+
+

तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते २०:१२

१३ वैशाख, दाङ । विद्युतको बक्यौता नतिर्दा तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटिएको छ ।

विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार उपमहानगरले ४ महिना यताको विद्युत महशुल बुझाएको छैन । केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार तुससीपुर उपमहानगरपालिकाका कार्यालयको मात्रै करिब डेढ लाख महशुल बुझाउन बाँकी छ । त्यस्तै उपमहानगरपालिकाले सडक बत्तीको पनि महशुल पनि बुझाएको छैन । उपमहानगरले सडक बत्तीको जरिवानासहित करिब ९८ लाख महशुल बुझाउनुपर्नेछ ।

सडक बत्ती र कार्यालयको महशुल नबुझाएकाले विद्युत प्राधिकरणले मंगलबार विहान विद्युत काटिएको हो । पटक–पटक विद्युत महशुल बुझाउन भनि पत्र पठाएको भएपनि कुनै प्रतिक्रिया नदिएपछि लाइन काट्नुपरेको प्रमुख फर्सालले बताए । ‘विद्युत महशुल बुझाउन पटक–पटक उपमहानगरपालिकालाई पत्र पठायौं’ उनले भने, ‘तर हामीलाई कुनै पनि प्रतिक्रिया आएन ।’

सडक बत्ती र कार्यालयको महशुल नबुझाएसम्म विद्युत दिन नसकिने उनले बताए । ‘कार्यालयले महशुल नबुझाउँदासम्म हामीले विद्युत जडान गर्दैनौं’, फर्सालले भने । सडक बत्तीको भने धेरै बर्षदेखिकै बक्यौता तीर्न बाँकी रहेको उनले बताए ।

उपमहानगरपालिका कार्यालयसँगै अन्य व्यक्तिगत तथा संस्थागत समेत गरी १२ सय ग्राहकको विद्युत काटेको उनले बताए । ‘हामीले विद्युत महशुल नतिर्नेका विद्युत धमाधम काटिरहेका छौं’ वितरण केन्द्रका प्रमुख फर्सालले भने, ‘हालसम्म १२ सय भन्दा बढी ग्राहकको विजुली काटिसकेका छौं, सरकारी कार्यालयको भने यो पहिलो हो ।’

विजुली काटिएपछि तुलसीपुर उपमहानगरपालिकाको सेवा प्रवाहमा समस्या भएको छ । उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार विद्युत काटिएपछि जेनेरेटरबाट काम चलाउनुपरेको छ । कार्यालयबाट थुप्रै सेवा प्रवाह गर्नुपर्ने भएकाले कठिनाइ भएको उनले बताए । ‘सबै काम जेनेरेटर प्रयोगबाट सम्भव हुँदैन’ उनले भने, ‘विजुली काटिदिँदा कार्य सम्पादन गर्न कठिनाइ भयो ।’

सडक बत्तीको महशुलको विषयमा भने संघ सरकारले तिर्ने कि उपमहानगरले तिर्ने भन्नेबारे अन्योल रहेको उनले बताए । ‘संघीय सरकारले सडक हाम्रो भन्छ तर महशुल उपमहानगरले नै तिर्नुपर्ने ?’, उनले भने, ‘यो विषयमा पटक–पटक छलफल पनि भएको हो । तर आज एकैपटक लाइन नै काटिएछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?