल्याएका थिए । ओलीको चर्चा चुलिएको बेला बनाइएको उक्त घोषणापत्रमा एमालेले रेललाई आवरणमा मात्रै राखेको थिएन, प्राथमिक एजेन्डासमेत बनाएको थियो ।

‘नेपाल आफैंले निर्माण गर्ने र पाँच बर्षभित्र सम्पन्न गर्ने गरी काठमाडौं-तराई द्रूत मार्गको काम अगाडि बढाइने छ,’ घोषणापत्रमा उल्लेख थियो, ‘तराई मधेसको हुलाकी राजमार्गलाई आधुनिक सुविधायुक्त राजमार्गका रुपमा निर्माण सम्पन्न गरिने छ  । पूर्व-पश्चिम राजमार्गलाई ६ लेनमा स्तरोन्नत गरिने छ ।’

यसपटक घोषणापत्रको आवरणमा नै रेलको सपना पूरा गरेको भन्ने भावमा प्रस्तुत गरिएको छ । पुनर्निर्माण गरिएको धरहरलाई विशेष ‘फोकस’ गर्दै जयपुर-जनकपुर रेल मार्गमा रेल कुदाइएको, सिंहदरबार लगायतको पुनर्निर्माण गरिएको, सभाहल बनाइएको र पोखरा लगायतका विमानस्थललाई आवरणमा समेटिएको छ ।

अघिल्लोपटक देखाइएको सपना यसपटक पूरा गरिएको दाबी घोषणापत्रको आवरणमा नै गरिएको छ ।

उस्तैउस्तै चुनावी नारा

एमालेले अघिल्लोपटकको घोषणापत्रको नारामा उही भावसहित अलिकति परिमार्जन गरेको छ । अघिल्लोपटक गाउँदेखि केन्द्रसम्म एमालेको सरकार भए समृद्धि आउने नारा दिएको एमालेले यसपटक पालिकामा मात्रै सीमित गरेको छ । ‘समृद्धि, समानता र सबल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्म एमालेको सरकार’ एमालेले ०७४ सालको स्थानीय निर्वाचनमा दिएको नारा थियो  । ‘सुशासन, समृद्धि र समाजवादको आधार पालिका-पालिकामा एमालेको सरकार’ एमालेले यसपटकको घोषणापत्रमा उल्लेख गरेको छ ।

अघिल्लो चुनावमा घरघरमा बिजुली र हरेक व्यक्तिमा त्यसको शेयर हुने नारा दिएको थियो । ‘घर-घरमा बिजुलीः जन-जनमा शेयर’ अघिल्लो चुनावमा एमालेले तय गरेको नारा थियो । बिजुलीको व्यापार गरेर समृद्ध हुने सपना घोषणापत्रमा देखाइएको थियो  । यसपटक भने उक्त नारालाई केही परिमार्जन गरेर उदेश्यसमेत स्पष्ट पारिएको छ । ‘आधुनिक ऊर्जाः उज्यालो पालिका’ नारा दिएको घोषणापत्रमा ‘विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय बृद्धि र पर्यावरण संरक्षण गर्ने, प्रत्येक नागरिकका घरमा विद्युतीय सुविधा उपलव्ध गराउने र विपन्न परिवारलाई घरायशी प्रयोगको लागि  निशुल्क विद्युत उपलव्ध गराउने’ वाचा गरिएका छन्  ।

अघिल्लोपटक राष्ट्रव्यापी यातायातको पूर्वाधारले सामाजिक-आर्थिक रुपान्तरणको आधार भनिएको थियो । ‘सामाजिक-आर्थिक रुपान्तरणको आधारः राष्ट्रव्यापी यातायात पूर्वाधार’ त्यतिबेलाको नारा थियो । यसपकटको घोषणा पत्रमा त्यसलाई परिमार्जन गरेर ‘सहज आवागमनको आधारः दिगो यातायात पूर्वाधार’ बनाइएको छ ।

अघिल्लो पटक एमालेले कृषिको आधुनिकीकरण गरेर सबल अर्थतन्त्र निर्माण गर्ने नारा दिएको थियो । ‘नेपाली अर्थतन्त्रको सबलीकरणः कृषिको आधुनिकीकरण’ अघिल्लो घोषणापत्रको नारा थियो । यसपटक त्यसमा केही बुँदा थप गरेर त्यही भावलाई समेटिएको छ । ‘सिंचाईको विस्तार, कृषि-भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने’ विषय यसपटक एमालेले राखेको छ ।

