+
+

काठमाडौंका उम्मेदवारको योजना : साँस्कृतिक शहर बनाउनेदेखि गृहणी भत्तासम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते २२:२०

१२ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन सोमबार काठमाडौंको प्रदर्शनी मार्ग भरिभराउ भयो ।

उम्मेदवारको समर्थनमा नाराबाजी मात्रै भएन उनीहरुको पक्षमा माहोल बनाउन बाजागाजासहित कार्यकर्ता तथा समर्थक प्रदर्शनी मार्ग पुगे ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गर्न करिब १ बजेतिर तामझाम ब्यानरसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभागृह पुग्यो ।

‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो’ लेखिएको ब्यानर बोक्दै राप्रपाबाट मेयरमा उम्मेदवारी दिन मदनदास श्रेष्ठ र उपमेयरमा विनिता मगैया समर्थकका साथ नाराबाजी गर्दै सभागृह पुगे ।

उम्मेदवारलाई समर्थन गर्न आएकाहरु सबै सभागृह छिर्न खोज्दा प्रहरीले उनीहरुलाई बाहिरै रोक्यो । समर्थक र प्रस्तावकलाई मात्रै सभागृह प्रवेश गर्न दिइयो ।

राप्रपाबाट मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफूले चुनाव जिते पहिलो एजेण्डा नै महानगरबाट भ्रष्टाचार अन्त्य गर्ने भएको बताए ।

उनले अव्यवस्थित काठमाडौं महानगरलाई व्यवस्थित र सुन्दर बनाउनुका साथै अव्यवस्थित फोहोरमैला व्यवस्थापन गर्ने बताए । ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानुसरह हो । मैले चुनाव जिते काठमाडौं महानगरबाट भ्रष्टाचार अन्त्य गर्छु,’ श्रेष्ठले भने ।

राप्रपाले पूरा हुन नसक्ने सपना नबाड्ने भन्दै उनले हरेक वडामा दुई देखि तीनवटासम्म ज्येष्ठ नागरिक तथा बालबाटिका निर्माण गर्ने बताए ।

यसका साथै श्रेष्ठले चुनाव जिते आफ्नो पाटीको घोषणापत्रमा उल्लेख गरिएको प्लस टुसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने जानकारी दिए ।

सभागृहको माहोल हेर्दा त्यहा कुनै जितको र्याली भन्दा कम थिएन् । उम्मेदवारलाई सभागृह भित्र प्रवेश गराउन प्रहरी तथा समर्थकलाई निकै सकस भयो । उनीहरु समर्थक र पत्रकारका क्यामेराबाट घेरिएका थिए ।

राप्रपाका उम्मेदवार आएको केही समयपछि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित र उपमेयरकी सुनीता डंगोल पुगिन् ।

स्थापितले आफू प्रमाणित मेयर भएको भन्दै बाम गठबन्धन भन्दा दोब्बर मत लिएर मेयर बन्ने बताए ।

काठमाडौं महानगरपालिकामा विकासको जग बसाल्ने आफू नै भएको भन्दै उनले फेरि पनि मेयर चुनाव जित्ने र जनताको हितमा काम गर्ने जिकिर गरे । ‘जमानामा ८४ हजार भोट ल्याए चुनाव जितेको मान्छेलाई के को चिन्ता ? लेखेर राख्नुस् गठबन्धन भन्दा दोब्बर मत ल्याएर जित्छु’ उनले भने ।

महानगरपालिकामा कांग्रेसको ४५ हजार र २०७४ मा माओवादी केन्द्रले ल्याएको ७ हजार र एकीकृत समाजवादीको ३ हजार थप्दा पनि ५५ हजार मत मात्रै पुग्ने उनको तर्क छ ।

यति मात्रै होइन स्थापितलाई लागेको यौन दुर्व्यवहारजस्तो आरोपबारे पत्रकारले प्रश्न गर्दा उनले त्यसलाई सामान्य भएको टिप्पणी गरे ।

‘आजकाल यो पागलहरुका लागि औषधि खान केही पैसा लाग्दैन् । मेरो अरु भनाइ छैन । बेलाबेला यो इस्यु उठ्छ । त्यसमा मेरो भन्नु केही छैन । विवादमा आएन भने त केशव स्थापित नै हुदैन नि’ उनले भने ।

