+
+

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डा मिलेन

टोपराज शर्मा टोपराज शर्मा
२०७९ वैशाख १० गते १९:५२

१० वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा भागबण्डा मिल्न नसक्दा पाँच दलीय सत्ता गठबन्धन धरापमा परेको छ । मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि दलहरुले भागबण्डा मिलाउन नसक्दा तालमेलका आधारमा नभई छुट्टाछुट्टै उम्मेदवारी दर्ता हुने सम्भावना देखिएको छ ।

भागवण्डा मिलाउन बसेका दलहरुको पटक पटकका वैठक निश्कर्षहीन हुंदै आएका छन् ।

गठबन्धनको प्रमुख दल कांग्रेसले लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये ७५ वटामा नेतृत्व दावी गरिरहेको छ । माओवादी केन्द्रले ४० वटामा दावी गरिरहेको छ । नेकपा एकीकृत समाजवादीले एमालेले जितेका ४३ मध्ये कम्तीमा २० पालिकाको प्रमुख पाउनुपर्ने माग गरिहेको छ ।

जनता समाजवादीले २२ पालिकाको प्रमुख र २५ पालिकामा उपप्रमुख पाउनु पर्ने दावी गरेको छ । जसपाले पहाडका ६ जिल्लामा ६ जना उपप्रमुख, दाङको एक पालिका प्रमुख र एक उपप्रमुख माग गरेको थियो । तर गठबन्धनका अन्य दलले उक्त मागमा बेवास्ता गरेपछि जसपा पाँच दलीय कार्यदलको वैठकमा उपस्थित हुन छाडेको छ ।

राष्ट्रिय जनमोर्चाले आफूले जितेका दुई पालिकामा प्रमुख र दोस्रो स्थानमा रहेका ४ वटामा उपप्रमुख मागेको छ । गत स्थानीय चुनावमा प्रदेशका १०९ पालिकामध्ये एमालेले ४३, कांग्रेसले ३३, माओवादी केन्द्रले १९, जसपाले ८, राष्ट्रिय जनमोर्चाले २, स्वतन्त्र ३ र राप्रपाले एक पालिका प्रमुख जितेका थिए ।

कांग्रेस बाहेकको गठबन्धन हुनसक्छ : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले नेपाली कांग्रेसले अरु दललाई बेवास्ता गरेर एकलौटी गर्न खोजेकाले सहमति जुट्न नसकेको बताए ।

आफ्नो दलको राम्रो संगठन भएको ठाउँमा उम्मेदवार हुन नदिने र कमजोर भएको ठाउँमा मात्रै नेतृत्व दिन खोज्दा सहमति टाढिएको गुरुङले बताए ।

‘हामीलाई २०७४ को मतको आधारमा भागबण्डा स्वीकार्य छैन’, गुरुङले भने, ‘एमालेले जितेकामध्ये आधा पाउनुपर्छ भन्ने अडान हो, यसमा पनि दुई–चार पालिका तलमाथि हुन सक्थ्यो तर सहमति गर्नै नखोजेपछि कांग्रेस इतरको ४ दलको गठबन्धन गर्ने तयारीमा छौं ।’

कांग्रेसको व्यवहारले उपमहानगरपालिकामा भएको सहमति पनि भत्किन सक्ने गुरुङले चेतावनी दिए । शनिबार साँझसम्म कुनै पालिकामा पनि भागबण्डा नमिलेको गुरुङले बताए ।

पहाडमा नदिने, मधेशमा नछाड्ने भएपछि के को गठबन्धन ?

जसपा लुम्बिनीका मुख्य सचिव यज्ञ पोखरेलले गठबन्धनमा आवद्ध ठूला दलहरुले आफ्नो दललाई मधेशवादी दल भनेर पहाडमा नेतृत्व दिन नचाहेको बताए ।

‘पहाडका जिल्लामा दिनै नचाहने, मधेशमा हाम्रो सम्भावना भएको पालिकामा अरुले छाड्नै नचाहने देखिएपछि हामी कार्यदलको वैठकमै जान छाड्यौं’, पोखरेलले भने, ‘गठबन्धन प्रभावकारी र सफल हुन्छ भन्ने देखिएन ।’

दलहरुबीच भागबण्डामा सहमति नजुट्दा रुपन्देही, बाँके, रोल्पा, कपिलवस्तु, नवलपरासी र प्युठानका २५ स्थानीय तहमध्ये झण्डै डेढ दर्जन पालिकामा गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भइसकेको छ । जसमा रुपन्देहीका मात्रै ६ पालिका छन् ।

केन्द्रबाट सहमति भएको नेपालगञ्ज उपमहानगरको भागबण्डामा जसपाको स्थानीय नेतृत्वले असहमति जनाउँदै जिल्लाभर गठबन्धन नगर्ने बताइसकेको छ । ५ दलीय संयन्त्रले दलहरुबीच भागबण्डा मिलाउन नसकेपछि सहमति जुटाउन ५ सदस्यीय कार्यदल गठन गरेको थियो । तर त्यसले पनि कुनै सहमति जुटाउन सकेको छैन ।

गठबन्धनको ठूलो दल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि सहमतिको प्रयास जारी राख्दै गठबन्धन जोगाउने पक्षमै आफूहरु रहेको बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?