+
+

मेयरको टिकट खोसिएपछि पौडेलले भने : भिडियो झुटो हो, अध्यक्षलाई पनि भ्रममा पारियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १७:३५

१२ वैशाख, पोखरा । नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयरका आकांक्षी दीपक पौडेलले पार्टीभित्रका केही षड्यन्त्रकारीले अध्यक्ष केपी शर्मा ओलीलाई भ्रममा पारेर आफूलाई उम्मेदवार बन्नबाट रोकेको टिप्पणी गरेका छन् ।

सोमबार फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूले कामको श्रेष्ठताका आधारमा मेयरको उम्मेदवार चयन भए पनि आफ्नै पार्टीका केही षड्यन्त्रकारीले दूराग्रह राखेर  चरित्र हत्या गर्न खोजेको बताए । पौडेलले पोखराको एक सुन पसलबाट सुनको सिक्री चोरेको भिडियो सार्वजनिक भएको थियो ।

पौडेलले उक्त भिडियो झुटो भएको बताए । ‘केही आफ्नै पार्टीका षड्यन्त्रकारी तत्वहरुले दुराग्रह भावना राखी चार वर्ष अगाडिको झुट सम्पादित भिडियो बनाई चरित्र हत्या गर्न खोजे । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भ्रममा पार्ने दुस्प्रयास गरे’ उनले भनेका छन् ।

उक्त भिडियो सार्वजनिक भएपछि एमालेले पोखरामा पौडेलको सट्टा कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार थापाले मेयरमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

पौडेलले आफूमाथि लागेको आरोपको छानबिन गर्न पनि माग गरेका छन् । ‘मेरो बारेमा आएका केही भ्रमपुर्ण समाचार सर्वथा झुट रहेको व्यहोरा सबै जनसमुदाय समक्ष प्रकट गर्दछु । यदि कुनै कमीकमजोरी भए पार्टी तथा सम्बन्धित निकायबाट छानबिन गर्न अपिल गर्दछु’ उनले भने ।

पौडेलले आफू पार्टीको इमान्दार सिपाही भएको हुँदा पार्टीले गर्ने जुनसुकै निर्णय शिरोपर गर्ने बताएका छन् । उनले  पार्टीको सचिवालय बैठकले आफूलाई मेयरको उम्मेदवार तोकिसकेपछि अप्रत्यासित निर्णय आएको भन्दै त्यसविरुद्ध पार्टी कमिटीमा बहस गर्ने बताएका छन् ।

‘मैले पद पाउन भनेर अर्कालाई होच्याउने कार्य कहिल्यै गरिन, अर्कालाई मिथ्या आरोप लगाएर पदको लागि मरिहत्ते गर्ने हर्कतविरुध्द म जीवनभर संघर्ष गरिरहनेछु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?