उपमेयरकी प्रत्यासी सुनीता डंगोलले अनुभवीहरुको अनुभव, विज्ञहरुको विज्ञता र युवाको जोशलाई एकसाथ लैजान सके मात्रै काठमाडौं महानगरपालिकाको विकास हुने बताइन् ।

काठमाडौंका महिला, संस्कृतिप्रेमी, सामाजिक अभियन्ता र काठमाडौंलाई आफ्नो घर र कर्मथलो मानेर काम गरिरहेकाको पनि आवाज बोकेर उपमेयरमा उम्मेदवारी दिएको डंगोलले बताइन् ।‘काठमाडौंलाई स्वच्छ, हराभरा, साँस्कृतिक र जिवन्त बनाउन मैले उपमेयरमा उम्मेदवारी दिएकी हुँ,’ उनले भनिन् ।

करिब १ बजे नेपाली कांग्रेसको झण्डा बाकेर समर्थकहरु सभागृह बाहिर पुगे । बाजागाजासहित आएका उनीहरुले बाहिर धेरै समय गेट बाहिरै पर्खिनु पर्‍यो । कारण एमालेको उम्मेदवारले नाम दर्ता गराउन बाँकी नै थियो ।

केहीबेरमा श्रीमान प्रकाशमान सिंहका साथ बाम गठबन्धनबाट मेयरकी प्रत्यासी सिर्जना सिंह दुई छोरालाई दायाबाँया राखेर सभागृह आइपुगिन् । ‘काठमाडौंका जनजनको चाहाना यसपालि मेयरमा दिदी सिर्जना’ ब्यानरसहित कांग्रेस समर्थकहरुले नाराबाजी गरे ।

आफूले लोकतन्त्र र प्रजातन्त्रका लागि प्रकाशमानलाई चिन्नु भन्दा पहिलेदेखि नै संघर्ष गरेको भन्दै आफ्ना कुरा राख्न थालिन् ।

आफूले निर्वाचन जितेमा गरिब विपन्न महिलाको पहिचान गरेर गृहणी भत्ता, विधवा पुरुषका लागि विदुर भत्ता उपलब्ध गराउने बताइन् । यसका साथै उनले ज्येष्ठ नागरिकका लागि अस्पतालको व्यवस्था, कामकामजी महिलाका छोराछोरीका लागि डे केयर स्कूलको स्थापना गर्ने र रोजगारीको व्यवस्था गर्ने बताइन् ।

स्थापितले गठबनधनलाई दोब्बर मतले हाराउने दावा गरेका छन् तपाई के भन्नु हुन्छ भन्ने प्रश्नमा सिंहले भनेर केही नहुने भन्दै ३० गतेपछि परिणाम आउने बताइन् ।

यति भनेपछि सिर्जना आफ्ना शुभचिन्तकसँग भेटघाटमा व्यस्त भइन् । उता केशव पनि शुभचिन्तकसँग कुराकानीमा व्यस्त थिए ।

केहीबेरमा स्थापित र सिंहको जम्काभेट भयो । दुवैले एक अर्कासँग फोटो खिचाए । मेयरमा उम्मेदवारी दिन सभागृह पुग्ने ठूला दलका उम्मेदवारले केही नयाँ नारा तथा योजना भने घोषणा गरेनन् ।

राप्रपा, एमाले र कांग्रेसका मेयरले उही काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्ने, रोजगारीको सिर्जना गर्ने र काठमाडौंलाई व्यवस्थित हराभरा बनाउने कुरा नै गरिरहे ।

काठमाडौं महानगरपालिकाको स्थानीय चुनाव यिनै नारा तथा घोषणाका वरपर घुम्ने गर्छ ।

एमालेका उम्मेदवार स्थापितले काठमाडौं महानगरको समग्र विकासलाई तीव्रताका साथ अगाडि बढाउने र शिक्षा तथा स्वास्थ्यमा काम गर्ने बताएपनि उनले आफ्नो घोषणा पत्र भने सार्वजनिक गरेनन् ।

मंगलबारदेखि चुनावी प्रचारप्रसारुका लागि होटल एलो प्यागोडामा वार रुम स्थापना गर्ने र त्यही घोषणापत्र सार्वजनिक गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?