+
+

कैलालीका अधिकांश पालिकामा तालमेल भाँडियो

जनक विष्ट जनक विष्ट
२०७९ वैशाख १३ गते ९:३४

१३ वैशाख, धनगढी । उम्मेदवारी दर्ताका क्रममा कैलालीमा सत्तारुढ गठबन्धनले गरेको तालमेल भाँडिएको छ । स्थानीयस्तरका नेताहरूले गठबन्धनको प्रदेशस्तरीय नेतृत्वको समझदारीमा गरिएको भागबन्डामा असहमति जनाउँदै अधिकांश पालिकामा एकअर्का दलविरुद्ध उम्मेदवारी दिएका छन् ।

धनगढी उपमहानगरपालिकामा गठबन्धनको निर्णयअनुसार नै उम्मेदवारी परेको छ तर अन्य पालिकामा भने सहमति कार्यान्वयन भएको छैन ।

भागबन्डाअनुसार नेपाली कांग्रेसको भागमा परेको जानकी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पनि उम्मेदवार उठाएको छ ।

जानकीमा अध्यक्षमा कांग्रेसका परशुराम कठरीयाले उम्मेदवारी दर्ता गराउँदा माओवादी केन्द्रले विष्णुकुमारी बमलाई उम्मेदवार बनाएको छ । यहाँ माओवादी केन्द्रले उपाध्यक्ष पाए पनि कांग्रेसबाट उमा महतोलाई उठाएको छ भने माओवादीले जयबहादुर दहित र एकीकृत समाजवादीकी चन्द्रादेवी कामीलाई उम्मेदवार बनाएको छ ।

एकीकृत समाजवादीको भागमा परेको चुरे गाउँपालिकामा पनि गठबन्धन भाँडिएको छ । चुरेमा पनि माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले छुट्टाछुट्टै उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसका टीकाराम ढुङ्गाना जैशी, माओवादी केन्द्रका टेकबहादुर रजबार र एकीकृत समाजवादीका लोकबहादुर सारु तथा उपाध्यक्षमा कांग्रेसकी धनादेवी थापा, माओवादीकी गिलादेवी सिजाल मगर र एकीकृत समाजवादीकी कृष्णाकुुमारी खत्रीले उम्मेदवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका संयोजकसमेत रहेका लाजुराम चौधरीको कैलारी गाउँपालिका भागबन्डाका क्रममा उनकै पार्टीले पाएको थियो तर त्यहाँ पनि सहमति कार्यान्वयन हुन नसक्दा एकअर्का दलविरुद्ध उम्मेदवार उठाइएको छ ।

माओवादीबाट निवर्तमान अध्यक्षसमेत रहेका लाजुराम चौधरीले मनोनयन दर्ता गर्दा कांग्रेसका रामसमझ चौधरीले पनि उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष कांग्रेसले पाए पनि दुवै दलले उम्मेदवार बनाएका छन् । कांग्रेसबाट भगवती कुमारी चौधरी र माओवादीबाट लक्ष्मी सतगौवा थारुको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गौरीगंगा नगरपालिकामा समेत सहमती कार्यान्वयन हुन सकेको छैन । माओवादी केन्द्रले मेयर पाएको गौरीगंगामा कांग्रेसले उपमेयर उठाउने सहमति भएको थियो तर एकीकृत समाजवादीले सहमति तोड्दै उपमेयरमा आफ्नो उम्मेदवार उठाएको छ ।

कांग्रेसले उपमेयरमा भोजबहादुर बमलाई उम्मेदवार बनाउँदा एकीकृत समाजवादीले निवर्तमान उपमेयरसमेत रहेका अञ्चला चौधरीलाई उम्मेदवार बनाएको हो । मेयरमा माओवादी केन्द्रले गठबन्धनकातर्फबाट देवदत्त कंडेललाई साझा उम्मेदवार बनाएको छ ।

गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका, चुरे गाउँपालिका र कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनको सहमतिअनुसार उम्मेदवारी दर्ता नपरेका बेला अन्य स्थानीय तहमा पनि एकले अर्काे दलविरुद्ध उम्मेदवारी दिएको चर्चा छ तर निर्वाचन अधिकृतको कार्यालयले प्राविधिक कारण देखाउँदै टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, मोहन्याल र जोशीपुर गाउँपालिकामा कुन पार्टीबाट कसले उम्मेदवारी दिए भन्ने कुरा सार्वजनिक गरेको छैन । रुजु गर्ने काम भइरहेकाले अझै समय लाग्ने बताइएको छ ।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिकामा भने सहमतिअनुसार गठबन्धनले साझा उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट र एकीकृत समाजवादीका सचिव खडकबहादुर रावत ढिलो गरेर गठबन्धनमा भागबन्डाको सहमति जुटेका कारण केही स्थानीय तहमा उम्मेदवारी दर्ताका क्रममा कार्यान्वयन नहुुनुलाई स्वभाविक ठान्छन् ।

