+
+
स्थानीय तह निर्वाचन :

गोरखामा उम्मेदवारी दिनेमा पुरानै अनुहार बढी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते २०:११

१४ वैशाख, गोरखा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेमा बढी पुरानै अनुहार दोहोरिएका छन् । जिल्लाका मुख्य दलहरुबाट उम्मेदवारी दिएका अधिकांश यसअघिको स्थानीय तह निर्वाचन (२०७४) मा पनि उम्मेदवार थिए ।

नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा पुनः राजनराज पन्तको उम्मेदवारी परेको छ । उनी नगरपालिकाका मेयरसमेत हुन् । उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिएर उनले पुनः मेयरमा मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै पालुङटार नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कांग्रेसका दिपक बाबु कडेलले यसअघि मेयर जितेका हुन् । त्यस्तै उपमेयरमा चेत कुमारी श्रेष्ठको उम्मेदवारी परेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट उपमेयरको टिकट पाएकी उनी माओवादी केन्द्रकी पम्फा बसेलसँग पराजित भएकी थिइन् ।

धार्चे र गण्डकी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा यसअघिको निर्वाचनमा टिकट पाएकाहरु नै उम्मेदवार बनेका छन् । धार्चे गाउँपालिकाको प्रमुखमा सन्तोष गुरुङ र उपप्रमुखमा फुलमाया गुरुङको उम्मेदवारी परेको छ भने गण्डकी गाउँपालिकाको अध्यक्षमा होम बहादुर राना र उपाध्यक्षमा ललिता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु चारै जना यसअघिको निर्वाचनमा सम्बन्धित पालिकाको प्रमुख उपप्रमुखमा निर्वाचित भएका थिए ।

यसअघिको निर्वाचनमा चुमनुव्री गाउँपालिकाको अध्यक्ष जितेका धनबहादुर घलेले पुनः यसपटकट पनि सोही पदमा टिकट पाएका छन् । आरुघाट गाउँपालिकाको उपाध्यक्ष कल्पना नेपाली, शहिद लखन गाउँपालिकाको उपाध्यक्षमा सर्मिला श्रेष्ठ र सिरानचोक गाउँपालिकाको उपाध्यक्ष रिता देवकोटाले यस पटक पनि सोही पदमा उम्मेदवारी दिएका छन् ।

यसअघिको निर्वाचनमा पनि उनीहरुले सोही पदका लागि टिकट पाएका थिए । उनीहरुमध्ये नेपाली र देवकोटाले चुनाव जितेका थिए भने श्रेष्ठ माओवादी केन्द्रकी इन्दिरा तिवारीसँग पराजित भएकी थिइन् ।

माओवादी केन्द्रले पनि अधिकांश पालिका प्रमुख उपप्रमुखमा यसअघिकै उम्मेदवारलाई टिकट दिएको छ । गोरखा नगरपालिकाको मेयरमा पुनः कृष्ण रानाको उम्मेदवारी परेको छ । यसअघिको निर्वाचनमा उनी कांग्रेसका राजनराज पन्तसँग पराजित भएका थिए ।

पालुङटार नगरपालिकाको मेयरमा पनि यसअघिको निर्वाचनमा टिकट पाएका विवश चिन्तनको उम्मेदवारी परेको छ । बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट र उपाध्यक्ष सनमाया गुरुङले यस पटक पनि पुनः सोही पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

भीमसृन थापाको अध्यक्षमा उम्मेदवारी दिएका लोक प्रसाद बञ्जरा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका दिपक देवकोटा, गण्डकी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका दिपक तिमिल्सिना र सिरानचोक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नवराज पुडासैनीले पनि यसअघिको निर्वाचनमा सोही पदबाट चुनाव लडेका थिए ।
शहीद लखन गाउँपालिकाको अध्यक्ष रमेश थापा र उपाध्यक्ष इन्दिरा तिवारीले पनि यसपटक पुनः सोही पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले र जनता समाजवादी पार्टीले पनि यसअघिको निर्वाचनका केही उम्मेदवारलाई पुनः टिकट दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?