+
+

जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा मुख्यमन्त्री राउत पत्नी जलेखाको उम्मेदवारी

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख १३ गते १४:०१

१३ वैशाख, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नी पत्नी जलेखा खातुनलाई पर्साको जगरनथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट मुख्यमन्त्री राउतकी पत्नी जलेखाले सोमबार उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

मुख्यमन्त्री राउतले आफ्नी पत्नी जलेखालाई उम्मेदवार बनाउने निश्चित भएपछि जगरनथपुर गाउँपालिकाबाट निर्वाचित उपाध्यक्ष बिस्मिल्लाह खातुनले जसपा परित्याग गरेकी थिइन् । ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट खातुनले ३ हजार १ सय ४१ मत ल्याएर उपाध्यक्ष जितेकी थिइन् । उपाध्यक्ष बिस्मिल्लाका पति महम्मद सरीफ गदीले जसपाबाट उपाध्यक्षमा उम्मेदवार हुन चाहन्थे । तर मुख्यमन्त्री राउतले आफ्नी श्रीमती जलेखालाई उपाध्यक्षको उम्मेदवार बनाउने निश्चित भएपछि बिस्मिल्लाह र उनका पति सरीफ एकैसाथ नकेपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

सरिफले माओवादीबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । मुख्य मन्त्री राउतले उपाध्यक्षमा आफ्नो श्रीमतीलाई अघि सारेपछि पार्टी परित्याग गर्नुपरेको उनी बताउँछन् ।

मुख्य मन्त्री राउतले भने आफूले नभई पालिका कमिटीले जलेखालाई उपाध्यक्षको टिकट दिएको बताउँछन् ।

अनलाइनखबरसँग मुख्यमन्त्री राउतले भने, ‘जलेखालाई मैले उपाध्यक्षको उम्मेदवार बनाएको हैन, मैले बनाउने हो र ? मेरो भूमिका पनि छैन । मेरो इच्छा पनि थिएन । मधेशीले पाउने मुख्यमन्त्री भन्दा अरु पद के हुन्छ र ?,’ उनले भने, ‘राजनीति गर्ने मान्छे म बुझिरहेको छु, म त कर्मचारी भएर क्याम्पस पनि पढाएको छु । राजनीतिमा कम दशा हुन्छ र ? परिवारमा मान्छे छैन ।’

सरिफले हतारमा पार्टी छोडेर गएको उनको भनाइ छ । मुख्यमन्त्री राउत पत्नी जलेखा खातुनको  फेसबुक एकाउन्टमा हेर्दा उनी ०७८ भदौदेखि नै उपाध्यक्षका लागि तयारी गरिरहेको देखिन्छ ।मुख्यमन्त्रीको बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत गाउँपालिकामा हुने साइकल वितरण कार्यक्रममा सहभागी हुने, गाउँ टोलमा छलफल गर्दै गरेको, दलित विपन्नलाई साडी वितरण गर्दै गरेको, पार्टीकी नेतृ रेणु यादवलाई काठमाडौंमा भेट्घाट गरेको र पार्टीको प्रचारात्मक तस्वीरहरु उनले आफ्नो फेसबुकमा पोष्ट्याएकी छन् ।

जसपाबाट गाउँपालिका अध्यक्षमा कृष्णमोहन यादवले उम्मेदवारी दिएका छन् । उनी यसअघि तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्षमा चुनाव लडेका थिए । अध्यक्षका उम्मेदवार यादवले जलेखा खातुनको नाम वडा कमिटीबाट सर्वसम्मतिले आएको बताए । ‘मुख्य मन्त्री ज्यूको सिफारिसमा उहाँ आउनु भएको हैन, वडाबाट उहाँको मात्रै सर्वसम्मत नाम आएको हो,’ उनले भने, ‘ पार्टीमा सबैलाई पद माग्ने अधिकार छ, तर कसैले दाबी गरेनन् ।’ राउत मुख्यमन्त्री भएदेखि नै श्रीमति जलेखा खातुनको पार्टीमा लगानी रहेको यादवको दावी छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?