+
+

एमालेले टुंग्यायो ५ महानगरको उम्मेदवार, काठमाडौंमा केशव स्थापित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते २१:०६

१० वैशाख, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बसेको एमाले सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौं महानगरको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

एमालेको महानगर कमिटीले वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्व मेयर स्थापित, नगर अध्यक्ष निर्मल देउजा र इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो भने प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धरको पनि लबिङ थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सिफारिस भएकाभन्दा फरक व्यक्तिलाई अघि सार्न सक्ने समेत बताएका थिए । तर स्थापितले नै टिकट पाएका छन् ।

उपमेयरको टिकट पाएकी डंगोलले भने मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मिस नेवाः समेत रहेकी उनले चुनावी घोषणापत्र समेत सार्वजनिक गरेको अवस्थामा एमालेबाट उपमेयरको टिकट पाएकी हुन् ।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाइएको छ ।

नगर कमिटीबाट उनीहरुको मात्र नाम सिफारिस भएको थियो । मेयरको टिकट पाएका व्यञ्जनकार २०७४ मा पनि चिरिबाबु महर्जनसँग केही सय मतान्तरले पराजित भएकी थिइन् भने मञ्जली पूर्व माओवादी समूहबाट एमालेमा आएकी हुन् ।

पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

पोखराको मेयरका लागि १२ जनाले दाबी पेश गरेका थिए । जसमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहबीच प्रतिष्ठाको लडाइँ भइपछि मतदान गर्ने तय समेत भइसकेको थियो । तर अन्तिम समयमा हस्तक्षेप गरेर मतदान राखेको उम्मेदवार छनोटमा पनि कम चर्चामा रहेका पौडेललाई छनोट गरिएको छ । लामो समय शिक्षक आन्दोलनमा जोडिएका उनी ओली निकट मानिन्छन् ।

उपमेयरको टिकट पाएकी मञ्जुदेवीले यो पटक उम्मेदवारीका लागि दावी नै पेश गरेकी थिइनन् । तर अरु ११ दाबेदारलाई छाडेर एमालेले उनलाई टिकट दिएको छ ।

भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । नगर कमिटीले उनको मात्र नाम सिफारिस गरेको थियो । टिकट पक्का जस्तै भएकाले उनले बाग्मती प्रदेशसभाको सदस्यबाट समेत राजीनामा दिइसकेका छन् ।

एमालेले उपमयरको उम्मेदवार टुंग्याएको छैन । राप्रपासँग तालमेलको प्रयास गर्ने, नभए गीता श्रेष्ठलाई उम्मेदवार बनाउने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।

एमालेले वीरगञ्ज महानगरको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर जितेका उनी टिकट पाउने शर्तमै उनी एमाले प्रवेश गरेका थिए । एमालेले उपमेयर भने चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई छाडेको छ ।
बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ । मेयरमा सागर गापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने सम्भावना छ । तर अध्यक्ष ओलीले थप अध्ययन गरेर मात्र मेयर र उपमेयरको उम्मेदवारबारे निर्णय गर्ने सहमति भएको एक पदाधिकारीले बताए ।

एमाले सचिवालय बैठकले ९ वटा उपमहानगरको पनि उम्मेदवार टुंग्याएको छ । जनकपुर र जितपुर सिमरा उपमहागरको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी छ ।

बाँकीमा प्रमुख र उपप्रमुख दुबै उम्मेदवार टुंगो लगाएको छ । जसअनुसार धनगढीको मेष्रमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारुले टिकट पाएका छन् ।

नेपालगञ्जमा पशुपतिदयाल मिश्रलाई मेयर र शान्तिदेवी ढकाललाई उमपेयरको उम्मेदवार बनाइएको छ । मिश्र मेयरको टिकट पाउने शर्तमा केही महिना पहिले एमाले प्रवेश गरेका थिए ।

तुलसीपुरको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई टिकट दिएको एमालेले घोराहीको मेयरमा भने नरुलाल चौधरीलाई फेरि उम्मेदवार बनाएको छ । उनी २०७४ मा एमालेबाट घोराहीको मेयर चुनिएका थिए । उपप्रमुखमा भने हिमाकुमारी डिसीलाई टिकट दिने निर्णय भएको छ ।

एमालेले बुटवलको मेयरमा बाबुराम खड्का र उपमेयरमा साबित्रादेवी अर्याल, हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाएको छ ।

धरान उपमहानगरमा मञ्जु भण्डारीलाई मेयरको टिकट दिइएको छ । उनी वर्तमान उपमेयर हुन् । धरानको उपमेयरमा भने पदम लिम्बुलाई उम्मेदवार बनाएको एमालेले इटहरीको मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगिता चौधरीलाई टिकट दिएको छ ।

एमाले सचिवालयले कलैया उपमहानगरको मेयरमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपमेमरमा रोशन प्रविणको सम्भावना छ । यसबारे अध्यक्ष र उपपाध्यक्षले निर्णय गर्ने सहमति जुटेको छ ।

जनकपुरमा शिवशंकर साहको सम्भावना छ । एमाले प्रदेश कमिटीले उनकै नाम सिफारिस गरेको छ । तर लोकतान्त्रिक समाजवादी पार्टीबाट जानकीराम साह पनि एमाले प्रवेश गरेका छन्, जो मेयरका टिकटका आकांक्षी हुन् । त्यसैले यसबारे अध्यक्षलाई नै निर्णय गर्ने अधिकार दिइएको एक पदाधिकारीले जानकारी दिए ।

जितपुर सिमराको मेयर र उपमेयरबारे पनि ओली नै निर्णय गर्ने एमालेले बताएको छ ।

यी पनि पढ्नुहोस्
पोखराको मेयरमा एमालेले उम्मेदवार बनाएका दिपक पौडेल को हुन् ?

काठमाडौंको मेयर उठ्ने घोषणा गरेकी सुनितालाई एमालेले बनायो उपमेयरको उम्मेदवार

समाजवादीले टुंग्यायो महानगर र उपमहानगरको उम्मेदवार, पोखरामा धनराज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?