+
+

गायिका राधिका हमाल गाउँपालिका अध्यक्षमा सिफारिस

उम्मेदवारी नदिने राधिकाको भनाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १८:४९

११ वैशाख, रोल्पा । नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा लोक दोहोरी गायिका राधिका हमाललाई सिफारिस गरेको छ । तर उनले उम्मेदवारी दिन अस्वीकार गरेकी छन् ।

आफूलाई विश्वास गरेर उम्मेदवार सिफारिस गरेकामा धन्यवाद दिँदै उनले स्वास्थ्य समस्याका कारण उम्मेदवारी नदिने अनलाइनखबरसँग बताएकी छन् ।

सत्ता साझेदार दलबीच गठबन्धनको प्रयास असफल भएपछि कांग्रेसले रोल्पाको सबै स्थानीय तहमा आइतबार उम्मेदवार सिफारिस गरेको थियो । त्यस क्रममा त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गायिका हमालको नाम सिफारिस गरेको थियो ।

२०७४ सालमा कांग्रेसले हमाललाई त्रिवेणी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएको थियो । तर उनी पराजित भएकी थिइन् ।

कांग्रेसले त्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा लेखमणि डाँगीलाई सिफारिस गरेको छ । उपाध्यक्षका उम्मेदवार डाँगी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हुन् ।

कांग्रेसले रोल्पा नगरपालिकाको नगर प्रमुखमा पार्टी सचिव शेरबहादुर थापालाई उम्मेदवार सिफारिस गरेको छ । उपप्रमुखमा पार्टीका प्रदेश समिति सदस्य पुष्पा श्रेष्ठ सिफारिस भएकी छन् ।

सुनिलस्मृति गाउँपालिको अध्यक्षमा गंजबहादुर महरा र उपाध्यक्षमा तेजकुमारी विष्ट सिफारिस भएका छन् । अध्यक्षका उमेदवार महरा सुनिल स्मृति गाउँपालिका वडा नं ४ का वडाध्यक्ष हुन् भने विष्ट सोही गाउँपालिका वडा नंं ३ को वडा सदस्य हुन् ।

लुंग्री गाउँपालिका अध्यक्षमा जनक विष्ट र उपाध्यक्षमा मुन्नीदेवी रोका क्षेत्री सिफारिस भएका छन् । यो स्थानीय तह २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको रोल्पाको एक मात्र स्थानीय तह हो ।

सुनछहरी गाउँपालिको अध्यक्षमा कोमबहादुर बुढामगर र उपाध्यक्षमा सोनी बुढाथोकी सिफारिस भएका छन् ।

थवाङ गाउँपालिकाको अध्यक्षमा खरिलाल डाँगी र उपाध्यक्षमा वरमाया घर्तीमगर सिफारिस भएका छन् । यस अघिको स्थानीय तह निर्वाचनमा थवाङमा कांग्रेसले विप्लव नेतृत्वको नेकपा निकट स्वतन्त्र उमेदवारसँग तालमेल गरेको थियो ।

परिवर्तन गाउँपालिकाको अध्यक्षमा विश्वकुमार चन्द र उपाध्यक्षमा सपना घर्तीमगर सिफारिस भएका छन् । अध्यक्षमा सिफारिस चन्द रोल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन् ।

गंगादेव गाउँपालिकाको अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृता खत्री सिफारिस भएका छन् । अध्यक्षका उम्मेदवार पुन नेपाली कांग्रेस रोल्पाको उपसभापति हुन् ।

कांग्रेसले माडी गाउँपालिको अध्यक्षमा गोपाल घर्तीमगर र उपाध्यक्षमा गोठी खत्री सिफारिस गरेको छ । अध्यक्षका उम्मेदवार घर्तीमगर कांग्रेस रोल्पा प्रदेश निर्वाचन क्षेत्र ख का सभापति हुन् ।

रुन्टीगढी गाउाँपालिको अध्यक्षमा जनक पुन र उपाध्यक्षमा सरिता केसीलाई सिफारिस गरेको छ । अध्यक्ष पदका उम्मेदवार पुन कांग्रेस रुन्टीगढी गाउँ सभापति समेत हुन् ।

नेपाली कांग्रेस रोल्पाले आइतबार नै सत्तारुढ गठवन्धनवाट बाहिरने निर्णय गरेको थियो । यसअघि उसले जिल्लाको ५ स्थानीय तहमा प्रमुख र ५ स्थानीय तहमा उप्रमुख सहित ३६ वटा वडाध्यक्ष दाबी गरेको थियो ।

सत्तारुढ अर्को घटक नेकपा माओवादी केन्द्र नेपाली कांग्रेसको सो दाबी पूरा गर्न मञ्जुर नभएपछि अन्य विकल्पको बारेमा पनि छलफल भएको थियो । अन्ततः नेपाली कांग्रेस रोल्पा एक्लै निर्वाचनमा जाने निर्णय सहित गठबन्धनबाट वाहिरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?