+
+

गोरखा कांग्रेसले कुनै पनि दलसँग तालमेल नगर्ने

बिकास मरहट्टा बिकास मरहट्टा
२०७९ वैशाख ११ गते १२:१४

११ वैशाख, गोरखा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोरखामा अन्य दलसँग तालमेल नगर्ने भएको छ । आइतबार जिल्ला कार्यसमिति बैठक बसेर एकल रुपमा चुनाव लड्ने निर्णय गरिएको पार्टी जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

‘सत्ता गठबन्धनमा रहेका अन्य दलका केही साथीहरुको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण गठबन्धन टिकेन,’ बैठकपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले अन्य दलहरुसँग तालमेल नगरी एक्लै चुनाव लड्ने निर्णय कांग्रेसले गरेको हो ।’ शनिबार बसेको गठबन्धनको संयन्त्र बैठकमा पनि दलहरुले आ–आफ्नो हिसाबले चुनाव लड्ने निर्णय गरेका थिए ।

चुनावी तालमेलका लागि आफूहरुले हदैसम्मको लचकता अपनाएको न्यौपानेले बताए । ‘केन्द्रीय समितिले बनाएको नीति अनुसार २०७४ सालको स्थानीय तह चुनावमा जुन दलले जहाँ जितेको छ, जसको मतभार बढी छ त्यही उसको रहने र बाँकीमा संगठनको अवस्था हेरेर सिट बाँडफाँट गर्ने भन्ने थियो, त्यही नीतिलाई टेकेर हामीले यसअघिको चुनावमा जितेको ९ पालिका र ४५ वडा माग्यौं, माओवादीले ६ पालिका दावी गर्यो र जनता समाजवादी पार्टीले तीन वटा पालिका माग्यो, त्यसमा हामी लचक भएर सात पालिकासम्म झर्यौं तर उहाँहरुले त्यति लचकता नदेखाएपछि गठबन्धन टुटेको हो,’ उनले भने ।

तीन पालिका, २५ वडा र १०० सदस्य मागेको जसपाले शुरुदेखि नै पार्टीको सांगठनिक अवस्था एकीन गर्नका लागि मित्रवत प्रतिस्पर्धामा जाने प्रस्ताव गर्दै आएको उनले बताए । त्यसकै कारण पनि गठबन्धन टुट्न सहयोग पुगेको उनको भनाइ छ । नमिलेको खण्डमा मित्रवत प्रतिस्पर्धा गर्न सकिने केन्द्रको प्रावधान समेत रहेकाले कांग्रेस एकल रुपमै चुनावमा लड्ने निर्णय गरेको उनले जानकारी दिए ।

उनका अनुसार जिल्लाको एघार वटै पालिका र ९४ वटै वडामा कांग्रेसले उम्मेदवारी दिने छ । उम्मेदवारको टुंगो भने आइतबार साँझसम्म लागिसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?