+
+

गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने, प्रतिस्पर्धा गर्ने सहमति

विकास मरहट्टा विकास मरहट्टा
२०७९ वैशाख १० गते १५:२०

१० वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबारसम्म भएको छलफलमा सहमति नभएपछि अब मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निश्कर्षसहित नेताहरु उठेका छन् ।

आठवटा बैठकमा पनि दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारी गरेको नेपाली कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले बताए । ‘गठबन्धन गर्ने विषयमा दलहरुबीच आठ पटक बैठक बस्यो, तर आठवटै बैठकमा दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारीमा पुग्यौं’ उनले भने ।

नेकपा माओवादी केन्द्रका जिल्ला नेता लोकप्रसाद बञ्जराले पनि पटक पटक बैठक बस्दा पनि सहमति नभएपछि आ–आफ्नै सुरले चुनाव लड्ने भनेर बैठक अन्त्य गरेको बताए । ‘हामीले पाँच वटा पालिका मागेका थियौ तर त्यसमा सहमतिको सम्भावना देखिएन’ उनले भने ।

केन्द्रबाट पहल भएमा सहमतिको प्रयास हुन सक्ने भएपनि अब जिल्ला संयन्त्र बैठकको सम्भावना नरहेको नेता बञ्जराले बताए ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यान प्रसाद भट्टले पनि तालमेलको सम्भावना टरेको बताए । सहमतिका लागि पटक पटक प्रयास गर्दा पनि भागबण्डामा कुरा नमिलेपछि आफ्नै तरिकाले चुनाव लड्ने तयारी गरिएको उनले जानकारी दिए ।

नेताहरुका अनुसार ११ वटा स्थानीय तह रहेको गोरखामा नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले ५ र जनता समाजवादी पार्टीले २ स्थानीय तहको नेतृत्व नछाड्ने अडान राखेका छन् । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने स्थानीय तहको नेतृत्व मागेको छैन ।

जनता समाजवादी पार्टीले पालुङटार नगरपालिका र कुनै एक गाउँपालिकाको नेतृत्व आफूहरुले माग गरेको थियो ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेतले केन्द्रबाट कुनै निर्देशन आएमा गठबन्धन हुने अन्यथा त्यसको सम्भावना टरेको बताए । ‘गठबन्धन टिकाउन हामीले हदैसम्मको लचकता अपनाउन तयार छौं, तर अरु दलबीच नै कुरा नमिलेपछि अब बैठकको औचित्य र सम्भावना पनि सकियो,’ उनले भने ।

२०७४ सालको मतपरिणाम हेर्दा

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोरखा र पालुङटार नगरपालिकासहित ७ वटा स्थानीय तहको नेतृत्व जितेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रले दुईवटा गाउँपालिकाको नेतृत्व जितेको थियो ।

पालिका अध्यक्षले पाएको मत हिसाब गर्दा कांग्रेसले सबै पालिकामा गरी कुल ३८ हजार ५६३ मत ल्याएको थियो । माओवादी केन्द्रले भने ३४ हजार ९५५ मत ल्याएको थियो ।

नेकपा एमालेले १७ हजार ८१६ मत र जनता समाजवादी पार्टीले १४ हजार २६४ मत ल्याएका थिए ।

सत्तारुढ गठबन्धनका सबै दलबीच सहमति हुने सम्भावना सकिएको बताएका नेताहरुले गठबन्धनकै एक अर्का दलसँग तालमेलको गृहकार्य भने गरेका छन् ।

नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग तालमेलका लागि छलफल अघि बढाएको छ । सत्ता गठबन्धनकै कतिपय दलले भने नेकपा एमालेसँग गोप्य रुपमा तालमेलको तयारी पनि गरेको नेताहरु निकट स्रोत बताउँछन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?