+
+

एमालेमा अन्तरसंघर्ष बढ्दा केशव स्थापितलाई टिकट !

सइन्द्र राई सइन्द्र राई
२०७९ वैशाख ११ गते २०:३३
केशव स्थापित/फाइल तस्वीर

११ वैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको उम्मेदवार चयन गर्न विभिन्न ६ आधारलाई मापदण्ड बनाएको थियो । तर शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउँदा भने एउटै मानक तय गरियो– सबै हिसाबले जित्न सक्नेलाई टिकट ।

‘लगभग सबै नेताहरुको तर्क सबै हिसाबले जित्नेलाई टिकट दिनुपर्छ भन्ने नै थियो । पार्टी निर्णय त्यही आधारमा भयो’, एक पदाधिकारी भन्छन् । सबै हिसाबले जित्ने व्यक्तिलाई टिकट दिने निर्णयमै परे पूर्वमेयर केशव स्थापित पनि ।

२५ वर्ष पहिले स्थापितले काठमाडौं महानगरपालिकाको मेयर जितेका थिए । फेरि उनैलाई टिकट दिने एमाले निर्णयपछि स्थापितले आइतबार नै प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् । प्रदेशसभाले राजीनामा स्वीकृत गरिसकेकाले अब काठमाडौं महानगरपालिकामा एमालेबाट मेयर पदमा स्थापितको उम्मेदवारी पर्दैछ ।

एमालेले जित्ने उम्मेदवारका रूपमा स्थापितलाई चयन गर्दा मेयर बन्ने दौडमा अरू नेता पनि थिए । वर्तमान मेयर विद्यासुन्दर शाक्य, एमाले महानगर कमिटी अध्यक्ष निर्मल देउला र नेता इन्दिरा पन्तको नाम महानगर कमिटीले सिफारिस गरेको थियो । संघीय सांसद रामबीर मानन्धरले पनि मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । तर उनीहरुभन्दा बढी मत ल्याउने आकलनसहित स्थापितलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले नेताहरू तर्क गर्छन् ।

तर तथ्य भने स्थापित मेयरको उम्मेदवार बन्नुमा सबै हिसाबले जित्ने भन्दा पनि एमालेभित्र बढेको अन्तरसंघर्षले बढी काम गरेको एक नेता बताउँछन् । ‘कसलाई मेयरको उम्मेदवार बनाउने भन्नेमा पार्टीभित्र प्रष्ट दुई लाइन थियो । त्यो होडमा केशव स्थापितले जित्नुभयो’, ती नेता भन्छन् ।

शनिबार स्थापितलाई उम्मेदवार बनाउने पार्टी निर्णय हुनुअघिसम्म पनि शाक्यको पक्षमा नेताहरू लबिङमै थिए । शाक्यलाई अध्यक्ष ओली निकटकै एक खेमाले साथ दिएका थिए । अघिल्लो पटक मेयरको उम्मेदवार बनाउन र जिताउन साथ दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेताहरु सुजिता शाक्य, निर्मल कुइँकेल लगायतले शाक्यलाई यसपटक पनि साथ दिएका थिए । यी नेताहरू भन्दा बलियो साथ भने शाक्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकी थिइन् ।

‘मुलुकको सर्वोच्च निकायमा रहेपनि राष्ट्रपतिले एमालेको आन्तरिक राजीनितिमा भूमिका खेल्ने गरेको तथ्य ओपनसेक्रेट हो । विद्या सुन्दर शाक्य उहाँ (राष्ट्रपति भण्डारी) को विश्वासिला पात्रमा पर्छन्’, एमालेका एक जिल्ला नेता भन्छन् ।

२०४९ र ०५४ को चुनावमा काठमाडौं–२७ को वडाध्यक्ष जितेका शाक्यलाई २०७४ मा पनि राष्ट्रपतिकै जोडबलमा मेयरको उम्मेदवार बनाइएको थियो । तर यसपटक भने शाक्यको मेयर दोहोरिने चाहना पूरा हुन सकेन । जबकी फेरि जित्नेगरी काम गरेको मेयर शाक्यले बताउने गरेका थिए । विशेष गरी रैथाने समुदायलाई खुसी पारेको उनको अभिव्यक्ति हुने गर्थ्यो ।

तर एमालेभित्र भने शाक्यलाई फेरि उम्मेदवार बनाए जित्न नसकिने निष्कर्ष स्थापित गराउने प्रयत्न भयो । ‘बैठकमै मेयरको चर्को आलोचना हुने । फेरि विद्यासुन्दरलाई उम्मेदवार बनाए जित्न गाह्रो हुने कुरा त मेयरका उम्मेदवार सिफारिस गर्न बसेको बैठकमै उठेको थियो’, एक नेता भन्छन् ।

त्यो समूहले भने केशव स्थापितलाई मेयरको उम्मेदवारका रुपमा अगाडि बढाएका थिए । यो खेमाका कृष्णगोपाल श्रेष्ठ, अजय क्रान्ति, बिना श्रेष्ठ लगायत नता लागिपरेका थिए । काठमाडौं जिल्ला कमिटी अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका कृष्ण राई पनि स्थापितकै पक्षमा उभिएका थिए । अध्यक्ष ओली निकटकै नेताहरू दुई खेमामा विभाजित भएकै कारण लगातार छलफल हुँदा पनि उम्मेदवार टुंगिन सकेको थिएन ।

जबकी ललितपुर, भरतपुर र वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार सर्वसम्मत चयन भए । वीरगञ्जमा अध्यक्ष ओली आफैं अगाडि बढेर विजय सरावगीलाई मेयरको उम्मेदवारसहित जनता समाजवादी पार्टी (जसपा)बाट पार्टी प्रवेश गराएका थिए । ललितपुर र भरतपुरमा महानगर कमिटीबाटै सर्वसम्मत उम्मेदवार चयन भए ।

