+
+

पोखरामा एमाले उपमेयरकी उम्मेदवार भन्छिन् : इच्छा थिएन, पार्टीले सोधेन !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १६:३८

१२ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट मनोनयन दर्ता गर्दै मञ्जुदेवी गुरुङले आफूलाई जनप्रतिनिधिका रुपमा दोहोरिन इच्छा नभएको प्रतिक्रिया दिएकी छन् ।

आफूले प्रमुख र उपप्रमुख दुवै पदमा आकांक्षा पनि नराखेको अवस्थामा पार्टीले इच्छाबेगर मनोनित गरेको उनको गुनासो थियो ।

नेकपा एमालेको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर, प्रमुखमा प्रस्ताव गरिएका पौडेलको दाबी गरिएको पृथ्वीचोकस्थित एक सुन पसलबाट सुन चोरेको सीसीटिभी फुटेज सार्वजनिक भएपछि उनको टिकट खोसियो । यता, उपप्रमुखमा दोहोर्‍याउने निर्णय गरेकोमा मञ्जुदेवीले अस्वीकार गरेकी थिइन् ।

तर, सोमबार बिहान पार्टीको उम्मेदवार पुनर्विचारका लागि बसेको बैठकले पोखरा पूर्वमेयरसमेत रहेका कृष्ण थापालाई मेयरमा मनोनीत ग¥यो । उपप्रमुखमा भने मञ्जुदेवीलाई यथावत राखेको थियो । तर, यस निर्णयबाट गुरुङ सन्तुष्ट भने भइनन् ।

आफूले ५ वर्ष उपप्रमुख र केही समय कार्यवाहक भएर पनि महानगरको नेतृत्व गरिसकेकाले अरुले अवसर पाउनुपर्ने मनोनयको अन्तिम समयसम्म उनको मत थियो । उनले पार्टीले आफ्नो इच्छाबेगर नै उपप्रमुखमा सिफारिस गरेको मनोनयन दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै असन्तुष्टि जाहेर गरिन् ।

‘मैले सरुमा एकपटक उपमेयर भइसके । कार्यवाहक बनेर पनि काम गर्ने अवसर प्राप्त भयो । पार्टीभित्रै पनि इच्छुक धेरै हुनुहुन्थ्यो । १२ जना मेयर हुँदा ११ जना उपमेयर हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यही भएर अरुलाई अवसर दिनुपर्छ भन्ने हिसाबले मैले इच्छा जाहेर गरेकी थिइनँ । त्यो लिस्टमा मेरो नाम पनि थिएन ।’

गुरुङले पत्रकारहरुसँग भनिन्, ‘पछि फेरि एकैचोटि माथिबाट मेरो नाम आयो । एकचोटि सोधेको भए हुन्थ्यो, ठीक छ हामीले पार्टीको निर्देशन मान्नुपर्छ । तर, पनि एक पटक सोधेको भए हुन्थ्यो ।’

यद्यपि, पोखरा महानगर उपप्रमुखमा आफूले १२ हजार मतान्तरले जित्ने दाबी गरेकी छन् । अघिल्लो चुनावमा उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार ११० मतान्तरले पराजित गरेकी थिइन् ।

मञ्जुले ५६ हजार ४४८ मत ल्याउँदा कांग्रेसकी गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन् । यसपटक गुरुङ सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटसँग मुख्य प्रतिस्पर्धा गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?