प्राथमिकतामा हेरफेर

एमालेले प्राथमिकताहरूलाई पनि परिर्वतन गरेको छ  । अघिल्लोपटक उर्जा व्यापार र समृद्धिलाई सुरूमै राखेको एमालेले यसपकट शिक्षालाई पहिलो र स्वास्थ्यलाई दोस्रो प्राथमिकतमा राखेको छ । ‘राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा, आधुनिक शैक्षिक पूर्वाधार’ अघिल्लोपटक एमालेले तय गरेको नारा थियो  । यसपकट त्यही नाराको भाषा बदले उल्लेख गरिएको छ, ‘गुणस्तरीय शिक्षाको आधारः प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार’ ।

एमालेले स्वास्थ्यका विषयमा दिएको पुरानो नारालाई संक्षिप्त बनाएर यसपटककको घोषणापत्रमा पनि दोहोर्‍याएको छ । ‘स्वास्थ्य बीमा, निःशुल्क उपचारः स्वस्थ नागरिक, जिम्मेवार सरकार’ अघिल्लो पटकको चुनावी नारा थियो  । ‘निरोगी नेपाल, स्वस्थ नेपाली’ यसपटक राखेको नारा छ ।

अघिल्लो घोषणापत्रमा राखिएका प्रेस स्वतन्त्रता, राष्ट्रिय सुरक्षाजस्ता विषय हटाएर यसपटक एमालेले युवा, महिला र जेष्ठ नागरिक सम्बन्धी विषयलाई जोड दिएको छ । यसले अघिल्लोपटकको तुलनामा प्राथमिकता बदलेको आभाष हुन्छ । ‘सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा’, ‘समानतातर्फको महिला यात्राः समाजवाद-उन्मुख राज्यको विशेषता’, ‘खुशी जेष्ठ नागरिक, सखुी बालबालिकाः अपाङ्गमैत्री सबै पालिका’ एमालेले यसपटक विशेष जोड दिएर राखेका नारा छन् ।

अघिल्लो पटकका कार्यक्रममा सैद्धान्तिक लेपन

२०७४ को स्थानीय तहको निर्वाचका लागि बनाइएको घोषणा पत्रमा धेरै कार्यक्रम समेटिएका थिए । स्थानीय तहका लागि बनाइएको घोषणापत्रमा राखिएका धेरै बुँदा स्थानीय सरकारको ल्याकतमै नरहेका विषयसमेत थिए  ।

 

यसपटक भने एमालेले त्यतिबेला आक्रामक शैलीमा बाँडेका ठूृला आश्वासनलाई बदलेर यसपटक नीति र प्राथमिकतामा मात्रै राखेको छ । त्यही नीतिमा केन्दि्रत भएर स्थानीय पालिकाले आफ्नो विशेषता अनुसार घोषणापत्र बनाउने एमालेको भनाइ छ । स्थानीय कमिटीहरूले केन्द्रले दिएको यही सुविधालाई उपयोग गर्दै आ-आˆना प्राथमिकता समेटेर प्रतिबद्धता तयार पारेका छन् ।

२०७४ को घोषणा पत्रमा यातायातसम्बन्धी नीतिमा धेरै महत्वकांक्षी विषय राखेको थियो । ‘आगामी १० बर्षभित्र सम्पन्न हुने गरी नेकपा -एमाले) सरकारले सडक, रेल, हवाई, जलमार्ग, पदमार्ग, केबलकार तथा घोडेटो र गोरेटो बाटो निर्माण, विस्तार एवम् स्तरोन्नतिका वृहत् परियोजना सञ्चालन गर्नेछ,’ ०७४ को घोषणापत्रमा भनिएको थियो । त्यस्तै पाँच वर्षभित्र सबै राजमार्गहरूको विस्तार तथा स्तरोन्नति हुनेगरी आधुनिक प्रविधिको प्रयोग गर्दै काम अघि बढाइने, काठमाडौं-तराई द्रूत मार्गको काम नेपाल आफैले निर्माण गर्ने र पाँच बर्षभित्र सम्पन्न गर्ने गरी अगाडि बढाइने एमालेको आश्वासन थियो । साथै, तराई मधेसको हुलाकी राजमार्गलाई आधुनिक सुविधायुक्त राजमार्गका रुपमा निर्माण सम्पन्न गरिने र पूर्व-पश्चिम राजमार्गलाई ६ लेनमा स्तरोन्नत गरिने एमालेको वाचा थियो ।

यसपटको घोषणा पत्रमा भने त्यही विषयलाई फरक ढंगले समेटेको छ । अघिल्लोपटक उठाइएका यी विषयलाई यसपटक संक्षेपमा राख्दै प्राणालीको विकास गर्ने भनिएको छ । ‘सार्वजनिक यातायात प्राधीकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस र र्यापिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने,’ यसपटकको घोषणापत्रमा भनिएको छ ।