तर काठमाडौं, पोखरा र विराटनगर महानगरपालिकामा भने आन्तरिक संघर्षकै कारण उम्मेदवार टुंगिन सकेको थिएन । अन्तरसंघर्षका आधारमा नेताहरुले गरेको तर्क र लिएको अडानमा अध्यक्ष ओलीले भने शक्ति सन्तुलन मिलाउने गरी उम्मेदवार टुंग्याएको देखिन्छ ।

गएको मंसिरमा सम्पन्न चितवन महाधिवेशनपछि ओली निकट नेताहरू दुई खेमामा विभाजित छन् । एउटा खेमामा ईश्वर, शंकर लगायत छन् भने अर्काे खेमाको नेतृत्व सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ लगायतले गरेका छन् । यिनै दुई खेमाबीचको अन्तरसंघर्षले महानगरहरुमा मेयरको उम्मेदवार टुंगिन सकेको थिएन ।

तर उम्मेदवार टुंगिन बाँकीमध्ये काठमाडौं र पोखराको उम्मेदवार शनिबारको बैठकबाट टुंगिएको छ । ‘सचिवालय बैठक बस्नु अगाडि नै नेताहरुबीच लगभग सहमति भइसकेको थियो । त्यहाँ धेरै तर्कवितर्क नै भएन’, बैठकका एक सहभागी भन्छन् ।

बैठकले पोखरा महानगरमा दीपक पौडेललाई टिकट दिइएको छ । पोखरामा उम्मेदवारका आकांक्षी सिफारिसमै आन्तरिक मतदानको तयारी भएको थियो । पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको अडानले सिफारिस समेत टुंगिन नसकेपछि मतदानको विकल्प अपनाइएको थियो । तर सिफारिसमै हुन लागेको मतदान रोकेर प्रदेश सांसदहरु कृष्ण थापा र राजीब पहारीसहित १२ जनाको नाम पार्टी केन्द्रमा पठाउँदा दीपक पौडेलको पनि नाम पठाइएको थियो ।

शिक्षक पृष्ठभूमिका पौडेल एमाले निकट शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष समेत भएका थिए । ५ पुस २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि मात्रै उनी पार्टीको कार्यकारी भूमिकामा आएका हुन् । नेकपा फुट्दा ओलीतिर उभिदै पौडेल पोखरा महानगर कमिटीको अध्यक्ष बनेका थिए ।

पोखरामा पौडेललाई टिकट दिइने भएपछि काठमाडौंमा शाक्य रोकिए । तर राष्ट्रपति भण्डारीलाई मनाउन पोखराको उपमेयरमा मञ्जु गुरूङलाई टिकट दिने निर्णय भएको छ । पोखरा महानगरका वर्तमान उपमेयर गुरुङ राष्ट्रपति भण्डारी निकट हुन् । आकांक्षा नराखेपनि फेरि टिकट दिइएकोमा मञ्जुले आपत्ति जनाएकी छन् । यसले पनि पार्टीभित्रको शक्ति संघर्ष मिलाउनेगरी महानगरको उम्मेदवार टुंग्याइएको पुष्टि हुन्छ ।

महानगरको मृगतृष्णा

एमालेभित्रको अन्तरसंघर्षको लाभ भने पूर्वमेयर स्थापितलाई मिलेको छ । अध्यक्ष ओली युवा संघ (तत्कालीन राष्ट्रिय प्रजातान्त्रिक युवा संघ) को संस्थापक अध्यक्ष हुँदा महासचिव रहेका स्थापितको ‘सपना’ पनि महानगरकै नेतृत्व हो । त्यसका निम्ति उनी ३६ वर्षदेखि महानगरको पदाधिकारीको आकांक्षी बन्दै आएका छन् ।

०४३ को नगरपञ्चायतको चुनावमा उनी काठमाडौंमा उपप्रधानपञ्चका उम्मेदवार थिए । तत्कालीन मालेले उनलाई उम्मेदवार बनाएको थियो । त्यो चुनावपछि स्थापितको सपना नै महानगरको नेतृत्व बन्यो । ०४९ को स्थानीय चुनावमा फेरि एमालेबाट काठमाडौंको उपमेयरका उम्मेदवार बने । ०५४ मा भने उनी मेयरका उम्मेदवार बने । तेस्रो पटक उम्मेदवार बन्दा भने विजयी भए ।

राजनीतिक संक्रमणका कारण ०५९ मा स्थानीय चुनाव हुन सकेन । तर स्थापितले राजाबाट हुने नियुक्त पनि छोडेनन् । शाही मेयर स्वीकार्न तयार भएका स्थापित डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख बने । तर मनोनीत मेयर र प्राधिकरणको प्रमुख लामो समय नचलाएका स्थापित एमालेमा आउने–जाने गरे ।

०७० को दोस्रो संविधानसभामा एमालेबाट अलग भएका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबाट काठमाडौं–६ मा उम्मेदवार बने । सभासद जित्न नसकेपनि योगेश भट्टराई हार्नुको एउटा कारण उनी देखिए । तर फेरि एमालेमै फर्किएका स्थापित २०७४ को स्थानीय चुनावमै मेयरका आकांक्षी थिए ।

तर विद्यासुन्दर शाक्यले टिकट पाएपछि स्थापित प्रदेशसभा सदस्यको चुनाव लडे, र जिते । काठमाडौं–६ माओवादी केन्द्रको भागमा परेपछि स्थापित प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए । मुख्यमन्त्री बन्ने सर्तमा प्रदेशसभा सदस्य बनेको सार्वजनिक दाबी गरेका स्थापित बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद बढेपछि स्थापितलाई मन्त्रीबाट हटाइएको थियो ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?