+
+

बागलुङमा बागी उम्मेदवारी दलहरुको टाउको दुखाइ

रासस रासस
२०७९ वैशाख १५ गते १०:११

१५ वैशाख, गलकोट । गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ । गठबन्धन र तालेमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

महिला सङ्घ बागलुङकी सचिव उषा पौडेलले गठबन्धनका कारण आफूलाई टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर जैमिनीको उपप्रमुखमा एमालेबाट उम्मेदवारी दिएकी छन् । गठबन्धनका नाममा महिलालाई पाखा लगाउने काम भएको भन्दै उनले पार्टी नै छोडिन् ।

यस्तै गठबन्धनका तर्फबाट जैमिनी नगरपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेपाली कांग्रेसको भागबण्डामा परेपछि जनमोर्चाकी रुद्रा क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।

गठबन्धनका कारण आफूले टिकट नपाएको, पार्टीमा मूल्याङ्कन नभएको भन्दै पार्टी छोड्ने, अर्को पार्टीको चुनाव चिह्नबाट लड्ने र स्वतन्त्र उठ्नेको सङ्ख्या धेरै छ । ताराखोला गाउँपालिकामा अध्यक्ष प्रकाश घर्तीले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा (माओवादी केन्द्र)ले ताराखोलामा धनबहादुर विकलाई अध्यक्षको उम्मेदवार बनाएपछि घर्तीले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस्तै गलकोट नगरपालिकामा नेपाली कांग्रेसकी मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।  कांग्रेस बागलुङका जिल्ला सदस्य चालिसेले नगरप्रमुखमा दाबी गरे पनि पार्टीले पुनः भरत शर्मा गैरेलाई दोहोर्‍याउने निर्णय गरेपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएकी हुन् ।

गलकोटमा उपमेयर नपाएपछि माओवादी केन्द्रका गलकोट अध्यक्ष तिलक उप्रेतीले पार्टी परित्याग गरेर स्वतन्त्रबाट उठेका छन् । गलकोटमा गठबन्धनबाट प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिएपछि उप्रेतीले पार्टी परित्याग गरेका हुन् ।

ढोरपाटन नगरपालिकामा कांग्रेसकी दिलमाया पौवीले स्वतन्त्रबाट नगरप्रमुखमा उम्मेदवारी दिएकी छन् । गठबन्धनबाट प्रमुख पद माओवादीलाई परेपछि उनले रुष्ट भएर नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।

एमालेले बागलुङ नगरपालिका-२ मा रामबहादुर जिसी र ३ मा कमल खड्कालाई उठाएपछि रामराजा गुरुङ र पुनमप्रसाद शर्मा बागी उम्मेदवार बनेका छन् । यस्तै बानपा–३ मा माओवादी केन्द्रका बाबुलाल शाक्यले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमै बागी र स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेस, माओवादी केन्द्र, एमाले, राष्ट्रिय जनमोर्चालगायत दललाई असन्तुष्ट बनेर पार्टी छाडेका, बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाउन हम्मेहम्मे परेको छ ।

उम्मेदवारी फिर्ता लिने आयोगको समय तालिकाअनुसार यही वैशाख १६ गते साँझ ५ बजेसम्म रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?