‘साथीहरूले ढिलो समझदारी गरेका कारणले हामीले समयमै स्थानीयस्तरका नेता र कार्यकर्ताहरू माझ छिटो सन्देश पठाउन सकेनौं, त्यसैले धेरै ठाउँमा समस्या देखिएको छ’ कांग्रेस सभापति भट्टले अनलाइनखबरसँग भने, ‘तर त्यो सहमति कार्यान्वयन गर्न सबै दृढताका साथ उभिन्छौं र कार्यान्वयन हुनेमा विश्वस्त छुु ।’

उनले उम्मेदवारी फिर्ता लिने समय बाँकी भएकाले आपसी छलफलका आधारमा एकाअर्काविरुद्ध परेको उम्मेदवारी फिर्ता लिने प्रयास गरिने बताएका छन् । एकीकृत समाजवादीका सचिव रावतको भनाइ पनि उस्तै छ । उनी भन्छन्, ‘भागबण्डाका क्रममा जिल्ला तहमा सझदारी गर्न ढिलाइ भएकाले नेता तथा कार्यकर्तामा विद्रोहको भाव पैदा भएको हो । किनकि उहाँहरुले तयारी गरिसक्नुुभएको थियो ।’ यो विषयमा माओवादी केन्द्रका नेताहरूसँग पनि प्रतिक्रिया माग्न खोज्दा उनीहरू सम्पर्कमा आएनन् ।

कांग्रेसभित्र झनै किचलो

सत्तारुढ गठबन्धनका दलहरुबीच व्यापक असन्तुष्टि देखिएका बेला प्रमुख घटक नेपाली कांग्रेस भने आन्तरिक किचलोमा फसेको छ ।

कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गरेको निर्णयमाथि हस्तक्षेप गर्दै प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको सिफारिसमा एउटै पालिकामा दुई उम्मेदवार बनाइएपछि समस्या भएको छ ।

लम्कीचुुहा नगरपालिकाको मेयर र घोडाघोडी नगरपालिकाको उपमेयरमा दुई जनालाई टिकट दिएपछि विवाद भएको छ । यी दुवै पालिकामा आधिकारिक उम्मेदवारको विषयमा टुङ्गो लाग्न बाँकी छ ।

प्रदेश सभापति बलायरले लम्कीको मेयरमा भक्तबहादुर थापालाई टिकट दिएका बेला केन्द्रीय सभापति देउवाले सुशीला शाहीलाई दिएपछि विवाद भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार त्यहाँ दुवै जनाको उम्मेदवारी परेको छ तर आधिकारीक उम्मेदवारको विषयमा टुङ्गो लाग्न बाँकी छ भने घोडाघोडी नगरपालिकाको उपमेयरमा बलायरले रिता चौधरी र देउवाले गुलिया चौधरीलाई टिकट दिएछि समस्या भएको छ । त्यहाँ पनि आधिकारिक उम्मेदवारको विषयमा विवाद छ । तर कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट भने लम्कीचुुहामा सुशीला र घोडाघोडीमा गुलिया नै पार्टीको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् ।

यति मात्र होइन टिकट वितरणमा अराजक प्रवृत्ति देखाएको भन्दै कांग्रेस कैलालीका उपसभापति खेमराज चौधरी, सचिव नृपबहादुर सुनार र सदस्य प्रकाश बमले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । उनीहरूले उम्मेदवारको वैधानिकतामाथि समेत प्रश्न उठाएका छन् ।

‘जिल्लामा रहेको संसदीय बोर्डले गाउँपालिकाको उम्मेदवार छनोट गर्नुपर्ने वैधानिक व्यवस्था हुुँदाहुुँदै आज बिहान साढे ७ बजे संसदीय बोर्डको बैठक आहृवान गरेको तर बैठक नै नगरी उम्मेदवारी वितरणका लागि गरिएको टिकट वितरणको हचुवा र अराजक प्रवृत्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

विगतदेखि नै दुई समूहमा रहेको नेपाली कांग्रेस कैलालीमा हालै सम्पन्न अधिवेशनबाट नेताहरू थप प्रष्ट रुपमा दुुई खेमामा बाँडिएका छन् । टिकट वितरणको विषयमा देखिएको असन्तुुष्टिले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई क्षति हुने अनुमान गरिएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?