अघिल्लोपटक एक घर, एक रोजगार भनेर महत्वकांक्षी कार्यक्रम राखेको थियो । पुरानो घोषणापत्रको नारा थियो, ‘नेकपा (एमाले) को सरकार बनेको तीन बर्षमै ‘एक घरः एक रोजगारी’ सुनिश्चित गरिने छ  । १० बर्षभित्रमा १८ बर्ष पुगेका प्रत्येक नागरिकले रोजगारी पाउने गरि कार्ययोजना सुरु गरिनेछ ।’ यससँगै प्रत्येक गाउँ/नगरपालिकामा कृषि, पशुपंछी पालन, फोहरमैला व्यवस्थापन, जैविक उर्जा, घरेलु, लघु र मझौला उद्योगहरू, शीत भण्डारहरू सञ्चालनका माध्यमबाट ठूलो मात्रामा रोजगारी एवम् स्वरोजगारी सिर्जना गर्ने वाचा एमालेले गरेको थियो ।

यसपटकको घोषणापत्रमा एमालेले त्यही विषयलाई अलिकति परिमार्जन गरेर रोजगारीका नीतिगत कुरा मात्रै उठाएको छ । ‘सार्वजनिक, निजी र सहकारी माध्यमद्वारा औद्योगीकरण गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, सामाजिकसुरक्षा कार्यक्रम मार्फत् श्रमिकहरूको हक संरक्षण गर्ने’ यसपटकको घोषणापत्रमा उल्लेख गरिएको छ ।

रोजगार सूचना केन्द्रलाई थप प्रभावकारी बनाउँदै बेरोजगारी अवस्थाको तथ्यांक संकलन र सूचना प्रणाली विकास गर्ने, बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध गर्ने तथा स्वरोजगार बन्न चाहनेलाई सहुलियत ऋण वा अनुदान सहयोग उपलव्ध गराउने आश्वासन एमालेले दोहोर्‍याएको छ ।

माओवादीको ‘सफ्ट’ आलोचना

अघिल्लो पटकको घोषणापत्रमा एमालेले नेकपा माओवादी केन्द्रको चर्को आलोचना गरिएको थियो । अराजकता, अस्थिरता र अवसरवादको पर्याय भन्दै एमालेले अघिल्लो पटकको घोषणापत्रमा माओवादीलाई आलोचना गरेको थियो । ‘नेपालको राजनीतिमा अराजकता, अस्थिरता र अवसरवादको पर्याय’को रुपमा नेकपा (माओवादी-केन्द्र) देखापरेको छ,’ घोषणापत्रमा उल्लेख थियो, ‘यसको जन्मदेखि हालसम्मका गतिविधिहरुले नेपाल राष्ट्रलाई कमजोर बनाउने र देशमा विभाजन, विग्रह र द्वन्द्व सिर्जना गर्दै नेपालको प्रगतिमा अवरोध उत्पन्न गरेका छन्  ।’

एमालेले पूर्ववर्ती माओवादी पार्टी विभिन्न समूहमा विभाजित भएपछि कायम भएको माओवादी-केन्द्र राष्ट्रिय हित र स्वाभिमानका विषयहरूबाट विमुख भएर सत्ता केन्दि्रत राजनीतिको आहालमा डुबिरहेको प्रतित भइरहेको उल्लेख गरेको थियो ।

यसपटको घोषणापत्रमा माओवादी केन्द्रसँगै एकीकृत समाजवादीलाई समेत नाम उल्लेख नगरी एमालेले उस्तै आलोचना दोहोर्‍याएको छ । ‘आफूलाई वामपन्थी भन्ने केही व्यक्ति र समूहको वैचारिक स्खलन र राजनीतिक विचलन उदांगो भएको छ ,’ घोषणापत्रमा उल्लेख गरिएको छ, ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थीहरूलाई सरकारको नेतृत्व सुम्पनु मुलुककै नेतृत्वदायी शक्तिका रूपमा स्थापित कम्युनिस्ट आन्दोलनलाई विभाजित गरेर त्यसको एउटा हिस्सलाई नेपाली कांग्रेस नेतृत्वको मोर्चाभित्र एउटा मामुली अंगका रूपमा विलय गर्नु र स्थायित्व एवं समृद्धिको अभियानलाई विफल पार्न निर्णायक भूमिका खेल्नुले उनीहरू दक्षिणपन्थी अवसरवादलाई अभिव्यक्त गरेको छ ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?